रसुवाको भोटेकोशी नदीमा आएको विध्वंसक बाढीका कारण सुदूरपश्चिम प्रदेशका सय जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन्। भदौ १२ गते बुधबार बिहान आएको उक्त बाढीले रसुवाका विभिन्न जलविद्युत् आयोजना, निर्माणस्थल र अन्य क्षेत्रमा कार्यरत कर्मचारी, मजदुर तथा सुरक्षाकर्मीलाई प्रभावित पारेको हो। सम्पर्कविहीन हुनेहरूमध्ये अधिकांश जलविद्युत् आयोजनामा कार्यरत मजदुर र कर्मचारी रहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कैलालीका ४० जना, कञ्चनपुरका २९ जना, डडेलधुराका १५ जना, बाजुराका १३ जना, बैतडीका आठ जना, दार्चुलाका तीन जना, डोटी र बझाङका दुई/दुई जना र अछामका एक जना सम्पर्कविहीन भएका छन्। प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार सम्पर्कविहीन भएकाहरूको विस्तृत विवरण सङ्कलन कार्य जारी रहेकाले यो सङ्ख्या अझै बढ्न सक्नेछ।
कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार रसुवा हाइड्रोपावर कम्पनीमा कार्यरत टीकापुर नगरपालिका–५, मनिकापुरका कमल चौधरी (४३), डगराम चौधरी (६०), सुन्की थारू (६३), चन्द्रबहादुर थारू (५०), धनुवा थारू (६०) सम्पर्कविहीन छन्। यस्तै, टीकापुर नगरपालिका–१, समितिपुरका भुवन चौधरी (३२), अन्तराम चौधरी (४१), दीपक चौधरी (२७), दिलबहादुर चौधरी (२८), तथा भुपुबस्तीका बिफु चौधरी (३३), मानबहादुर चौधरी (३४), प्रजित डङ्गौरा (३६), एकतानगरका विपदराम चौधरी (४२), राजकुमार चौधरी (३७), आशिष चौधरी (३६) र सञ्जय चौधरी (२७) पनि सम्पर्कविहीन छन्। जानकी गाउँपालिका–१ तोरियापुरका दिलिपकुमार चौधरी (३१) पनि बेपत्ता छन्। रसुवा लाङटाङ हाइड्रो पावरमा कार्यरत गौरीगङ्गा नगरपालिका–४, राजीपुरका रोनिक ओली (२०) र घर निर्माणको काम गर्ने जानकी गाउँपालिका–६, धर्मापुरका श्याम चौधरी (२९) समेत बेपत्ता भएका छन्। टीकापुर नगरपालिका–१, समितिपुरका वीरबहादुर चौधरी, तुलाराम चौधरी, सनिसराम चौधरी, मनिराम चौधरी, बादल चौधरी, राजेश चौधरी, जुगराम चौधरी, दोर्जे चौधरी, साधुराम चौधरी लगायत चिनियाँ कम्पनीमा कार्यरत मजदुरहरू पनि सम्पर्कमा छैनन्।
मैलुङ खोला हाइड्रो पावरमा कार्यरत धनगढी उपमहानगरपालिका–१२ ‘ए’ गाउँका शिवशङ्कर जोशी (३२), बर्दगोरिया गाउँपालिका–६ का विजय चौधरी (२८) र बर्दगोरिया–५ का भुवन वाग्ले (२४) पनि बेपत्ता छन्। एनएमबी लघु वित्तीय संस्था रसुवामा कार्यरत धनगढी उपमहानगरपालिका–५, हसनपुरकी पुष्पा शाही, मैलुङ हाइड्रो पावरमा कार्यरत कैलारी गाउँपालिका–३, बर्कामुडाका विश्वराज चौधरी (३४) र वडा नम्बर ६ सुर्मीका रोयल चौधरी पनि सम्पर्कविहीन छन्। लाङटाङ हाइड्रो पावरको सुरुङभित्र अपरेटरको काम गर्ने गौरीगङ्गा नगरपालिका–४, राजीपुरका रवि बोहरा (२७) र सुन्धरादेवी कन्स्ट्रक्सन प्रालि नुवाकोटमा कार्यरत टीकापुर नगरपालिका–७ का अर्जुन थारू पनि सम्पर्कमा आएका छैनन्। मैलुङ हाइड्रो पावरबाट विकास ठकुरी (२९) र धादिङमा काम गर्ने टीकापुर नगरपालिका–७, डाँडाबोझीका अर्जुन चौधरी (२९) सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार बाढी प्रभावित क्षेत्रमा काम गर्न गएका तथा हालसम्म परिवारको सम्पर्कमा नआएका २६ जनाको विवरण प्राप्त भएको छ। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१०, तिल्केनीका पदमबहादुर मल्ल (५५), प्रेमप्रसाद जोशी (३२), उमेश धामी (२७), वडा नम्बर ५ का देवबहादुर चन्द (५२), वडा नम्बर १७ मझगाउँका भुवनेश्वरी भट्ट (३०), वडा नम्बर १८ का लक्ष्मण गुरुङ (५०) र वडा नम्बर ६ भगवती टोलका चन्द्रा जोशी (३४) सम्पर्कविहीन छन्।
