काठमाडौँ, भदौ ३१ गते । रसुवाको लाङटाङ लिरुङ हिमालबाट भदौ १० गते चोइटिएर झरेको हिउँले भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढी र यसबाट नेपालले भोगेको महाविपत्तिलाई विश्वका उच्च नेतृत्वहरूले गम्भीरतापूर्वक आत्मसात् गरेका छन्। यो प्राकृतिक विपत्तिमा नेपालीसँगै विश्वका ३५ मुलुकका नागरिकहरू प्रभावित भएका छन्, जसका कारण उनीहरूको खोजी तथा उद्धारमा सम्बन्धित देशहरूको विशेष चासो रहेको छ। नेपालले भोगिरहेको यो पीडालाई विश्वका उच्च नेतृत्वहरूले पनि गहिरो अनुभूत गरेको देखिन्छ।
विपत्तिको यस घडीमा विश्वका विभिन्न देशका संसदहरूमा नेपालको पीडाबारे चर्चा गरियो भने कतिपय देशका प्रमुखहरूले सार्वजनिक रूपमै नेपालबारे आफ्नो धारणा व्यक्त गरे। कतिपयले त नेपालको दूतावासमै पुगेर शोक वक्तव्यमा हस्ताक्षर गरे। सम्बन्धित देशको संसद्देखि सामाजिक सञ्जालसम्म विश्वका उच्च नेतृत्वको भावना र समर्थन यतिखेर नेपाल तथा नेपालीहरूप्रति सोझिएको स्पष्ट देखिन्छ।
पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराईका अनुसार, यस पटक नेपालले विश्व समुदायबाट बलियो साथ पाएको छ। २०७२ सालको महाभूकम्पको समयमा पनि सहयोग प्राप्त भए पनि, यस पटकको हिमबाढीपश्चात् विश्वका उच्च नेतृत्वले देखाएको साथ अझ ठूलो र महत्त्वपूर्ण रहेको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार, नेपालको सुधारिँदो राजनीतिक चरित्र र विपत्पश्चात् सरकारले देखाएको उद्धार कार्यको तदारुकता तथा सहयोगको सही सदुपयोग हुन्छ भन्ने भरोसाले गर्दा मित्रराष्ट्रहरूले नेपालप्रति विश्वास व्यक्त गरेका हुन्। डा. भट्टराईले भन्नुभयो, “यस पटक मित्रराष्ट्रहरूले केवल बोलीमा मात्र नभई दिल खोलेर सरकार सामु साथ राखेका छन्। यो विश्वासलाई पछिसम्म कायम राख्न प्रभावितहरूको पुनस्र्थापना कार्यमा पनि सरकार सही देखिनु पर्छ।”
डा. भट्टराईको भनाइलाई पुष्टि गर्दै हिमबाढीको तेह्रौँ दिनमा विश्वका अधिकांश मित्रराष्ट्रहरूका राष्ट्रिय झण्डा नेपालको पीडामा आधा झुकाइएका थिए। कतिपय उच्च नेतृत्वले प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन गरेर विपत्प्रति ऐक्यबद्धता जनाए भने कतिपय विदेशमन्त्री स्तरका नेतृत्वहरू नेपाल भ्रमणमा आए।
विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले भोटेकोशी बाढीको पीडाबारे बोल्दै नेपालमा आएको विनाशकारी विपत्को दृश्य निकै डरलाग्दो महसुस भएको बताउनुभएको थियो। उहाँले अमेरिकासँग लामो समयदेखि सुमधुर सम्बन्ध रहेको नेपालले जस्तो सहयोग चाहन्छ, अमेरिका खुला दिलले सहयोग गर्न तयार रहेको सार्वजनिक धारणा राख्नुभएको थियो। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फोन गरेर सान्त्वना दिँदै जस्तो सहयोग पनि उपलब्ध गराउन तयार रहेको दोहोर्याएका थिए।
दक्षिणको छिमेकी भारतले नेपालमा हिमबाढी आएलगत्तै विदेश मन्त्रालयमा आपत्कालीन बैठक डाकी सहयोग योजना बनायो। विपत्तिको पहिलो दिन नै प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले प्रधानमन्त्री वालेन्द्र शाहलाई फोनमार्फत पीडामा नेपाल एक्लो नरहेको अभिव्यक्ति दिनुभयो। उत्तरको छिमेकी चीनका राष्ट्रपति सी चिनफिङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई शोक सन्देशमार्फत विपत्तिमा चीनलाई सबैभन्दा बढी दुखेको औँल्याउँदै हिमाल र हिमनदीले जोडिएको दुई मुलुकको साझा पीडामा एकअर्काको साथ रहेको सुनाउनुभयो। चीनका प्रधानमन्त्री ली छ्याङले पनि प्रधानमन्त्री शाहलाई शोक सन्देशमार्फत हरतरहले सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभयो। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पहिले प्रधानमन्त्री शाहलाई फोन गरेर त्यसपछि त्यहाँको संसद्मा सहयोगको प्रस्ताव राखेका थिए। जापानका प्रधानमन्त्री सानाए ताकाइचीले प्रधानमन्त्री शाहलाई फोन गरेर पीडामा साथ रहेको बताउनुभयो।
बेलायतका इन्डो–प्यासिफिक मामिलामन्त्री रोजी विन्टरटन ठूलो राहत सहायता बोकेर नेपाल आउनुभयो भने कोरियाका विदेशमन्त्री चो ह्युन पनि नेपाल आए। दुवै जना सहयोगी हातका साथ विपत् प्रभावित क्षेत्र पुगेका थिए। मित्रराष्ट्र बङ्गलादेशको संसद्ले एक मिनेटको मौनधारणसहित भोटेकोशी हिमबाढीमा परेर निधन भएकाप्रति श्रद्धाञ्जली दियो। साथै नेपालको पीडा कम गराउन नेपाली राष्ट्रिय गान बजाई प्रार्थनासहित शोक प्रस्ताव पारित गर्यो। पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले नेपालको पीडामा साथ रहेको उद्घोष गर्दै विमानमार्फत नेपालमा राहत सामग्री पठाए। उता, भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले दुःखको सारथि रहेको भन्दै सहयोग पठाए। श्रीलङ्का, माल्दिभ्स र अफगानिस्तान सरकारबाट पनि राहत तथा साथ सहयोग प्राप्त भयो।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले नेपालको हिमालमा जलवायु परिवर्तनको प्रभाव बढी पर्दा यस्तो विपत्ति आएको दाबी गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने अडानसहित गर्विलो पक्षधरता देखाएका थिए।
