
….राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा आज पनि हेर्न नमिल्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको मुद्दा आज पनि हेर्न नमिल्ने भएको हो ।
उक्त मुद्दा आइतबार पनि हेर्न नमिल्नेमा परेको थियो । उक्त दिन न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा तोकिएको थियो । न्यायाधीश हुनुअघि सुनिलकुमार पोखरेलले रविकै तर्फबाट बहस गरेका कारण सो निवेदन हेर्न नमिल्ने भएको थियो ।
लामिछाने पत्नी निकिता पौडेलले वैशाख ७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेकी थिइन् ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम माग गरेको थियो ।
तर उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्लाको आदेशलाई उल्ट्याउँदै गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
उच्चको आदेशपछि चैत २२ गते उनलाई सोही रातीनै पक्राउ गरी एक रात प्रहरी परिसर काठमाडौँमा राखेर रुपन्देही पठाइएको थियो । दुई दिन रुपन्देहीमा हिरासतमा राखेपछि चैत २५ गते मात्रै अदालतमा पेस गरेर लामिछानेलाई कारागार चलान गरिएको थियो ।
लामिछानेलाई पक्राउ गर्दा प्रहरीले गैरकानुनी पक्राउ पुर्जी दिएको भन्दै लामिछानेले सर्वोच्चमा निवेदन दिएका थिए । अदालतमा मुद्दा दायर भैसकेका लामिछानेलाई प्रहरीले फेरी अदालतको आदेश अनुसार अनुसन्धानका लागि भन्दै पुर्जी थमाएको थियो ।
साथै सोहि दिन राति हिरासतमा राखिएको थियो । तर तेस्रो दिन मात्रै उच्च अदालतको आदेश अनुसार भन्दै थुनुवा पुर्जी दिएको थियो ।