तस्बिर स्रोत, EPA
संयुक्त राज्य अमेरिका र इरानका अधिकारीहरूले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यका लागि वार्ता भइरहेको भन्ने विषयमा परस्पर विरोधाभासी टिप्पणी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देशबीचको शत्रुतालाई पूर्ण रूपमा समाधान गर्न मध्यपूर्वमा कुराकानी भइरहेको दाबी गरेका छन्। यद्यपि, इरानी संसद्का सभामुखले उक्त दाबीलाई खण्डन गर्दै त्यसलाई “भ्रामक समाचार”को सङ्ज्ञा दिएका छन्।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत तेहरानसँग “फलदायी छलफल” भएको जानकारी दिएका छन्। उनले इरानका ऊर्जा पूर्वाधारमाथि हुन सक्ने सैन्य आक्रमणलाई पाँच दिनका लागि स्थगित गरिएको उल्लेख गरेका छन्, र यो साताभरि छलफलले निरन्तरता पाउने बताएका छन्। उनले लेखेका छन्, “यी गहन, विस्तृत र रचनात्मक छलफलका भाव र शैलीको आधारमा, जसले पूरै साता निरन्तरता पाउने छ, मैले युद्ध मामिला हेर्ने निकायलाई इरानका विद्युत् केन्द्रहरू र ऊर्जा संरचनाहरूमा पाँच दिनका निम्ति सबै किसिमका सैन्य कारबाही स्थगन गर्न भनेको छु जुन जारी बैठक र छलफलमा निर्भर हुने छ।”
तर, कतिपय इरानी अधिकारीहरूले अमेरिकासँग कुराकानी भएको भन्ने ट्रम्पको भनाइलाई अस्वीकार गरेका छन्। इरानी संसद्का सभामुख मुहम्मद-बागेर गलिबाफले अमेरिकासँग कुनै वार्ता नगरिएको स्पष्ट पारेका छन्। उनले यस्तो दाबी “वित्तीय र तेल बजारलाई प्रभावित पार्न अनि अमेरिका र इजरेललाई फसेको दलदलबाट उम्काउन प्रयोग गरिएको भ्रामक समाचार” भएको आरोप लगाएका छन्। ट्रम्पले इरानमाथि हमला स्थगित गर्दै चाँडै शान्ति सम्झौता हुन सक्ने बताएपछि सोमवार विश्वबजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको थियो, तर पछि ब्रेन्ट क्रूडको मूल्य प्रतिब्यारल १०० डलरभन्दा माथि पुगेको छ।
टेनसी पुगेका ट्रम्पले इरान युद्धबारे सम्बोधन गर्दै अमेरिका “एउटा बृहत् सम्झौता” को सम्भावनालाई प्राथमिकता दिइरहेको बताए। उनले भने, “मेरो सारा जीवन सम्झौतासम्बन्धी कुराकानीमा बितेको छ तर इरानसँग हामी लामो समयदेखि छलफल गरिरहेका छौँ। यस पटक उनीहरू वास्तवमै गम्भीर छन्।” उनले इरान परमाणुअस्त्र नराख्ने विषयमा सहमत भएको आफूले ठानेको पनि जानकारी दिए। युद्ध सुरु भएयता इरानको नेतृत्वपङ्क्तिका धेरै जनाको मृत्यु भएको दोहोर्याउँदै उनले इरानसँग शान्तिका लागि “एउटा अर्को अवसर” भएको बताए। यद्यपि, उनले अमेरिकाले कोसँग छलफल गरिरहेको छ भन्ने स्पष्ट पारेनन्।
मध्यपूर्वमा तनावको स्थिति अझै पनि जारी छ। इरानको तेहरानमा हमला जारी रहेका विवरणहरू प्राप्त भएका छन्। बीबीसी पर्सियनका संवाददाताले तीन भिन्न स्रोतबाट इरानमा पुनः आक्रमण सुरु भएको जानकारी दिएका छन्। इरानी सञ्चारमाध्यमहरूका अनुसार राजधानी तेहरानमा हवाई प्रतिरक्षा प्रणालीलाई सक्रिय तुल्याइएको छ।
तस्बिर स्रोत, Reuters
तस्बिरको क्याप्शन, प्राप्त पछिल्लो तस्बिरमा लेबननको बेरुतस्थित एउटा भवनबाट धुवाँको मुस्लो निस्किरहेको देख्न सकिन्छ
इरानको इस्लामिक रेभलूशनरी गार्ड कोरसँग सम्बन्धित समाचारसंस्था ‘फार्स’ले मध्यइरानको इस्फहानमा ग्याससम्बन्धी प्रशासनिक भवन र ग्यासको चाप घटाउने स्टेशनमा अमेरिका र इजरेलले हमला गरेको आरोप लगाएको छ। उक्त हमलाबाट ती पूर्वाधारका केही भाग र आसपासका घरहरूमा क्षति पुगेको फार्सले जनाएको छ। त्यस्तै, पश्चिम इरानको खुर्रम्शारस्थित ऊर्जाकेन्द्रलाई ग्यास आपूर्ति गर्ने पाइपलाइनलाई निसाना बनाइएको विवरण पनि आएको छ, यद्यपि त्यहाँका गभर्नरले घटनामा कोही हताहत नभएको बताएका छन्।
लेबननको बेरुतमा पनि हमला भइरहेको जानकारी आएको छ। लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो महिना द्वन्द्व सुरु भएयता १,०३९ जना मारिएका छन्। साउदी अरबको रक्षा मन्त्रालयले सोमवार साँझ देशको पूर्वी क्षेत्रमा चारवटा ड्रोनलाई नष्ट गरिएको जनाएको छ, तर साउदी अरबले ती घटनामा कोही हताहत भए वा नभएको जानकारी दिएको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
