काठमाडौँ, असोज ८ गते । प्रियजनको शव नभेटिँदा परिवार र आफन्तजनमा अत्यन्त गहिरो मानसिक पीडा हुन्छ। मृत्यु आफैँमा जीवनको विसर्जन भए पनि शव फेला नपरेसम्म मनले मृत्युलाई पूर्ण रूपमा स्वीकार गर्न सक्दैन। यस्तो अवस्थामा सनातन परम्परामा कुशको शव वा पुत्तलिका बनाएर दाहसंस्कार गर्ने विधान छ, जसले शोकमा डुबेका परिवारलाई मानसिक शान्ति प्रदान गर्छ। हालसालै भदौ १० गतेको भोटेकोशी हिमबाढीमा बेपत्ता हुनुभएका पत्रकार टेकराज थामी, इञ्जिनियर सृष्टि बाँस्तोला लगायतको शव फेला नपरेपछि आफन्तले यसै विधानअनुसार कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार, मानव मनले अन्तिम संस्कार नदेखेसम्म कसैको मृत्युलाई पूर्ण रूपमा स्वीकार गर्न सक्दैन। कुशको शव बनाएर मन्त्रोच्चारण सहित अग्निदाह गर्दा प्रियजन बितेको कुरा मनले स्वीकार गर्छ र शोकबाट मुक्त हुन सहयोग पुग्छ। प्राचीन शास्त्र धर्मसिन्धुमा यसलाई कुशपुत्तलदाह वा पर्णशरदाह भनी संज्ञा दिइएको छ, जुन दुर्घटना, डुबान वा विपदमा परी व्यक्तिको पार्थिव शरीर फेला नपरेको अवस्थामा गरिन्छ।
हराएका आफन्त लामो समयसम्म नभेटिएपछि उनीहरूको आत्माको शान्तिका लागि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार गर्ने विधान सनातन धर्ममा रहेको अध्यक्ष डा. भट्टराईले बताउनुभयो। पूर्वीय दर्शनमा शरीर पञ्चतत्वले बनेको र मृत्युपछि यसलाई प्रकृतिमै फर्काउनु अनिवार्य मानिन्छ। भौतिक शरीर नभए पनि प्रतीकको रूपमा कुशलाई अग्निमा समर्पित गरेर “पञ्चतत्वमा विलीन भयो” भन्ने आध्यात्मिक सत्यलाई पूरा गरिन्छ। यो विधिले परिवारजनलाई केही राहत महसुस गराउँछ र मृतकको आत्माले शान्ति पाउने तथा परिवारजन पनि सूतकबाट मुक्त हुने धारणा समाजमा विद्यमान छ।
धर्मसिन्धुअनुसार यदि कुनै व्यक्तिको विदेशमा, प्रवासमा वा कुनै अज्ञात स्थानमा मृत्यु भएको खबर प्राप्त भए पनि शव वा अस्तु प्राप्त नभएमा वा शव पूर्ण रूपमा नष्ट भइसकेको अवस्थामा कुशको पुतला बनाएर दाहसंस्कार गर्ने विधि अवलम्बन गरिन्छ। यसका लागि ३६० वटा कुश मिलाएर मानव शरीरको स्वरूप तयार पारिन्छ। शिर, गर्धन, छाती, पेट, बाहु, उरु लगायतका अङ्गहरूमा निश्चित संख्यामा कुश प्रयोग गरिन्छ। शिरमा नरिवल, आँखामा कौडी, मुखमा गुँड, छातीमा पलाँसको पात, नाइटोमा कमलको फूल वा जल, रगतका लागि तोरी वा तिलको तेल, हड्डीका लागि पलाँसको काठ आदिले अङ्गको प्रतिस्थापन गरिन्छ।
कुशको पुतला तयार पारेपछि त्यसलाई जल र पञ्चगव्यले प्रोक्षण गरी मन्त्रद्वारा मृतकको भावना (सङ्कल्प) गरी प्राणप्रतिष्ठा र दाहसंस्कार गरिन्छ। यस क्रममा ‘अमुकगोत्रस्य अमुकशर्मणः नष्टशरीरस्य प्रेतत्वनिवृत्त्या उत्तमलोकप्राप्त्यर्थं पर्णशरदाह–कुशपुत्तलदाह कर्म करिष्ये’ जस्ता सङ्कल्प मन्त्रहरू उच्चारण गरिन्छ। पुतलालाई चितामा राखी दागबत्ती दिँदा ‘अस्मात्त्वमधि जातोऽसि त्वदयं जायतां पुनः। असौ स्वर्गाय लोकाय स्वाहा।।’ जस्ता वैदिक मन्त्र पढिन्छ। दाहसंस्कार सम्पन्न भएपछि सोही दिनदेखि १० दिनसम्म आशौच (जुठो–सूतक) बारिन्छ र नियमित रूपमा पिण्डदान, तिलतर्पण, एकादशाह, सपिण्डीकरण लगायतका पार्वण–श्राद्धका प्रक्रिया सामान्य मृत्युमा गरे सरह नै सम्पन्न गरिन्छ।
यस विधानको एउटा महत्वपूर्ण पक्ष भनेको कुशको शवदाह गरिसकेपछि बेपत्ता व्यक्ति जीवितै फेला परेमा के गर्ने भन्ने हो। नुवाकोटको बेत्रावतीकी चण्डिका श्रेष्ठ भदौ १० गतेको हिमबाढीमा बेपत्ता भएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेको थियो, तर ११ औँ दिनमा उहाँलाई जीवितै उद्धार गरियो। हिन्दूशास्त्र र गरुडपुराणका अनुसार, यस्तो अवस्थामा व्यक्तिलाई ‘मरेर पुनर्जन्म भएको’ सरह मानिन्छ। दाहसंस्कार भइसकेकाले धार्मिक रूपमा उक्त व्यक्तिको ‘मृत्यु’ भइसकेको मानिने हुँदा, उसलाई पुनः समाज र परिवारमा भित्र्याउन विशेष शुद्धि र प्रायश्चित्त विधान गर्नुपर्ने शास्त्रीय नियम छ। यस प्रक्रियालाई ‘घृतकुम्भ निमज्जन’ वा पुनर्जीवन संस्कार भनिन्छ।
कुश, जुन धार्मिक कर्मकाण्डमा बहुउपयोगी वनस्पति मानिन्छ, यसको प्रयोगले केवल धार्मिक अनुष्ठान मात्र नभई शोकमा परेका परिवारलाई भावनात्मक र मनोवैज्ञानिक शान्ति प्रदान गर्दछ। यो नेपाली समाजमा गहिरो जरा गाडेको एक अर्थपूर्ण सांस्कृतिक तथा धार्मिक परम्परा हो।
