बागलुङ, असोज ७ गते । बागलुङ नगरपालिका क्षेत्रमा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिएपछि यसको कारण, जोखिमका कारक तत्व र फैलिरहेको भेरियन्ट पहिचान गर्न विशेषज्ञ टोलीले ‘भेक्टर सर्भे तथा केस–कन्ट्रोल’ सर्वेक्षण गरिरहेको छ। प्रारम्भिक सर्वेक्षणका क्रममा पानी जम्ने भाँडा, कुलर, फ्रिज, गमलाका प्लेट, पूजा गर्ने कलश र प्रयोग नभएका टायरमा डेंगु फैलाउने लामखुट्टेको लार्भा, प्युपा तथा अण्डा भेटिएको छ। यो खोजले समुदायस्तरमा लामखुट्टेको प्रजनन उच्च रहेको पुष्टि गरेको छ।
स्वास्थ्य सेवाका डा. गोकर्ण दहाल, इपिडिमियोलोजिस्ट कौशल सवेदी र विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त सम्मिलित विशेषज्ञ टोलीले बागलुङ नगरपालिकाका घनाबस्ती रहेका वडा नम्बर १, २ र ३ मा गहन सर्वेक्षण गरिरहेको छ। यस सर्वेक्षणलाई प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ, धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र फेयरमेड फाउन्डेशनले सहजीकरण गरिरहेका छन्।
सर्वेक्षणको प्रारम्भिक नतिजाले बागलुङ बजार क्षेत्रमा डेंगु फैलाउने लामखुट्टेको जोखिम उच्च रहेको देखाएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माका अनुसार, नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ मा एक सय १२ घरधुरीमा गरिएको सर्वेक्षणमध्ये ५४ घरमा डेंगु सार्ने लामखुट्टेको प्रजनन स्थल भेटिएको छ। यो तथ्याङ्कले करिब ४८ प्रतिशत घरधुरीमा लामखुट्टेको जोखिम रहेको औँल्याएको छ।
टोलीले डेंगु सार्ने लामखुट्टेको प्रजनन स्थल पहिचान गर्न विस्तृत निरीक्षण गरेको थियो। चार सय ४४ वटा सम्भावित प्रजनन स्थलमध्ये, जस्तै: पानी जम्ने भाँडा, कुलर, फ्रिजको ट्रे, गमलाका प्लेट, पूजा गर्ने कलश तथा प्रयोगविहीन टायर लगायतका वस्तुहरूको निरीक्षण गर्दा ८८ वटा पानी भरिएका भाँडामा लामखुट्टेको अण्डा, लार्भा र प्युपा भेटिएको हो। यसले घरभित्र र वरपर पानी जम्ने स्थानहरू लामखुट्टे प्रजननका लागि उर्वर रहेको देखाउँछ।
विशेषज्ञ टोलीले डेंगु सङ्क्रमित र नसङ्क्रमित व्यक्तिहरूबीच रोगको जोखिमका कारक तत्वहरू तुलना गर्न ‘केस–कन्ट्रोल’ अध्ययनलाई पनि अगाडि बढाएको छ। यसका साथै, धौलागिरी प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीका रक्त नमूनाको थप परीक्षणमार्फत डेंगुको भेरियन्ट पहिचान गर्ने कार्यसमेत भइरहेको छ। यसबाट रोगको फैलावटको स्वरूप र भविष्यका लागि आवश्यक रणनीति तय गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
अधिकांश घरमा डेंगु सार्ने लामखुट्टेको लार्भा भेटिएपछि जनस्वास्थ्य कार्यालयले सङ्क्रमण नियन्त्रणका लागि जनचेतना र सक्रिय सहभागितामा जोड दिएको छ। कार्यालयले घरमा रहेका फ्रिज तथा कुलरमा जमेको पानी नियमित सफा गर्न, पानी जम्मा हुने ड्रम, गाग्री, बाल्टी तथा पूजाका भाँडाहरू सफा गरी छोपेर राख्न आग्रह गरेको छ। यसका अतिरिक्त, घर वरिपरि पानी जम्न नदिन, प्रत्येक हप्ता एकपटक आफ्नो टोलमा सरसफाइ गरी लामखुट्टेले अण्डा पार्ने सम्भावित स्थानहरू नष्ट गर्नसमेत अनुरोध गरिएको छ। लामखुट्टेको प्रजनन स्थल नष्ट गर्न सके डेंगुको जोखिमलाई उल्लेख्य रूपमा कम गर्न सकिने भएकाले यस अभियानमा सबै नागरिकलाई सक्रियतापूर्वक सहभागी हुन जनस्वास्थ्यले आह्वान गरेको छ।
बागलुङ जिल्लामा असार महिनायता डेंगु सङ्क्रमितको संख्या १ हजार ५ सय ८९ पुगेको छ। सङ्क्रमितमध्ये १ हजार ३ सय ७८ जनाको धौलागिरि प्रादेशिक अस्पतालमा उपचार गरिएको छ, भने बाँकी बिरामीको ग्रामीण क्षेत्रका अस्पताल र स्वास्थ्य चौकीहरूमा उपचार भएको थियो। सङ्क्रमण दर उच्च रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न र सरसफाइमा विशेष ध्यान दिन अपरिहार्य देखिएको छ।
