तेहरान, फागुन २४ गते । इरानका दिवङ्गत सर्वोच्च नेता आयातुल्ला अली खामेनीको उत्तराधिकारी चयन प्रक्रियामा उल्लेखनीय प्रगति भएको सरकारी स्रोतले जनाएको छ । राजधानी तेहरानस्थित मेहर समाचार एजेन्सी (एमएनए) का अनुसार इरानको संवैधानिक रूपमा सर्वोच्च नेता चयन गर्ने जिम्मेवारी पाएको शक्तिशाली धार्मिक निकाय ‘एसेम्बली अफ एक्सपट्र्स’ भित्र खामेनीको उत्तराधिकारीको विषयमा महत्त्वपूर्ण बहुमत सहमति बनेको बताइएको छ, यद्यपि यसको औपचारिक घोषणा भने अझै हुन बाँकी रहेको छ ।
एसेम्बली अफ एक्सपट्र्सका एक सदस्य मिरबाकेरीलाई उदृत गर्दै उक्त प्रतिवेदनले उत्तराधिकारी चयनको विषयमा अधिकांश सदस्यबिच सैद्धान्तिक सहमति बनिसकेको उल्लेख गरेको छ । तर, केही प्रक्रियागत र प्राविधिक अवरोधहरू समाधान गर्न बाँकी रहेकाले नेतृत्व हस्तान्तरणको प्रक्रिया अझै पूर्णरूपमा सम्पन्न भइनसकेको जनाइएको छ । ८६ वर्षीय खामेनीको आकस्मिक निधनपछि उत्पन्न नेतृत्व शून्यतालाई सम्बोधन गर्न यो प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको छ ।
सर्वोच्च नेता खामेनीको मृत्यु अमेरिकासँग सम्बन्धित र इजरायली आक्रमणसँग जोडिएको घटनामा भएको बताइएको छ । यस घटनापछि इरानको राजनीतिक तथा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ । यसैबिच इरानको नेतृत्व परिषद्ले पनि नयाँ उत्तराधिकारी नियुक्ति प्रक्रिया अगाडि बढिरहेको सङ्केत दिएको छ । यस हप्ताको बुधबार परिषद्ले राज्य सञ्चार माध्यमलाई चाँडै नै नयाँ सर्वोच्च नेता नियुक्त गरिने जानकारी दिएको थियो ।
तस्निम समाचार एजेन्सीले सार्वजनिक गरेको एक भिडियोमा इरानका एक सरकारी अधिकारीले राज्य टेलिभिजनसँग कुरा गर्दै नेतृत्वको विषयमा कुनै जटिल समस्या उत्पन्न नभएको स्पष्ट पारेका छन् । उनका अनुसार हाल नेतृत्व परिषद्ले नै देशको प्रशासनिक जिम्मेवारी सफलतापूर्वक सम्हालिरहेको छ । अधिकारीले भनेका थिए, “भगवानको कृपाले हामी निर्णयको नजिक पुगेका छौँ, तर अहिलेको परिस्थिति युद्धको अवस्था हो ।”
उनले हालको सङ्क्रमणकालीन अवस्थालाई इरानका संस्थापक नेता आयातोल्लाह रुहोल्लाह खामेनीको निधनपछि भएको नेतृत्व परिवर्तनसँग तुलना गरेका छन् । उनका अनुसार त्यसबेला तत्कालै नयाँ नेता नियुक्त गर्न सम्भव भएको थियो, किनकि देश युद्धको अवस्थामा थिएन । अहिले भने क्षेत्रीय तनाव र सैन्य द्वन्द्व जारी रहेकाले नयाँ नेतृत्व चयन प्रक्रिया केही जटिल बनेको उल्लेख गरिएको छ, जसले निर्णयमा थप सावधानी आवश्यक बनाएको छ ।
यद्यपि यस्तो चुनौतीपूर्ण परिस्थितिमा पनि एसेम्बली अफ एक्सपट्र्स सक्रियरूपमा नयाँ सर्वोच्च नेता चयन गर्ने प्रक्रियामा जुटिरहेको ती अधिकारीले बताए । यसबिच सम्भावित उत्तराधिकारीका विषयमा विभिन्न अड्कलबाजी र अनुमानहरू पनि भइरहेका छन् । विशेषगरी इजरायली सञ्चार माध्यमले दिवङ्गत नेता खामेनीका छोरा मोजताबा खामेनीलाई उत्तराधिकारीका रूपमा चयन गरिएको दाबी गरेका थिए ।
तर, इरान सरकारले ती दाबीलाई पूर्णरूपमा अस्वीकार गरेको छ । मुम्बईस्थित इरानी महावाणिज्य दूतावासले सामाजिक सञ्जाल एक्समार्फत एक आधिकारिक वक्तव्य जारी गर्दै उत्तराधिकारीका सम्भावित उम्मेदवारबारे मिडियामा प्रसारित समाचारको कुनै आधिकारिक आधार नभएको स्पष्ट पारेको छ । वक्तव्यमा भनिएको छ, “इरानको एसेम्बली अफ एक्सपट्र्सद्वारा चयन गरिने नेतृत्वका सम्भावित उम्मेदवारबारे मिडियामा प्रसारित रिपोर्टको कुनै आधिकारिक स्रोत छैन र ती दाबी आधिकारिक रूपमा अस्वीकार गरिएको छ ।”
इजरायली मिडियाले मोजताबा खामेनी चयन भएको दाबी गरे पनि इरानका सरकारी सञ्चार माध्यमले त्यसको स्वतन्त्र पुष्टि गरेका छैनन् । राजनीतिक रूपमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला इरानमा दिवङ्गत सर्वोच्च नेता खामेनीप्रति श्रद्धाञ्जली कार्यक्रम पनि सुरु भएको छ । इरानको राज्य सञ्चार माध्यमका अनुसार तेहरानस्थित इमाम खामेनी प्रार्थना मैदानमा आज राति नागरिकले खामेनीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरिएको छ ।
यी श्रद्धाञ्जली कार्यक्रमहरू तीन दिनसम्म सञ्चालन हुने अपेक्षा गरिएको छ । अन्तिम अन्त्येष्टि जुलुसको मिति र स्वरूप भने औपचारिक निर्णय भएपछि घोषणा गरिने बताइएको छ । खामेनीको मृत्यु भएको घटनापछि मध्यपूर्व क्षेत्रमा तनाव तीव्ररूपमा बढेको छ । अमेरिका र इजरायलसँग सम्बन्धित आक्रमणमा खामेनीसहित इरानका केही वरिष्ठ अधिकारी मारिएको बताइएको छ । यसको प्रतिक्रिया स्वरूप तेहरानले पनि प्रति आक्रमण सुरु गरेको छ । इरानले यस क्षेत्रका अमेरिकी सैन्य अड्डा तथा इजरायलसँग सम्बन्धित लक्ष्यलाई निशाना बनाउँदै कारबाही जारी राखेको बताइएको छ ।
रासस/एएनआई
