प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले ‘गम्भीर धक्का’ बेहोरेको छ। यसपछि पार्टीभित्र मतपरिणामको निर्मम समीक्षा र पुनर्गठनबारे छलफल गर्ने नेताहरूले बताएका छन्; आवश्यक परे नेतृत्व परिवर्तनमा पनि विचार गरिनेछ। प्रत्यक्षतर्फको नतिजा र समानुपातिक मतका आधारमा एमाले तेस्रो स्थानमा खुम्चिने निश्चित भएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर निर्वाचनमा होमिएको एमालेले १६५ क्षेत्रमध्ये केवल सात वटामा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ। झापा ५ मा अध्यक्ष ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग ५०,००० भन्दा बढी मतान्तरले पराजित भएका छन्।
यस निर्वाचनमा प्रत्यक्ष प्रणालीतर्फ झन्डै १२५ सीटमा विजयी भएको रास्वपाले दुईतिहाइ बहुमत नजिक पुग्ने आकलन विज्ञहरूले गरेका छन्। एमालेका कैयौँ शीर्ष नेताहरू पनि फाल्गुन २१ गतेको निर्वाचनमा पराजित भएपछि पार्टीभित्र परिणामको ‘निर्मम समीक्षा’ हुनुपर्ने आवाज बलियो बन्दै गएको छ।
तस्बिरको क्याप्शन, फाइल तस्बिर
एमाले उपाध्यक्ष रघुजी पन्तले मतपरिणामले नागरिकहरू नेपाली कांग्रेस र एमालेसँग चिढिएको देखाएको भन्दै यसबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले जनताले नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको बताउँदै अध्यक्ष स्वयंले आफ्नो भूमिकाबारे सोच्नु, निर्णय लिनु र सबै साथीहरूसँग सल्लाह लिएर अघि बढ्नु उपयुक्त हुने बताए।

तस्बिरको क्याप्शन, आफूलाई पराजित गरेका बालेन्द्र शाहलाई सामाजिक सञ्जाल फेसबुकबाट बधाई दिने क्रममा ओलीले यो तस्बिर पोस्ट गरेका छन्
एमाले उपाध्यक्ष विष्णु पौडेलले ‘नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने’ धारणा व्यक्त गरेका छन्। महासचिव शङ्कर पोखरेलले हारजितलाई स्वाभाविक लोकतान्त्रिक प्रक्रियाका रूपमा लिनुपर्ने बताएका छन्।

एमाले नेता प्रदीप ज्ञवालीले चुनावी परिणामलाई ‘गम्भीर धक्का’ का रूपमा स्वीकार गर्दै दलहरूले बोक्ने मुद्दाको सान्दर्भिकता रहे पनि एमालेको ‘संरचनामा ठूलो सुधारको खाँचो’ निर्वाचनले देखाएको बताए। उनले आन्तरिक र बाह्य कारणहरूको समीक्षा गरिने तथा व्यक्तिविशेषको भूमिका वा विकल्पको माग भए त्यसमा पनि छलफल हुने स्पष्ट पारे।

तस्बिरको क्याप्शन, पाँच पूर्वप्रधानमन्त्रीहरू आगामी संसद्मा हुने छैनन्। यसपालि निर्वाचनमा उठेका ओली र माधव नेपाल पराजित भएका छन् भने बाबुराम भट्टराई, झलनाथ खनाल र शेरबहादुर देउवाले प्रतिस्पर्धा नै गरेनन्
यो निर्वाचन गत भदौमा जेन जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओलीको राजीनामा र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी चुनाव गराएको पृष्ठभूमिमा सम्पन्न भएको थियो।

भूतपूर्व परराष्ट्रमन्त्री ज्ञवालीले परिणामलाई स्वीकार गर्दै ‘गलत भाष्य’ निर्माण र भूराजनीतिक पक्षका कारण हार बेहोर्नुपरेको उल्लेख गरे। उनले जनताका गुनासा, परिवर्तनको लहर, सामाजिक सञ्जालको प्रयोग र युवा पुस्तासँग राजनीतिक नेतृत्वको संवाद टुटेकोजस्ता कारणहरू औंल्याए।

तस्बिरको क्याप्शन, जेन जी आन्दोलनपछि केपी शर्मा ओली पार्टीको महाधिवेशनबाट तेस्रो पटक अध्यक्ष चुनिएका थिए
विश्लेषक राजेन्द्र महर्जनले ओलीको स्थिति जुवामा हारेकै जस्तो भएको र त्यहाँबाट उभ्रिन गाह्रो हुने टिप्पणी गरे। उनले ओलीलाई ‘हठी स्वभाव’ का नेताका रूपमा चित्रण गर्दै नैतिकताका आधारमा राजीनामा दिने कुरामा विश्वास नभएको बताए। महर्जनले ‘नेतृत्वको हठ र अदूरदर्शिता’ का कारण कम्युनिस्ट पार्टीहरूको स्खलन भएको भन्दै एमालेभित्र पुनर्गठन नभए पश्चिम बङ्गालका कम्युनिस्ट पार्टीहरूको जस्तै अवस्था आउन सक्ने चेतावनी दिए। चार पटक प्रधानमन्त्री बनेका ७४ वर्षीय ओलीको राजनीतिक भविष्यलाई लिएर अहिले चासो व्यक्त भइरहेको छ।

तस्बिरको क्याप्शन, जेन जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएकाले अहिले निर्वाचन भएको हो
