विराटनगर । विराटनगरका ब्याट्री व्यवसायी लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक हार्डवेयर व्यापारीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६, महावीर चोकमा हार्डवेयर गोदाम सञ्चालन गर्दै आएका ३६ वर्षीय अफ्रोज आलम मुख्य अभियुक्तका रूपमा छन् । यसैगरी, हत्यापछि शव व्यवस्थापनमा आलमलाई सघाएको आरोपमा १३ वर्षीय भारतीय बालक र १६ वर्षीय नेपाली किशोर पनि पक्राउ परेका छन् । प्रहरीले गत मंगलबार राति उनीहरूलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
६९ वर्षीय लालजीप्रसाद गुप्ता विराटनगर–६, धरान रोडमा ‘लाल ब्याट्री एन्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका थिए । उनी गत कात्तिक ६ गते शुक्रबार दिउँसो करिब ३ बजेदेखि बेपत्ता भएका थिए । गुप्ता बेपत्ता भएको दुई दिनपछि कात्तिक ८ गते आइतबार सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केशलिया खोलाको किनारमा उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो । शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको विशेष टोलीले प्राविधिक र स्थलगत अनुसन्धानका आधारमा घटनाको गहिरो अध्ययन गरेको थियो ।
प्रारम्भिक प्रहरी अनुसन्धानअनुसार, विराटनगर–६ स्थित ‘माता इलेक्ट्रिक वर्क्स’ बाट केही दिनअघि पानी तान्ने मोटरको तार हराएको थियो । सो तार चोरी गरेको आरोप लालजीप्रसाद गुप्ताले अफ्रोज आलममाथि लगाएका थिए । यही आरोपका विषयलाई लिएर दुई जनाबीच लामो समयदेखि विवाद चलिरहेको थियो ।
चोरीको आरोपको विषयमा छलफलका लागि भन्दै मुख्य अभियुक्त आलमले गुप्तालाई कात्तिक ६ गते दिउँसो आफ्नै घरमा बोलाएका थिए । प्रहरीको अनुसन्धानले देखाएअनुसार, घरमा पुगेपछि दुई जनाबीच आरोपको विषयमा चर्काचर्की भएको थियो । विवाद बढ्दै जाँदा आलमले फलामको जीआई पाइपले गुप्ताको टाउकोमा गम्भीर प्रहार गरेका थिए । प्रहारबाट गुप्ता घटनास्थलमै ढलेका र थप आक्रमणपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काका अनुसार, “नभएको चोरीको आरोप लगाएको भन्दै आलमले गुप्तालाई घरमै बोलाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।” डीएसपी खड्काले चोरीको आरोप साँचो हो वा होइन भन्ने विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
गुप्ताको हत्यापछि घटना लुकाउन आलमले नजिकैको मदरसामा पढ्ने दुई बालकको सहयोग लिएको प्रहरीले बताएको छ । आलमको घर मदरसा नजिकै रहेकाले उनले ती बालकलाई शव व्यवस्थापनका लागि प्रयोग गरेका थिए । प्रहरीका अनुसार, शवलाई कार्पेटमा पोको पारेर कसैले शंका नगरोस् भन्नका लागि सिटी सफारीमार्फत केशलिया खोलाको सुनसरी किनारमा लगेर फालिएको थियो । डीएसपी खड्काले बालकहरूलाई के प्रलोभन देखाएर शव व्यवस्थापनमा प्रयोग गरियो भन्नेबारेमा अनुसन्धान भइरहेको बताए ।
प्रहरीले अभियुक्तहरूको साथबाट हत्यामा प्रयोग गरिएको एक थान जीआई पाइप, मृतक गुप्ताले प्रयोग गर्ने रेडमी कम्पनीको मोबाइल फोन र शव ओसार्न प्रयोग गरिएको कार्पेट बरामद गरेको जनाएको छ । मृतक गुप्ताको स्थायी घर भारतको वाराणसीमा भए पनि उनी विगत ४० वर्षदेखि विराटनगरमै ब्याट्री व्यवसाय गर्दै आएका थिए । पछिल्लो समय उनी विराटनगर–११, अल्कामार्गमा डेरा गरी बस्दै आएका थिए ।
