आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमार्फत २७५ जना सांसद निर्वाचित हुँदैछन्। देशमा ‘जेन जी’ आन्दोलनपछि उत्पन्न भएको राजनीतिक र संवैधानिक रिक्ततालाई चिर्दै, नवनिर्वाचित व्यवस्थापिकाका सदस्यहरूले देशको नयाँ कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री चयन गर्नेछन्। नेपालको संविधानको धारा ७६ मा व्यवस्था भएबमोजिम प्रधानमन्त्री बन्नका लागि सर्वप्रथम प्रतिनिधिसभाको सांसद निर्वाचित हुनु अनिवार्य छ। यसपटकको निर्वाचनमा केही प्रमुख राजनीतिक दलहरूले चुनाव अगावै आ-आफ्ना भावी प्रधानमन्त्रीका दाबेदारहरूको नाम सार्वजनिक गरेर मत मागिरहेका छन्।
नेकपा एमालेका ७४ वर्षीय अध्यक्ष केपी शर्मा ओली यस निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका छन्। पञ्चायतकालमा १४ वर्ष लामो जेल जीवन बिताएका ओली, प्रधानमन्त्रीका दाबेदारहरूमध्ये सबैभन्दा पाका नेता हुन्। आफ्नो दोस्रो कार्यकालमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा जारी गरेर चर्चामा आएका उनी यसअघि चार पटक प्रधानमन्त्री भइसकेका छन्। पछिल्लो पटक उनी ‘जेन जी’ आन्दोलनको बलमा पदच्युत भएका थिए।
४९ वर्षीय गगन थापालाई नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ। विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा स्थापित भएका थापा हालै सम्पन्न पार्टीको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन्। यसअघि काठमाडौँ-४ बाट निर्वाचित हुँदै आएका उनी यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा छन्। पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले ‘जेन जी’ आन्दोलनलगत्तै पार्टीभित्र पुस्तान्तरणको चर्को आवाज उठाएर नेतृत्व हत्याउन सफल भएका थिए।
काठमाडौँ महानगरपालिकाको प्रमुखका रूपमा साढे तीन वर्ष काम गरेका ३६ वर्षीय बालेन्द्र शाह ‘बालेन’ चुनावको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका हुन्। पार्टी सभापति रवि लामिछानेसँगको लिखित सहमतिमै उनी प्रधानमन्त्रीको उम्मेदवार बनेर झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्दैछन्। पेसाले स्ट्रक्चरल इन्जिनियर र र्यापर समेत रहेका शाह युवा पुस्तामाझ निकै लोकप्रिय छन्, यद्यपि उनको राष्ट्रिय राजनीतिको अनुभव भने अन्य उम्मेदवारको तुलनामा कम छ।
विभिन्न वामपन्थी दलहरूसँगको एकतापछि बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ का संयोजक ७० वर्षीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भावी प्रधानमन्त्रीका बलिया दाबेदार हुन्। लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट उम्मेदवार बनेका प्रचण्डले १० वर्षे सशस्त्र युद्धको नेतृत्व गरेका थिए। विगत ३५ वर्षदेखि निरन्तर पार्टी नेतृत्वमा रहेका उनी यसअघि तीन पटक देशको प्रधानमन्त्री बनिसकेका छन्।
यी प्रमुख दाबेदारहरूले प्रधानमन्त्री बन्नका लागि सर्वप्रथम आफ्नो निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनाव जित्नुपर्नेछ। यदि कोही उम्मेदवार चुनावमै पराजित भएमा उनीहरूको प्रधानमन्त्री बन्ने ढोका त्यहीँ बन्द हुनेछ। यी प्रमुख चार नेताबाहेक, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि देशको कार्यकारी पदमा पुगेर काम गर्ने इच्छा व्यक्त गर्दै आएका छन्।
