लीला शर्मा ‘अस्मिता’को संस्मरण ‘युद्ध लडें क्यान्सर जितें’ माओवादी सशस्त्र युद्ध र क्यान्सरविरुद्धको व्यक्तिगत संघर्षको जीवन्त दस्तावेज हो। पूर्व कमान्डर अस्मिताको यो कृति तत्कालीन सामाजिक, राजनीतिक तथा युद्धकालीन परिवेश बुझ्न महत्वपूर्ण छ। नेपालय प्रकाशनले बजारमा ल्याएको यस पुस्तकमा लेखकले आफ्नो बाल्यकाल, माओवादी आन्दोलनमा संलग्नता, युद्धकालका भोगाइ, शान्ति प्रक्रियापछिका चुनौती र जीवनको अन्तिम चरणको क्यान्सरसँगको लडाइँलाई समेटेका छन्।
सानै उमेरमा अनमी पढ्ने सपना बोकेकी किशोरी कसरी माओवादी आन्दोलनमा होमिन पुगिन्, पुस्तकले त्यसको मार्मिक चित्रण गर्छ। घरको लैङ्गिक विभेदको पृष्ठभूमिमा वर्ग संघर्षको आह्वानले उहाँलाई कसरी आकर्षित गऱ्यो भन्ने कुरा उहाँले इमानदारीसाथ प्रस्तुत गर्नुभएको छ। वि.सं. २०५४ सालमा राप्ती नदीमा आएको बाढीले नेपालगञ्ज पुगेर अनमीको फारम भर्ने अवसर गुमाउँदा उहाँ कसरी ‘जनयुद्ध’ नामक बाढीमा हेलिन पुगिन् भन्ने सन्दर्भले एउटा महत्वपूर्ण मोड दर्शाउँछ। जनमुक्ति सेनाको ‘ब्रिगेड भाइस–कमान्डर’सम्म पुग्दाका उहाँका अनुभवहरू रोचक छन्। प्रहरीको आक्रमणबाट ज्यान बचाउन घरको माथिल्लो तलाबाट हाम्फालेका घटना, रातभरि जङ्गलमा लुक्दै हिँडेको पीडा र मृत्युको भयले सिर्जना गरेको मानसिक चित्रण कुनै थ्रिलरभन्दा कम छैन। युद्धको रणभूमिमा भोगेको भोक, थकाइ, आँसु र मृत्युको डरलाई ‘साक्षीभाव’ले महसुस गर्न सकिन्छ।
युद्धमा महिला लडाकूहरूले भोगेका विशिष्ट कठिनाइहरू, जस्तै महिनावारीको समयमा सरसफाइको अभाव, प्याड बदल्न नपाएर दुर्गन्ध बोक्दै हिँड्नुपर्ने बाध्यता, मातृत्वको चुनौती र अवोध शिशु छाडेर युद्धमा हिँड्नुपर्ने पीडालाई लेखकले खुलस्त रूपमा उतारेका छन्। “मानव सृजित लडाईं, पितृसत्ताको लडाईं अनि जैविक लडाईं” गरी तीनवटा युद्ध एकसाथ लडेको उहाँको भनाइले महिला योद्धाहरूको दोहोरो-तेहोरो संघर्षलाई स्पष्ट पार्छ। गर्भवती अवस्थामा भारी जीउ लिएर अथक् परिश्रम गर्दै पुरुष योद्धाहरूसँगै हिँडेको र बच्चा जन्माएपछि छातीभरि भरिएको दूध चुहाउँदै युद्धमा फर्किएको कारुणिक अवस्थाले पाठकको मन छुन्छ। शान्ति प्रक्रियापछि पनि महिला लडाकूहरूले भोगेको लैङ्गिक विभेद, सेना समायोजनमा उपेक्षा र ‘स्वेच्छिक अवकाश’को दबाबलाई पुस्तकमा उल्लेख गरिएको छ। सम्झना विकको कथा मार्फत महिला छापामारहरूको सीप र पढाइ नभएका कारण पुनः चुल्हाचौकामै सीमित हुनुपर्ने निराशालाई लेखकले यथार्थबोध गराएका छन्।
युद्धको तनावपूर्ण जीवनबाट शान्तिपूर्ण अवतरण नहुँदै लेखिकाले शरीरभित्र अर्को ठूलो दुश्मन, अन्तिम चरणको क्यान्सरसँग जुध्नुपऱ्यो। पुस्तकको दोस्रो र महत्वपूर्ण पाटो यही हो। यो खण्ड क्यान्सरलाई लिएर समाजमा व्याप्त डर, त्रास र यसले निम्त्याउने सामाजिक मनोविज्ञानलाई केलाउँछ। पटक-पटक मृत्युको मुखबाट जोगिनुभएकी उहाँ, दृढ इच्छाशक्ति, हिम्मत र सकारात्मक सोचका कारण क्यान्सरलाई परास्त गर्न कसरी सफल भइयो भन्ने प्रेरणादायी कथा यसमा समेटिएको छ।
पुस्तकको विषयवस्तु र प्रस्तुति आकर्षक छ। यसमा मार्क्सवादी शिक्षा, भाषा आदिका जार्गन शब्दहरू प्रयोग भएका छैनन्, जसले पाठकलाई सहज लाग्छ। संस्मरणमा हुनुपर्ने सबैभन्दा बलियो पक्ष, इमानदारी र सत्यतालाई यसले आत्मसात् गरेको छ। यद्यपि, पुस्तकमा युद्ध लड्ने पक्षको मात्र सकारात्मक चित्रण भएको देखिन्छ। तत्कालीन समयमा गाउँलेहरूले माओवादीबाट भोगेको त्रास, अपहरणका घटना, वा माओवादी विचारधाराभन्दा फरक मत राख्नेहरूले गुमाएको ज्यानका विवरणहरू उल्लेख छैनन्। दश वर्षे द्वन्द्वकालमा महिलामाथि भएका यौन हिंसा तथा बलात्कारका घटनाबारे पनि पुस्तक मौन रहनु खड्किन्छ। लेखकले आफ्नो डायरीमा संकलित कुरा मात्र पुस्तकमा उतारेको बताए पनि, भावी पुस्ताका लागि दस्तावेज बन्ने कृतिमा ती कठोर यथार्थहरू पनि समेटिएको भए अझ गहकिलो हुने थियो।
‘पर्सनल इज पोलिटिकल’ मान्यतामा आधारित यो पुस्तक एक राजनीतिक कार्यकर्ताको कथा कसरी समाज र समयसँग जोडिन्छ भन्ने देखाउँछ। पुस्तकको आवरणले क्यान्सरमा मात्र बढी केन्द्रित छ भन्ने भ्रम दिए पनि, यसको ठूलो हिस्सा युद्धकालीन भोगाइमा आधारित छ। तत्कालीन नेपालको सामाजिक, राजनीतिक स्थिति र परिवेश जान्न र द्वन्द्वकालीन महिला लडाकूको संघर्षलाई बुझ्न यो पुस्तक उपयोगी मानिन्छ।
