नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट बिदा गर्नुपर्ने मागसहित सुरु भएको प्रयासले पार्टीभित्र तीव्र हलचल उत्पन्न गरेको छ। संस्थापनेतर खेमाका नेताहरूले ओलीलाई नेतृत्वबाट बिदा गर्नुपर्ने र यसका लागि सम्मानजनक वा अपमानजनक बहिर्गमनमध्ये एक विकल्प रोज्न आग्रह गरेका छन्।
ओलीपक्षीय नेताहरू भने यसलाई कांग्रेसमा शेरबहादुर देउवालाई हटाएजस्तै नेतृत्व खोस्ने प्रयास भएको भन्दै, ओली थुनामा रहेको बेला मौका छोप्न खोजिएको र देउवालाई जस्तो ओलीलाई हटाउन सम्भव नभएको दाबी गर्छन्। मङ्सिरमा भएको महाधिवेशनमा अत्यधिक बहुमतका साथ अध्यक्ष निर्वाचित भएका ओलीको पक्षमा अन्य पदाधिकारी र केन्द्रीय कमिटीमा समेत बाहुल्य थियो। यद्यपि, चार महिना नबित्दै एमालेका कार्यकर्ताले ओलीलाई अध्यक्ष पदबाट हटाउन दबाब बढाउन थालेका छन्।
नेतृत्व परिवर्तनका लागि विशेषगरी युवाहरूले अगुवाइ गरिरहेको देखिए पनि त्यसमा अन्य केन्द्रीय नेताहरूको समेत समर्थन रहेको पाइन्छ। एमाले नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापा यथास्थितिमा एमाले अगाडि बढ्न नसक्ने बताउँछन्। उनी भन्छन्, “यदि ओलीले कुनै हालतमा पद नछाड्ने अडान लिए विधान आकर्षित हुन्छ, किनकि उहाँलाई अर्को महाधिवेशनसम्म नेतृत्वमा राख्नु भनेको एमाले विघटनका निम्ति तयार हुनु हो।” समग्र कम्युनिस्ट आन्दोलनको भविष्यका लागि पनि ओलीको नेतृत्व अब सम्भव नरहेको उनको तर्क छ।
संस्थापनेतर पक्षले विशेष महाधिवेशनलाई अन्तिम विकल्पका रूपमा लिएको छ। यद्यपि, ओली स्वयं पदत्याग गर्न तयार भएमा विशेष महाधिवेशनमा नजाने उनीहरूको रणनीति छ। नेता थापाका अनुसार, ओली तयार भएमा राष्ट्रिय भेला गरी सहमतिमा अघि बढ्ने विकल्प पनि खुला छ।
एमाले केन्द्रीय कमिटीमा ओलीको बहुमत रहे पनि, यदि उनी पदत्याग गर्न तयार नभएमा जिल्ला कमिटीको दुईतिहाइ वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्न सक्छन्। विधानअनुसार, त्यसपछि केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्छ। केन्द्रीय कमिटीले अस्वीकार गरेमा मागकर्ताहरूले नै महाधिवेशन आयोजना गर्न सक्ने प्रावधान छ।
चार महिनाअघिको महाधिवेशनमा २,२२७ मतमध्ये ओलीले १,६६४ मत प्राप्त गरी विजयी भएका थिए। यद्यपि, उनलाई हटाउने पक्षमा समीकरण फेरिएको सङ्केत सचिवालय बैठकमा समेत देखिएको नेता कर्णबहादुर थापा बताउँछन्। उनले भने, “सचिवालय बैठकमा गुटगत नभई स्वतन्त्रतापूर्वक सोच्न थालेको स्थिति देखा परेको छ।” ‘परिवर्तन वा समाप्त’ भन्ने आम मनोविज्ञानले हिजोकै मान्यताबाट अहिलेको समस्या समाधान असम्भव भएको उनको तर्क छ।
कांग्रेसमा शेरबहादुर देउवा विशेष महाधिवेशनबाट विस्थापित भएका थिए। एमाले सचिव शेरधन राई भने ओली गिरफ्तार भएको “मौका छोपेर विशेष महाधिवेशनको हौवा” चलाइएको दाबी गर्छन्। उनी भन्छन्, “कांग्रेसमा जस्तो एमालेमा नेतृत्व सडकबाट कब्जामा लिन सम्भव छैन, एमाले त्यस्तो पार्टी होइन।”
ओलीको गिरफ्तारीलाई उनको पदच्युत गर्ने अवसरका रूपमा प्रयोग गर्न खोजिएको ओली निकट नेताहरू बताउँछन्। यद्यपि, नेता थापाले गिरफ्तारीको संवेदनशीलतालाई ध्यानमा राखी सम्मानजनक बहिर्गमनको कुरा उठाइएको र यसलाई ठूलो सार्वजनिक मुद्दा नबनाइएको स्पष्ट पारे। ओलीले पक्राउ परेपछि उपाध्यक्ष रामबहादुर थापालाई कार्यवाहक र संसदीय दलको नेताको जिम्मेवारी दिएका छन्।
तर, चैत्र १९ गते प्रतिनिधिसभाको पहिलो बैठकमा कार्यवाहक थापाले गरेको भाषण पार्टीभित्रै विवादित बन्यो। उनले रास्वपाको जितलाई “चामत्कारिक” भन्दै निर्वाचन परिणाममा सेना, कर्मचारीतन्त्रसहित विभिन्न संस्थाहरूको भूमिका रहेको टिप्पणी गरेपछि एमाले सचिवालय बैठकले भोलिपल्ट स्पष्टीकरण जारी गरेको थियो। बैठकले राज्यका सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायप्रतिको पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको जनाएको थियो।
संस्थापन पक्षका अनुसार, एमाले अब निर्वाचनमा बेहोरेको धक्काको समीक्षा गर्दैछ। एमाले सचिव राईका अनुसार, वर्तमान परिस्थितिका आन्तरिक र बाह्य कारणहरूको मिहिन समीक्षापश्चात् सुधारका उपाय तय गरिनेछ। “त्यस सन्दर्भमा नेतृत्व परिवर्तन गर्ने वा सबै कमिटीहरू विघटन गरी नयाँ बनाउनेसम्मको विकल्प आउन सक्छ,” राई भन्छन्। यद्यपि, उनले एक व्यक्ति परिवर्तन गर्नु मात्र समाधान नभएको भन्दै विचार, नीति, सिद्धान्त, व्यवहार र कार्यशैलीमा सुधार गरी पार्टी अगाडि बढ्ने बताए।
सरकारले विगतका अनियमितता र भ्रष्टाचारका कतिपय प्रकरणबारे छानबिनको चर्चा चलिरहेको छ, जसमध्ये केहीमा ओलीको नाम जोडिएको थियो। भदौ २३ गतेको घटनामा पक्राउ परेका ओलीको थुना अवधि लम्बिन सक्ने आशङ्का कतिपय नेताहरूमा छ। यस्तो अवस्थामा ओलीले आफैँ पदत्याग गर्ने अपेक्षा गरिएको नेता थापाले सङ्केत दिए। उनी भन्छन्, “ओलीविरुद्ध मुद्दा लगाउने सरकारको नियत देखिएको छ। तर, मानवीय संवेदना, सम्मान र उहाँको योगदानलाई ख्याल गर्दै पार्टी आन्दोलन जोगाउन विवेक र विधि दुवै प्रयोग गरिनेछ।”
