प्रतिनिधिसभा निर्वाचनको मतदान सम्पन्न भएसँगै मतगणना प्रक्रिया र नतिजा सार्वजनिक हुने अवधिका बारेमा व्यापक चासो बढेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्रै मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन्। सुरक्षाका लागि विगतमा जस्तै यसपटक पनि आवश्यकताअनुसार तारजाली लगायतका प्रबन्ध मिलाइएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार, मतगणनामा खटिएका कर्मचारीबाहेक अन्य कुनै पनि व्यक्ति मतपत्रसम्म पुग्न नसक्ने गरी कडा सुरक्षा व्यवस्था गरिएको छ। देशभरिका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ३,४०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्।
तस्बिर स्रोत, EPA
निर्वाचन निर्देशिकाअनुसार, मतगणना स्थलको छनोट निर्वाचन अधिकृतले मतदानको दिनअघि नै सूचना प्रकाशन गरी तोक्नुपर्छ। पर्याप्त स्थान र उचित सुरक्षा व्यवस्था भएको सरकारी कार्यालय वा उपयुक्त भवनलाई मतगणना स्थलका रूपमा प्रयोग गरिनेछ। सबै मतपेटिका प्राप्त भएपछि मतगणनाको स्थान, मिति र समय सार्वजनिक गरिनेछ। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका मतपेटिकाहरू सकेसम्म एउटै कोठामा सुरक्षित राखिनेछन्, जसमा बलियो ताला, लाहाछाप तथा सम्भव भएसम्म सीसीटीभी जडान गरिनेछ।
तस्बिर स्रोत, RSS
मतगणनामा निर्वाचन अधिकृत, गणक कर्मचारी, उम्मेदवार तथा दलका प्रतिनिधिहरू सहभागी हुन्छन्। निर्वाचन अधिकृतले मतगणना सुरु हुनुअघि प्रतिनिधिलाई प्रक्रियाबारे जानकारी गराउनेछन्। मतगणना सम्भव भएसम्म एउटै कोठामा गरिनेछ; पर्याप्त स्थान नभए सोही भवनको अर्को कोठा प्रयोग गर्न सकिने भए पनि छुट्टाछुट्टै भवनमा रोक लगाइएको छ। सर्वसाधारणलाई जानकारी गराउन मतगणनास्थलमा सूचना पाटी र माइकको व्यवस्था गरिनेछ। कर्मचारीले मतपत्रहरू प्रतिनिधिलाई प्रस्ट देखिने गरी देखाउनुपर्छ, तर छुन दिनु हुँदैन।
तस्बिर स्रोत, RSS
मतगणना प्रतिनिधिको रोहबरमा मतपेटिकाको जाँच गरी मुचुल्का तयार भएपछि सिल तोडेर मतपत्रहरू गणना टेबुलमा खन्याइन्छ। विवादबाट बच्नका लागि सबै मतदान केन्द्रका मतपत्रहरू एकै स्थानमा मिसाई ५० वा १०० को ठेली बनाई क्रमशः गणना गरिन्छ। गणना गर्दा बदर र सदर मत छुट्ट्याइन्छ; पहिले बदर मतपत्रहरू र त्यसपछि उम्मेदवारको निर्वाचनचिह्नअनुसार सदर मतको गणना हुन्छ।
तस्बिर स्रोत, RSS
निर्वाचन निर्देशिकाअनुसार, मतदान अधिकृतको दस्तखत नभएको, आयोगद्वारा निर्धारितबाहेक अन्य चिह्न प्रयोग गरिएको, लतपतिएको वा च्यातिएको मत सङ्केत, एकभन्दा बढी चिह्नमा मत सङ्केत गरिएको, कुनै पनि चिह्नमा मत सङ्केत नगरिएको, जाली मतपत्र वा मतपेटिका बाहिर राखिएको, पट्याएको मतपत्रभित्र अन्य वस्तु संलग्न भएको, वा समानुपातिक प्रणालीमा बन्चसूची पेस नगरेको दलको चिह्नमा मत सङ्केत गरिएको लगायतका मतपत्रहरू बदर मानिनेछन्। आयोगले तोकेका अन्य कारणले पनि मत बदर हुन सक्छन्।
बीबीसी न्यूज नेपालीका थप समाचार, भिडिओ र कार्यक्रमहरूका लागि:
हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