त्यसैगरी, शुक्लाफाँटा नगरपालिका–३, पिपलाडीका नरेन्द्रबहादुर चौधरी (२९), हरि चौधरी (३०), सुनील चौधरी (३४), जोनापुरका दीपेन्द्र डगौरा (२५), हरिलाल डगौरा (२५) बेपत्ता हुनुहुन्छ। कृष्णपुर नगरपालिकाका पाँच जनामध्ये वडा नम्बर ५ का रमेशराज जोशी (३३), वडा नम्बर ३ का राकेश राना (२९), कालु राना (३०), पदम साउद (४३) र वडा नम्बर ४ का हिक्मतबहादुर पाल (२३) पनि सम्पर्कविहीन छन्। बेलौरी नगरपालिका–३, पडावका रामचन्द्र चौधरी (२८), वडा नम्बर ५ रामनगरका खुसीराम चौधरी (२९), प्रकाश चौधरी (२७), वेदकोट नगरपालिका–८ का प्रहरी हवलदार नरेन्द्रप्रसाद भट्ट (३८), वडा नम्बर ३ का पदम जोशी (४७) र लालझाँडी गाउँपालिका–५ का पदमसिंह साउद (४३) पनि सम्पर्कविहीन हुनुहुन्छ। प्रहरी नायब उपरीक्षक रावतका अनुसार सम्पर्कविहीनमध्ये २१ जना जलविद्युत् आयोजनामा कार्यरत मजदुर, दुई जना नेपाली सेना र एक जना नेपाल प्रहरीका कर्मचारी रहेका छन्।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले दिएको जानकारी अनुसार बाढीपछि दार्चुलाको शैल्यशिखर नगरपालिका–८ का जयधन जोशी, सोही ठाउँका नरेशदत्त जोशी र दुहुँ गाउँपालिका–५ का विकास ठकुरी सम्पर्कविहीन हुनुभएको छ। जयधन जोशी अप्पर त्रिशूली हाइड्रोमा, नरेशदत्त जोशी रसुवा भन्सार कार्यालयमा र विकास ठकुरी नेपाली सेनामा कार्यरत भई मैलुङ हाइड्रोपावरमा खटिएका थिए।
बैतडी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार डिलाशैनी–२ छेपट्टा घर भई सशस्त्र प्रहरीको बिओपी टिमुरेमा कार्यरत सशस्त्र प्रहरी जवान विनिता बोहरा, दोगडाकेदार गाउँपालिका–२ घर भई प्रहरीचौकी रसुवागढीमा कार्यरत प्रहरी सहायक हवल्दार हिक्मत महरा सम्पर्कविहीन हुनुहुन्छ। यस्तै, सुर्नया गाउँपालिका–६, मोतीनगरका हरिशचन्द (३१), सुर्नया गाउँपालिका–५, विष्टपालीका केशव विष्ट (२५), डिलाशैनी गाउँपालिका–७ धामीगाउँका पूर्णसिंह धामी (३२), विशाल धामी (२७), पञ्चेश्वर गाउँपालिका–६ बिजुलका देवबहादुर चन्द (४०) र सिगास गाउँपालिका–७ घर भई इलामबाट परीक्षा दिन नुवाकोट गएका लक्ष्मण ऐर (२३) पनि सम्पर्कविहीन छन्।
डडेलधुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. ताराप्रसाद जोशीको सचिवालयलाई प्राप्त जानकारी अनुसार जिल्लाका १५ जना नागरिक सम्पर्कविहीन भएका छन्। अमरगढी नगरपालिकाका शेर साहु, गन्यापधुरा गाउँपालिकाका हिक्मत पाल र सुल्तान महता, नवदुर्गा गाउँपालिकाका प्रशान्त ऐर तथा आलिताल गाउँपालिकाका उमेश बुढा, लक्ष्मण रामजाली, गौतम रामजाली, गोविन्द रामजाली, सुन्दर बुढा मगर, दिनेश रामजाली, दीपक धर्तीमगर, राजेश धर्तीमगर, किरण धर्तीमगर र चन्द्र जधारीमगर बेपत्ता छन्। यसअघि सम्पर्कविहीन भनिएका भागेश्वर गाउँपालिकाका मदनराज भट्ट भने सम्पर्कमा आउनुभएको छ।
बाजुराको हिमाली गाउँपालिका–६ का वडा अध्यक्ष प्रेमलाल भण्डारीका अनुसार सो वडाका दिपे सार्की (४५), दीपक रोकाया (१९), विष्णुमती रोकाया (५०), आराम नेपाली (३५), विसी पाण्डे (५५), विक्रम भण्डारी (३२) र मोहनलाल रोकाया (३२) सम्पर्कविहीन छन्। जगन्नाथ गाउँपालिका–६ का मुकेश दमाई (२९) पनि परिवारको सम्पर्कमा नआएको सूचना अधिकारी विवेकराज गिरीले बताउनुभयो। स्वामिकार्तिक ३ र ४ जुकुका वीरेन्द्र जैशी, सत्या जैशी, मन्दिप सन्ज्याल, राजकला सन्ज्याल र सुस्मिता सन्ज्याल पनि टिमुरेदेखि सम्पर्कविहीन हुनुभएको छ। ५३ वर्षीय शेरसिंह रोकाया भने अहिले प्रहरीको सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ।
