रियाद, साउदी अरेबिया । साउदी अरेबियाको रियादस्थित हुस्सेन बिन अली अतिफा कम्पनीमा कार्यरत ५० भन्दा बढी नेपाली श्रमिक लामो समयदेखि तलबविहीन भई बिचल्लीमा परेका छन् । गौशाला, काठमाडौंमा रहेको नेपाल लाइफ रिक्रुटमेन्ट लगायतका विभिन्न म्यानपावर कम्पनीमार्फत करिब दुई वर्षअघि साउदी पुगेका उनीहरूले ५ देखि ६ महिनासम्म तलब नपाएको र आधारभूत मानवअधिकारबाट समेत वञ्चित गरिएको गुनासो गरेका छन् ।
पीडित श्रमिकका अनुसार कम्पनीले ५ देखि ६ महिनासम्म तलब नदिएको, खाना, बस्ने ठाउँ र पिउने पानीको समेत व्यवस्था नगरेको बताएका छन् । ५० डिग्रीको चर्को गर्मीमा काम गर्न बाध्य पारिए पनि ठेकेदारले उल्टै तलब रोक्ने र काममा समेत अनियमितता गर्ने गरेको उनीहरूको भनाइ छ । एक पीडितले आफ्नो तीनदेखि छ महिनासम्मको तलब बाँकी रहेको बताउँदै, “कम्पनीलाई धेरै पटक ताकेता गर्दा पनि दिन्छु भन्छ तर दिँदैन, काम गराउँछ, पैसा दिँदैन,” भनी आफ्नो पीडा व्यक्त गरे ।
श्रमिकहरूलाई नेपालबाट पठाउँदा मासिक १५०० रियाल तलब र दैनिक १० घण्टा काम (९ घण्टा काम र १ घण्टा आराम) को आश्वासन दिइएको थियो । तर, साउदी पुगेपछि कम्पनीले कसैलाई मासिक ४०० त कसैलाई ६०० रियाल मात्र दिने गरेको छ । कम्पनीले एक महिना काम गराएर अर्को महिना काममा नआउन भन्ने र त्यसरी बिदामा बस्दा उल्टै तलब काट्ने गरेको गुनासो पनि उनीहरूले गरेका छन् । “काममा नआउ भनेर बिदामा राखिदिन्छ, बिदा बसेपछि पैसा काटिन्छ,” एक श्रमिकले भने, “६०० रियालमा आफू खाने कि परिवारलाई पठाउने ?”
कम्पनीले उनीहरूलाई ‘फ्री भिसा’ मा ल्याएको दाबी गरे पनि, प्रत्येक श्रमिकले नेपालमा म्यानपावर कम्पनी र एजेन्टलाई २ लाख २५ हजार रुपैयाँसम्म तिरेर साउदी आएको बताएका छन् । दैनिक १० घण्टाभन्दा बढी समय काममा खटिनुपरे पनि ओभरटाइमबापत एक पैसा पनि नपाएको उनीहरूको भनाइ छ । बस्ने ठाउँबाट कार्यस्थलसम्म पुग्न २ देखि ३ घण्टा लाग्ने भएकाले उनीहरूले दैनिक १२ देखि १६ घण्टासम्म काममा बिताउन बाध्य छन् ।
आफ्नो समस्या समाधानका लागि कम्पनी, नेपालस्थित म्यानपावर, स्थानीय एजेन्ट र साउदी अरेबियास्थित नेपाली दूतावासमा पटकपटक गुहार गर्दा पनि कतैबाट सुनुवाइ नभएको पीडितहरूले बताएका छन् । कतैबाट राहत नपाएपछि उनीहरूले बाध्य भई भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका थिए । तर, भिडियो सार्वजनिक गरेपछि कम्पनीले झन् दबाब दिन थालेको र कुटपिट तथा ज्यान मार्ने धम्की समेत दिन थालेको उनीहरूको आरोप छ । “केही सुनुवाइ नभएर बाध्य भएर हामीले भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका छौँ । अहिले एक महिनादेखि नास्ता पनि दिइरहेको छैन,” एक पीडितले बताए ।
पछिल्लो १५ दिनदेखि कम्पनीले काममा समेत नलगाएको उनीहरूले बताएका छन् । घर फर्काइदिन आग्रह गर्दा कम्पनीले २ वर्षे श्रम सम्झौता पूरा गर्नैपर्ने भन्दै धम्की दिने गरेको छ । एकै कोठामा १० देखि २० जनासम्म बस्न बाध्य पारिएका उनीहरूका लागि शौचालयको समस्या पनि विकराल छ । कम्पनीले शौचालयमा ताला लगाइदिएपछि उनीहरू मस्जिदमा जान बाध्य भएको अर्का एक श्रमिकले बताए । बिरामी पर्दा उपचारको व्यवस्था नगरिएको र बीमा गरिदिने भने पनि अहिलेसम्म नभएको उनीहरूको गुनासो छ ।
ऋण गरेर परिवारको सुखका लागि साउदी आएका नेपाली श्रमिकहरू काम र तलब माग्दा उल्टै धम्की र कारबाहीको शिकार बन्नुपरेको पीडा सुनाउँछन् । उनीहरूले नेपाल सरकार र सम्बन्धित निकायबाट तत्काल उद्धारको माग गरेका छन् ताकि उनीहरू यो अमानवीय अवस्थाबाट मुक्ति पाउन सकून् ।
