सन्तोष दहित
दाङ, फागुन १७ गते । नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शंकर पोखरेलले दाङ जिल्लाको सर्वाङ्गीण विकास र समृद्धिको लागि आफूले एक साझा जनप्रतिनिधिका रूपमा नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेकपा (एमाले) दाङ क्षेत्र नम्बर २ द्वारा घोराहीमा आयोजित भव्य ‘रोड सो’ तथा कोणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले दाङको उज्ज्वल भविष्यका लागि विस्तृत संकल्पपत्र तयार पारेर निर्वाचन अभियानमा होमिएको बताउनुभयो । उहाँले आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने कार्यहरूको स्पष्ट सूचीका साथ अगाडि बढेको उल्लेख गर्दै मतदाताहरूलाई सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी बनाउन हार्दिक आग्रह गर्नुभयो ।
महासचिव पोखरेलले आफू राजनीतिक वृत्तमा एउटा स्थापित व्यक्तित्वका रूपमा प्रस्तुत भइसकेको बताउँदै अब आफ्नो मुख्य ध्यान दाङको विकासका लागि साझा प्रतिनिधिको भूमिका निर्वाह गर्नमा केन्द्रित रहने आवश्यकता औंल्याउनुभयो । उहाँले केन्द्र सरकारमा सशक्त उपस्थितिबिना दाङले अपेक्षित बजेट तथा प्राथमिकता प्राप्त गर्न नसक्ने यथार्थमाथि जोड दिँदै आफ्नो विजयले दाङको विकास र समृद्धिको यात्रालाई निर्णायक निष्कर्षमा पुर्याउने दृढ विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आसन्न निर्वाचनलाई विकास र समृद्धिको स्पष्ट दिशातर्फ अग्रसर हुने वा पुनः विगतको जस्तै अन्योलमा फर्किने बिचको एक महत्वपूर्ण छनोटका रूपमा परिभाषित गर्नुभयो । महासचिव पोखरेलले अघिल्लो कार्यकालमा आफूले गरेका अधिकांश प्रतिबद्धताहरू सफलतापूर्वक पूरा गरेको दाबी गर्दै बाँकी रहेका अधुरा योजनाहरू सम्पन्न गर्नका लागि मतदाताहरूसमक्ष पुनः अवसर प्रदान गर्न आग्रह गर्नुभयो । यस क्रममा उहाँले दाङलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने ऐतिहासिक संकल्प सफलतापूर्वक पूरा भएकोमा गर्व व्यक्त गर्नुभयो ।
दीर्घकालीन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै, उहाँले घोराही–तुलसीपुर चार लेन सडक निर्माण कार्य समयमै सम्पन्न गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी, घोराही–लमही सडक खण्डअन्तर्गत अर्जुनखोला–मसौट र चौपट्टा खण्डमा चार लेन सडकको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भई वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाइएको जानकारी गराउनुभयो ।
औद्योगिक विकासको सन्दर्भमा, ३५० बिघा क्षेत्रफलमा घोराही औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढेको र यसको डिपिआर तयारी भइरहेको उहाँले उल्लेख गर्नुभयो । जलस्रोतको क्षेत्रमा, ग्वार खोला हाई ड्याम र माडी डाइभर्सन आयोजनाका लागि बजेट विनियोजन भई अध्ययन कार्य सुरु भएको बताउनुभयो । स्वास्थ्य क्षेत्रतर्फ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस र एमडी तहको अध्ययन सुरु हुनु जिल्लाका लागि एक ऐतिहासिक उपलब्धि भएको उहाँको भनाइ थियो । साथै, लमहीमा ट्रमा सेन्टर स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । कृषि तथा सामाजिक पूर्वाधार क्षेत्रमा ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रममार्फत् कृषि उत्पादन वृद्धि र किसानको आयआर्जनमा महत्वपूर्ण उपलब्धि हासिल भएकोे जानकारी दिनुभयो । पर्यटन तथा धार्मिक क्षेत्रको विकासतर्फ अम्बिकेश्वरी मन्दिर, छिल्लिकोट र धारपानी लगायतका स्थानमा पूर्वाधार विस्तार गरिएको उहाँले बताउनुभयो । भूमिहीन नागरिकहरूलाई लालपुर्जा वितरणका लागि आयोग गठन गरी कार्य अगाडि बढाइएको पनि उहाँले स्मरण गराउनुभयो ।
घोराहीको लखन पार्कबाट सुरु भएको ‘रोड सो’ मा हजारौंको संख्यामा एमाले समर्थकहरूको उत्साहजनक सहभागिता रहेको थियो । घोराहीका मुख्य बजार क्षेत्रहरूमा विशाल जनसमूहले परिक्रमा गर्दै नाराबाजी गरेका थिए । दाङ क्षेत्र नम्बर २ का गाउँ–गाउँबाट आएका एमालेका कार्यकर्ता तथा समर्थकहरूले घोराही बजारलाई भरिभराउ पारेका थिए, जसले चुनावी माहोललाई थप उल्लासमय बनाएको थियो ।
