काठमाडौँ, भदौ २० गते। राजधानीको खुलामञ्चमा सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवम् महत्त्वपूर्ण सांस्कृतिक पर्व गौराको उल्लास सुरु भएको छ। काठमाडौँ उपत्यकामा रहेका सुदूरपश्चिमेली र कर्णालीवासी समुदायले यस पर्वलाई भव्यताका साथ मनाउँदै आफ्नो परम्परागत पहिचान झल्काएका छन्। गत शुक्रबारदेखि सुरु भएको यो देउडा पर्व आइतबारसम्म सञ्चालन हुनेछ।
गौरा पर्वको प्रमुख आकर्षणका रूपमा रहेको देउडा नृत्यमा खुलामञ्चमा परम्परागत पहिरनमा सजिएका युवायुवती तथा वृद्धवृद्धाले हात समातेर गोलाकार घेरा बनाई उत्साहपूर्वक प्रदर्शन गरिरहेका छन्। देउडा गीतको तालमा रमाइरहेका सहभागीहरूको ऊर्जाशील प्रस्तुति हेर्न सर्वसाधारणको उल्लेख्य भीड लागेको छ, जसले खुलामञ्चलाई उत्सवमय बनाएको छ। देउडाका माध्यमबाट विभिन्न सामाजिक, सांस्कृतिक तथा समसामयिक विषयवस्तुलाई गीतका रूपमा प्रस्तुत गर्दै सुखदुःख साटासाट गर्ने र आपसी सम्बन्धलाई थप आत्मीय बनाउने गरिन्छ।
अध्ययनका सिलसिलामा काठमाडौँमा रहनुभएका तथा सुदूरपश्चिम घर भएका शमशेर रोकायाका अनुसार गौरा पर्व उनीहरूका लागि केवल धार्मिक पर्व मात्र नभई आफ्नो मौलिक संस्कृति र पहिचानसँग जोडिएको एउटा जीवन्त माध्यम हो। उहाँले भन्नुभयो, “गौरा भनेको हाम्रो मौलिक पर्व हो। यो पर्व हाम्रा लागि सुखदुःख साटासाट गर्ने र सांस्कृतिक भावना साट्ने महत्त्वपूर्ण माध्यम हो।” यस वर्ष राजधानीमा रहेका सुदूरपश्चिम तथा कर्णालीवासी एकै ठाउँमा भेला भई आफ्नो मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिइरहेका छन्।
रोजगारी, अध्ययन र विभिन्न पेसा, व्यवसायका कारण आफ्नो जन्मथलोबाट टाढा रहेका सुदूरपश्चिमेली र कर्णालीवासीका लागि गौरा पर्व आपसमा भेटघाट गर्ने महत्त्वपूर्ण अवसर बनेको छ। डोटीको गड्सेरा घर भई अध्ययनका लागि काठमाडौँ आउनुभएका नवीन सार्कीले गौरा पर्वले राजधानीमा रहेका सबैलाई एकैठाउँमा भेला गराउने र गाउँघरको सम्झना ताजा बनाउने बताउनुभयो। उहाँका अनुसार, “गौरा हाम्रो भेटघाट गराउने तथा सांस्कृतिक र मौलिक पर्व हो। यसलाई हामी आपसमा मिलन गराउने पर्वका रूपमा लिने गरेका छौँ।” आफन्त, साथीभाइ तथा गाउँठाउँका चिनजानका व्यक्तिसँग भेटघाट हुने भएकाले खुलामञ्चमा जनसहभागिता बाक्लो देखिएको छ।
गौरा पर्व धार्मिक आस्था र सांस्कृतिक परम्परासँग गहिरोसँग जोडिएको छ। यस पर्वमा व्रतालु महिलाले धान, साउँ, तिल, अपामार्गलगायत सामग्री प्रयोग गरी गौरा देवी अर्थात् पार्वती र महेश्वर अर्थात् शिवको मूर्ति बनाई विधिपूर्वक पूजा गर्ने चलन छ। पर्वमा बिरुडाको विशेष महत्त्व रहेको छ। पाँच प्रकारका गेडागुडी—मास, गहत, गहुँ, केराउ तथा चनारगुराँस मिसाएर बिरुडा बनाइन्छ। महिला खिमादेवी विष्टका अनुसार बिरुडालाई प्रसादका रूपमा ग्रहण गर्ने, आफन्त तथा छरछिमेकमा बाँड्ने र पूजाआजापछि टाउकोमा राख्ने परम्परा छ।
काठमाडौँमा आयोजना गरिने गौरा पर्वले राजधानीमा रहेका सुदूरपश्चिम तथा कर्णालीवासीलाई आफ्नो मौलिक संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने अवसर प्रदान गरेको छ। विशेषगरी नयाँ पुस्ताका युवायुवती देउडा खेलमा उत्साहपूर्वक सहभागी हुन थालेपछि आफ्नो भाषा, वेषभूषा, कला, संस्कार र परम्परालाई राजधानीमै निरन्तरता दिने वातावरण बनेको सहभागीहरूको भनाइ छ। परम्परागत पहिरनमा सजिएका महिला तथा पुरुषको उपस्थितिले खुलामञ्च थप आकर्षक र जीवन्त देखिएको छ।
गौरा पर्वले धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई जोड्नुका साथै आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई बलियो बनाउने विश्वास छ। राजधानीमा सामूहिक रूपमा गौरा मनाउँदा आफ्नो जन्मभूमि, संस्कृति र परम्परासँगको सम्बन्ध अझ प्रगाढ हुने सहभागीहरू बताउँछन्। यसरी रोजगारी, अध्ययन र विभिन्न पेसा, व्यवसायका कारण आफ्नो थातथलोबाट टाढा रहेका सुदूरपश्चिम तथा कर्णालीवासीका लागि गौरा पर्व केवल धार्मिक अनुष्ठानमा सीमित नभई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्ने महत्त्वपूर्ण अवसरका रूपमा स्थापित भएको छ।
