मध्यपूर्वका विभिन्न मुलुकमा रोजगारीका लागि लाखौँ नेपाली कार्यरत छन्। उनीहरूको सुरक्षा नेपाल सरकारको प्रमुख चासोको विषय हो। हालै मध्यपूर्वमा विकसित तनावपूर्ण परिस्थितिले त्यहाँ कार्यरत नेपालीहरूको जीवन र सुरक्षामा गम्भीर चुनौती खडा गरेको छ। शनिबार बिहानैदेखि यो क्षेत्र एकाएक युद्धभूमिमा परिणत भएको छ। जेनेभा वार्ता असफल भएपछि संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गरे, जसको लगत्तै इरानले पनि प्रत्याक्रमणमा उत्रियो। इजरायलसहित कुवेत, साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स र कतारस्थित अमेरिकी सैन्य अखडाहरूमा इरानले क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय शान्ति बिथोलिएको छ। आकाश असुरक्षित बन्नुका साथै हवाई सेवा प्रदायक कम्पनीहरूले सबै उडान स्थगित गर्दा हजारौँ यात्रुहरू अलपत्र परेका छन्। सर्वत्र त्रास र असुरक्षाको अवस्था सिर्जना भएको छ।
यस विकराल परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले शनिबार नै मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूका लागि विशेष ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको सो एड्भाइजरीमा इजरायल र इरानको भ्रमण तत्कालका लागि स्थगित गर्न आग्रह गरिएको छ। साथै, ती देशहरूमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन, सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षा निर्देशनहरू पूर्ण रूपमा पालना गर्न, सम्भव भएसम्म घरभित्रै रहन र आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन भनिएको छ। इजरायल वा इरानको भ्रमण गर्ने योजना बनाएका नेपाली नागरिकहरूलाई दुवै देशको स्थिति सामान्य नभएसम्म यात्रा नगर्न र आधिकारिक निकायको पूर्वस्वीकृतिबिना यात्रा नगर्न समेत सचेत गराइएको छ। काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र दोहास्थित नेपाली राजदूतावासको सम्पर्कमा रहन पनि आग्रह गरिएको छ।
मध्यपूर्वका अन्य देशहरूमा बसोबास गरिरहेका वा कार्यरत नेपाली नागरिकहरूलाई पनि घटनाक्रमको निरन्तर अनुगमन गर्दै सुरक्षित रहन र सावधानी अपनाउन नेपाल सरकारले अनुरोध गरेको छ। युद्धको समयमा सावधानी नअपनाएमा अकालमा ज्यान जान सक्ने जोखिम रहन्छ। मध्यपूर्वको यो युद्धलाई ‘साँढेको जुधाइ बाच्छाको मिचाई’ जस्तो देखिएको छ, जहाँ बमबारी र क्षेप्यास्त्र प्रहारबाट निर्दोष नागरिकले ज्यान गुमाउनुका साथै ठूलो जनधनको क्षति भइरहेको छ। इजरायलले प्रहार गरेका क्षेप्यास्त्र दक्षिण इरानस्थित दुई विद्यालयमा विस्फोट हुँदा १०८ जना निर्दोष विद्यार्थीले ज्यान गुमाएको र थुप्रै घाइते भएको घटनाले युद्धको भयावहता स्पष्ट पार्छ। यस्तो अवस्थामा त्यहाँ रहेका नेपालीहरूले आफ्नो सुरक्षालाई विशेष प्राथमिकता दिनुपर्छ। जोखिममा परेका नेपालीहरूको शीघ्र उद्धारका लागि पनि सरकारले तत्काल पहल गर्नुपर्ने आवश्यकता छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको दाबी गरे पनि इरानले सुरुमा यसलाई अस्वीकार गरेको थियो र पछि स्वयं इरानले पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गर्यो। राष्ट्रपति ट्रम्पले इरानी सत्ता नढलेसम्म सैन्य कारबाही जारी राख्ने र सत्ता परिवर्तन चाहने इरानी नागरिकहरूलाई यो अवसरको सदुपयोग गर्न आह्वान गर्नुभएको छ। इजरायलबाहेक मध्यपूर्वमा अरू कुनै राष्ट्रसँग आणविक हतियार नहोस् भन्ने अमेरिकाको चाहना छ। इरानले शान्तिपूर्ण प्रयोजनका लागि युरेनियम संवर्धन गरिरहेको दाबी गरे पनि अमेरिका र इजरायल यसलाई पत्याउन तयार छैनन्। गत वर्ष पनि १२ दिने इजरायल-इरान युद्ध भएको थियो, जसमा अमेरिकाले इरानका तीन ठूला आणविक केन्द्रमा क्षति पुर्याएको थियो। ती केन्द्रमा पुनः परमाणु कार्यक्रम सुरु भएको सूचना सार्वजनिक भएसँगै अमेरिकाले इरान वरपर अत्याधुनिक सैन्यशक्ति तैनाथ गरेको छ। कूटनीतिक प्रयास असफल भएमा ठूलो सैन्य कारबाही गर्ने चेतावनीसहित सुरु भएको यो युद्ध कति लम्बिने हो भन्ने यकिन छैन।
