इरानले आफ्नो सीमाभित्र अमेरिकी र इजरायली हमलाको जवाफमा मध्यपूर्वभरि हवाई हमला गरेको छ। यस क्रममा दुबई, दोहा, बहराइन र कुवेतजस्ता अमेरिकी सैन्य अखडाहरू रहेका स्थानहरूबाट हमलाका विवरणहरू प्राप्त भएका छन्।
दोहामा यस क्षेत्रको सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा, अल उदेइद हवाई अखडालाई निशाना बनाइएको थियो। रोयटर्स समाचार संस्थाका अनुसार इराकको एर्बिलस्थित अमेरिकी सैन्य अखडा नजिकै एउटा ड्रोनलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले खसालेको थियो। इजरायलसँग सीमा जोडिएको जोर्डनले आफ्ना सशस्त्र बलले दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र खसालेको जनाएको छ। इजरायलले पनि इरानी क्षेप्यास्त्रको लहर आएको पुष्टि गरेको छ र देशभर हवाई हमलाको चेतावनी दिने साइरनहरू बजेका थिए। यस क्षेत्रमा केही विमान सेवाहरूले आफ्ना उडानहरू रद्द गरेका छन्।

तस्बिर स्रोत, Reuters
संयुक्त अरब इमिरेट्सको दुबई शहरस्थित फेअरमोन्ट द पाम होटेलमा विस्फोटन भएको देखिएको छ। अधिकारीहरूले “पाम जुमेराह क्षेत्रमा एउटा भवनमा भएको” घटनामा चार जना घाइते भएको जनाएका छन्। घटनाको सत्यता पुष्टि भएका भिडियो दृश्यहरू सामाजिक सञ्जालमा राखिएका छन्। ती दृश्यहरूमा द फेअरमोन्ट होटेलको प्रवेश द्वारमा विस्फोट भएको देखिन्छ।
होटेल अगाडिको भवनबाट खिचिएको एक भिडियोमा क्षेप्यास्त्र खसेको र विस्फोट भएको स्पष्ट देखिन्छ। भिडियो खिच्ने व्यक्ति विस्फोटपछि भुइँमा लडेको जस्तो देखिन्छ र आगोको ठूलो मुस्लो देखिँदा उनी आफ्नो बालकनीबाट पछि हटेका थिए। पुष्टि भएका अन्य भिडियोहरूमा उक्त पाँचतारे होटेलमाथि धुवाँको मुस्लो उडिरहेको देखिन्छ। युएईको रक्षा मन्त्रालयले इरानी क्षेप्यास्त्र र ड्रोनहरूको नयाँ लहरलाई बीचमै रोकेको बताएको छ। यसअघि सो देशमाथि “इरानी ब्यालिस्टिक क्षेप्यास्त्रहरूबाट हमला भएको” जनाइएको थियो।

तस्बिर स्रोत, Video screengrab
कतारको एक आवासीय क्षेत्रमा सम्भवतः प्रतिरोधी हमलापछि अनियन्त्रित भएको एउटा क्षेप्यास्त्र खसेको भिडियो दृश्यमा देख्न सकिन्छ। उक्त क्षेप्यास्त्र जमिनमा खसेपछि ठूलो आगोको ज्वाला निस्कन्छ र कालो धुवाँको मुस्लो आकाशमा उड्न थाल्छ। त्यहाँ वरपर रहेका मानिसहरू यत्रतत्र भाग्न थालेका थिए। कतारको विदेश मामिला मन्त्रालयले एक वक्तव्य जारी गर्दै “इरानी ब्यालिस्टिक क्षेप्यास्त्रले कतारी भूभागलाई निशाना” बनाउने कार्यको कडा निन्दा गरेको छ। यसलाई “राष्ट्रिय सार्वभौमिकतामाथिको प्रत्यक्ष उल्लंघन र सुरक्षा तथा अखण्डतामाथिको हमला” भन्दै “अस्वीकार्य गतिविधि” भएको जनाएको छ।
बीबीसी संवाददाता केट विलियम्सका अनुसार, कुवेतमा शिक्षकको रूपमा काम गर्ने सेब गिब्सनले ठूलो विस्फोटको आवाज सुनेको र त्यसपछि उनी बसेको भवन हल्लिएको बताएका थिए। त्यसपछि थप तीन वा चारवटा साना विस्फोटनहरू भएका उनले जानकारी दिए। उक्त स्थान, महबुला, कुवेत सिटीबाट ३० मिनेटको मोटरबाटोको दूरीमा पर्दछ। विस्फोटनको आवाज सुन्नुअघि त्यहाँ चेतावनीका साइरनहरू बजेका थिए र अरबी तथा अंग्रेजी भाषामा सावधानीका सन्देशहरू पनि दिइएको उनले बताए। गिब्सनले आफू कार्यरत विद्यालय भोलिपनि बन्द रहने जानकारी प्राप्त भएको बताए। यसअघि कुवेतको रक्षा मन्त्रालयका एक प्रवक्ताले त्यहाँको अली अल-सालेम हवाई अखडालाई इरानी ब्यालिस्टिक क्षेप्यास्त्रहरूले निशाना बनाएको जनाएका थिए। कुवेतका स्थानीय सञ्चार माध्यमहरूले त्यहाँको विमानस्थललाई एउटा ड्रोनले निशाना बनाएको थियो।

तस्बिर स्रोत, Getty Images
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि उपलब्ध छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। साथै, बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडियोमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
