बाजुरा, चैत २० गते
बाउली खोला पुल पाँच वर्षदेखि अलपत्र: ठेकेदारलाई तीन महिनाको अल्टिमेटम
मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाउली खोलामा निर्माणाधीन मोटरेबल पुल ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण विगत पाँच वर्षदेखि अलपत्र परेको छ। निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा र यात्रुहरूले वर्षायाममा भोग्नुपर्ने सास्तीले जनजीवन कष्टकर बनेको छ।
पुल निर्माणमा देखिएको अत्यधिक ढिलासुस्तीपछि बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायालगायतको टोलीले हालै स्थलगत अनुगमन गरेको छ। अनुगमनपश्चात् टोलीले निर्माण कम्पनीलाई काममा तीव्रता ल्याउन कडा निर्देशन दिँदै आगामी तीन महिनाभित्र उल्लेखनीय भौतिक प्रगति देखाउन अल्टिमेटम दिएको छ। यदि तोकिएको समयभित्र प्रगति नदेखिए कानुनी कारबाहीका साथै ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिने चेतावनी दिइएको छ।
सडक डिभिजन कार्यालयका अनुसार सम्झौता भएको १६ महिनाभित्र सम्पन्न हुनुपर्ने यस पुलको हालसम्म जम्मा २१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। इन्जिनियर देबेन्द्र स्वारका अनुसार निर्माण ढिलाइको मुख्य कारण बजेट वा प्राविधिक समस्या नभई ठेकेदार कम्पनीको गैरजिम्मेवारीपन र लापरबाही नै हो।
धनगढीस्थित टिडिआर–जुगल कौशिक जेभीले २०७८ कार्तिक १५ गते ५ करोड ५८ लाख ८८ हजार २ सय ७० रुपैयाँमा यो पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार २०७८ फागुन १५ भित्र पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। तर, सम्झौता अवधि सकिएको लामो समय बितिसक्दा पनि कामले गति लिन सकेन। पटक–पटकको ताकेता र म्याद थपपश्चात् पनि अपेक्षित प्रगति नदेखिएकोले आर्थिक वर्ष २०८२ फागुन ३० गतेसम्मका लागि अन्तिम पटक म्याद थप गरिएको थियो। हालसम्म ९० लाख ५६ हजार रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको भए पनि निर्माण कार्यको गति अत्यन्त सुस्त छ। निर्माणस्थलमा राखिएका केही सरियाहरू समेत बाढीले बगाउँदा थप क्षति पुगेको कार्यालयले जनाएको छ।
बाउली खोलामा पुल नबन्दा विशेषगरी वर्षायाममा पानीको बहाव बढेपछि यातायात पूर्णरूपमा अवरुद्ध हुँदै आएको छ। यसबाट बिरामी, गर्भवती महिला तथा आकस्मिक अवस्थामा रहेका नागरिकहरूले समयमै स्वास्थ्य सेवा पाउन कठिनाइ भोग्दै आएका छन्। विद्यार्थीहरू जोखिम मोलेर खोला तर्न बाध्य छन् भने कृषकहरूले आफ्नो उत्पादन बजारसम्म पुर्याउन नसक्दा ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ। सवारीसाधनहरू खोलाको किनारमै रोकिने हुँदा यात्रुहरू घण्टौँ पैदल हिँड्न बाध्य हुने गरेका छन्। स्थानीयका अनुसार वर्षायाममा दुर्घटनाको जोखिम पनि उच्च रहने गरेको छ। पुल अभावले पूर्वी तथा उत्तरी क्षेत्रका चार स्थानीय तहसहित बडीमालिका नगरपालिका–७ र ८ का बासिन्दा तथा हुम्ला, मुगु र कालिकोटका सर्वसाधारण समेत प्रत्यक्ष प्रभावित भएका छन्।
प्रमुख जिल्ला अधिकारी निरौलाले अब पनि काममा प्रगति नभए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने र ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिने बताए। जिल्ला समन्वय समिति प्रमुख रोकायाले पनि पुल निर्माणमा भएको ढिलासुस्ती कुनै पनि हालतमा स्वीकार्य नहुने जनाउँदै अनुगमनलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। जिल्ला प्रशासन कार्यालय बाजुराले अधुरा रहेका निर्माण आयोजनाहरू समयमै सम्पन्न गराउनका लागि सम्बन्धित निकायहरूसँग समन्वय तीव्र पारिएको जानकारी दिएको छ। यसैबीच, नजिकैको अनाई खोलामा निर्माण गरिएको पक्की पुल भने एक वर्षमै सम्पन्न भई सञ्चालनमा आइसकेको छ, जसलाई समयमै काम भए विकास सम्भव हुने उदाहरणका रूपमा हेरिएको छ।
