तस्बिर स्रोत, Reuters
जेनजी नेतृत्वको कक्रोच जनता पार्टी (सीजेपी) द्वारा घोषित एक वृहत् विरोध प्रदर्शनको सन्दर्भमा शनिबार भारतको राजधानी दिल्लीका विभिन्न भागहरूमा दशौँ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनकारीहरूले निर्वाचन प्रणालीमा सुधार र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गरेका छन्। प्रमुख निर्वाचन आयुक्तमाथि मतदाता नामावलीबाट ठूलो संख्यामा मतदाताहरू हटाइएको आरोप लागेको छ। यद्यपि, भारतको निर्वाचन आयोगले ती आरोपहरूलाई अस्वीकार गरेको छ भने प्रमुख आयुक्तले आफ्नो राजीनामाको मागबारे अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।
प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको दाबी गरिरहे पनि सीजेपीका नेताहरूले जन्तरमन्तरमा पुग्ने दृढता व्यक्त गरेका छन्। यसै क्रममा, सीजेपीले आफ्ना संस्थापक अभिजित दीपकेसहित सौरभ दास र आशुतोष राङ्कालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। पार्टीले जारी गरेको वक्तव्यअनुसार, उनीहरूलाई शनिबार दिल्लीमा विमानबाटै नियन्त्रणमा लिइएको थियो। पक्राउ पर्नुअघि दीपकेले निष्पक्ष चुनावका लागि आफूलाई पक्राउ गरिए पनि संघर्ष जारी रहने बताएका थिए। उनले प्रधानमन्त्रीले देशका युवाहरूसँग किन यति त्रसित हुनुभएकोमा आश्चर्य व्यक्त गर्दै रेलवे र मेट्रो सेवा तथा इन्टरनेट र यातायात सेवा बन्द गर्ने आवश्यकतामाथि प्रश्न उठाएका थिए।
तस्बिर स्रोत, Reuters
सीजेपीका सहसंयोजक आशुतोष राङ्काले यस प्रदर्शनले इतिहास रच्ने दाबी गरेका छन्। सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “प्रिय कक्रोचहरू! हामीले अहिलेसम्म यति लामो यात्रा तय गरेकामा मलाई गर्व छ। जेसुकै होस्, हामीले इतिहास अवश्य रच्ने छौँ। याद राख्नुहोला, तपाईँको हातमा संविधान र मुटुमा गान्धी हुनुपर्छ। हामीले कुनै पनि हालतमा हात उठाउने छैनौँ। भारत माताकी जय।” राङ्काबाहेक, सीजेपीका संस्थापक दीपके, सर्वोच्च अदालतका वरिष्ठ वकिल प्रशान्त भूषण, सामाजिक तथा राजनीतिक कार्यकर्ता योगेन्द्र यादव, एआईएसएकी अध्यक्ष नेहा बोरा र प्रसिद्ध यूट्युबर ध्रुव राठीले पनि जनसहभागिताका लागि अपील गरेका छन्।
प्रदर्शनलाई लक्षित गरी नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशनहरूबाट आउजाउ गर्ने २५० भन्दा बढी रेल सेवाहरू रद्द गरिएका छन्। समाचारसंस्था पीटीआईका अनुसार, रेलवे बोर्डको निर्णयअनुसार अक्टोबर ९ तारिखको दिउँसो २ बजेपछि प्रस्थान गर्ने सबै यात्रु रेल सेवाहरू रद्द गरिएका हुन्। यसैगरी, अक्टोबर १० तारिखको बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ दिल्ली वा हजरत निजामुद्दीन स्टेशनमा आइपुग्ने रेलहरू पनि रद्द गर्ने अधिकारीहरूले बताएका छन्।
तस्बिर स्रोत, Reuters
रेल सेवाहरूको ठूलो संख्यामा रद्द गर्ने निर्णयले हजारौँ यात्रुहरूलाई असुविधा पुर्याएको भन्दै व्यापक आलोचना भएको छ। भूतपूर्व रेलवे अधिकारीहरू, यात्रु संगठनहरू र कर्मचारी युनियनहरूले यस कदमको तीव्र विरोध गरेका छन्। भूतपूर्व रेलवे बोर्ड सदस्य सुबोध जैनले यति ठूलो संख्यामा रेल सेवाहरू रद्द गर्नु प्रदर्शनकारीहरूसामु आत्मसमर्पण गर्नु सरह भएको टिप्पणी गरे। अखिल भारतीय रेलवे कर्मचारी महासंघका महासचिव शिवगोपाल मिश्राले देशभर कुनै पनि विरोध प्रदर्शन वा आन्दोलनका कारण यति धूलो संख्यामा रेलहरू एकैसाथ रद्द भएको आफूलाई पहिले कहिल्यै याद नभएको पीटीआईलाई बताए। उनले यस अचानकको निर्णयले यात्रुहरूले ठूलो असुविधाको सामना गर्नुपरेको जिकिर गरे। यसैबीच, दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी) ले पनि ४५ वटा मेट्रो स्टेशनका प्रवेश र निकास बिन्दुहरू बन्द गरिएको जनाएको छ, जसले यातायातमा थप असर पारेको छ।
