मुस्ताङ जिल्लामा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भौगोलिक तथा मौसमी विकटताका बाबजुद शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अतिजा शर्माको नेतृत्वदायी भूमिका प्रशंसनीय देखिएको छ। उहाँको कुशल व्यवस्थापनले लोकतान्त्रिक प्रक्रियालाई दुर्गम क्षेत्रमा समेत सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
विशेषगरी, तीन महिनादेखि बाक्लो हिउँले अवरुद्ध वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँ जोड्ने सडक खोल्न प्रजिअ शर्माले अथक प्रयास गर्नुभयो। करिब १४ फिट अग्लो हिउँ पन्छाउन सुरक्षा समिति, सडक डिभिजन कार्यालय बागलुङ र स्थानीय गाउँपालिकाको सहयोगमा करिब एक साता लाग्यो। यस कार्यले चिसो छल्न गाउँ छोडेका मतदाताहरूलाई निर्वाचनमा सहभागी हुन सहज भयो, जसले मतदान केन्द्र सार्नुपर्ने अवस्था टर्यो। स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा गरिएको यो कार्यको चौतर्फी प्रशंसा भयो।
निर्वाचनको मौन अवधिमा देखिएका केही आचारसंहिता उल्लङ्घनका घटनाले अशान्त बनेको मुस्ताङलाई पुनः निर्वाचनको लयमा फर्काउन प्रजिअ शर्माको सक्रियता उल्लेखनीय रह्यो। समुद्री सतहबाट तीन हजार मिटरभन्दा बढी उचाइमा रहेका मतदान केन्द्रहरूमा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण थियो। उहाँले स्वास्थ्य तथा प्राविधिक पक्षलाई स्थानीय साधनस्रोतको अधिकतम प्रयोग गरी मजबुत बनाउनुभयो।
सुरक्षाका लागि मतदान केन्द्रहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गर्दै एकीकृत सुरक्षा योजना लागू गरियो। सुरक्षा समितिबाट थप निर्णय लिई ३९ वटै मतदान केन्द्रमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न भयो, जसका लागि जिल्लाका राजनीतिक दल र उम्मेदवारहरूले समेत प्रजिअ शर्मालाई धन्यवाद ज्ञापन गरेका छन्।
निर्वाचनको माहोल बुझ्न मुस्ताङ पुग्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले प्रजिअ शर्मा र प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाको संयुक्त नेतृत्वमा सम्पन्न निर्वाचनले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभएको थियो। जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले निर्वाचनलाई सफल बनाउन प्रजिअ शर्माको सहजकर्ताको भूमिका अतुलनीय रहेको बताउनुभयो। उहाँले शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैको साथ जुटाउने उहाँको क्षमता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। मुख्य निर्वाचन अधिकृत विद्यानाथ पौडेलले पनि प्रजिअ शर्माको नेतृत्वमा सुरक्षा निकायबाट प्राप्त सहयोगले मनोनयन दर्तादेखि मतगणनासम्म कुनै समस्या नभएको स्पष्ट पार्नुभयो।
काठमाडौँमा सहायक प्रजिअको अनुभव पश्चात पहिलोपटक हिमाली जिल्लाको प्रजिअका रूपमा आउनुभएकी शर्माले नेपाल सरकारले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने बताउनुभयो। उहाँले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गर्दै भविष्यमा मुस्ताङलाई पर्यटक तथा स्थानीयका लागि सेवा र कार्यसम्पादनमा उत्कृष्ट बनाई जिल्लावासीलाई सधैँ सम्झनायोग्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। भौगोलिक तथा मौसमी चुनौती र अन्य अवरोधहरूलाई सफलतापूर्वक चिर्दै स्वच्छ, भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय, मतदाता, पत्रकार तथा जिल्लावासीप्रति प्रजिअ शर्माले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ।
