असार २७, २०८३
अमेरिका/ओमान : अमेरिकाले इरानलाई होर्मुज जलडमरूमध्य खुला रहेको सार्वजनिक घोषणा गर्न र व्यावसायिक जहाजमाथिको गोलीबारी रोक्ने प्रतिबद्धता जनाउन माग गरेको छ । शनिबार ओमानमा हुने वार्ताका लागि अमेरिकाले यस्तो पूर्वसर्त राखेको हो ।
अमेरिकी सञ्चारमाध्यमहरूले नाम नखुलाइएका अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार, इरानले निजी रूपमा राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरूसँग जहाजमाथि भएको गोलीबारी गल्ती भएको स्वीकार गरेको छ । यद्यपि, इरानले उक्त घटनाको जिम्मेवारी आफूले नियन्त्रण गर्न नसकेको एउटा आन्तरिक कट्टरपन्थी समूहमाथि लगाएको बताइएको छ । यस साता होर्मुज जलडमरूमध्यमा तनाव बढेका बाबजुद ट्रम्पले दुवै पक्ष वार्ता जारी राख्न सहमत भएको बताएका छन् । तर, ह्वाइट हाउसले उक्त घटनालाई युद्धविराम उल्लंघनको रूपमा व्याख्या गरेको छ ।
जुन महिनामा अमेरिका र इरानबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौताअनुसार इरानले व्यावसायिक जहाजहरूलाई सुरक्षित आवागमनको सुनिश्चितता गर्ने सहमति जनाएको थियो । बीबीसीका अनुसार वरिष्ठ अमेरिकी अधिकारीहरूले इरानले आफ्नो नियन्त्रण बाहिर रहेको एक कट्टरपन्थी समूहले वार्तालाई कमजोर पार्ने उद्देश्यले व्यावसायिक जहाजमाथि गोली चलाएको दाबी गरेका छन् । एक अधिकारीले भने, ‘उनीहरू (इरानी पक्ष) फेरि वार्ताको टेबलमा फर्किए र भने हामीबाट गल्ती भयो । आउनुहोस्, वार्ता जारी राखौं ।’
अमेरिकी अधिकारीहरूले क्षेत्रीय मध्यस्थमार्फत इरानी नेतृत्वलाई सन्देश पठाउँदै इरानले होर्मुज जलडमरूमध्य खुला रहेको घोषणा गर्नुपर्ने र व्यावसायिक जहाजमाथिको गोलीबारी रोक्ने सार्वजनिक प्रतिबद्धता गर्नुपर्ने माग गरेका छन् । अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, विशेष दूत स्टिभ विटकफ तथा ट्रम्पका ज्वाइँ जेरेड कुशनरसहितका अधिकारीहरूले शनिबार ओमानमा हुने वार्ताको नेतृत्व गर्न सक्ने बताइएको छ ।
यसैबीच, कतारको एक प्रतिनिधिमण्डल शुक्रबार इरान पुगेको छ । भ्रमणको उद्देश्य खाडी क्षेत्रमा तनाव कम गर्नु र होर्मुज जलडमरूमध्य हुँदै जहाजहरूको आवागमन सहज बनाउने विषयमा छलफल गर्नु रहेको बताइएको छ । ट्रम्पले शुक्रबार ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले हामीसँग वार्ता जारी राख्न अनुरोध गरेको छ ।’ उनले थप लेखेका छन्, ‘हामी त्यसका लागि सहमत भएका छौं, तर अमेरिकाले उनीहरूलाई स्पष्ट रूपमा भनिसकेको छ कि युद्धविराम अब समाप्त भएको छ ।’ यस साताको सुरुतिर खाडी क्षेत्रमा झडप सुरु भएयता शुक्रबार कुनै नयाँ आक्रमणको सूचना आएको छैन । जुनमा भएको अन्तरिम सम्झौतापछि अमेरिका र इरानबीच भएको यो सबैभन्दा गम्भीर सैन्य तनाव मानिएको छ । अमेरिकाले प्रस्ताव गरेको ओमानको समुद्री मार्ग प्रयोग गरिरहेका तीन वटा जहाज यसअघि निशाना बनेका थिए ।
गत महिना अमेरिका र इरान १४ बुँदे समझदारीपत्र (एमओयू) मा सहमत भएपछि केही प्रगति भएको थियो । यसको उद्देश्य युद्धविरामको अवधि लम्ब्याउनु र सबै मोर्चामा द्वन्द्व अन्त्य गर्नु रहेको थियो । सम्झौताअनुसार इरान र ओमानले अन्य खाडी मुलुकहरूसँग मिलेर होर्मुज जलडमरूमध्यको भविष्यको प्रशासन र समुद्री सेवाको व्यवस्थापनबारे छलफल गर्नेछन् । संघर्षका क्रममा इरानले होर्मुज जलडमरूमध्यमाथि आफ्नो सार्वभौमिक अधिकार स्थापित गर्ने प्रयासस्वरूप ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ स्थापना गरेको थियो । इरानका अनुसार यस संस्थाले सुरक्षित आवागमनका लागि आवश्यक अनुमति (परमिट) जारी गर्नेछ । इरानको फार्स समाचार एजेन्सीका अनुसार अमेरिका–इरानबीच हुने नयाँ सम्झौताअनुसार भविष्यमा होर्मुज जलडमरूमध्यको व्यवस्थापन इरान र ओमानको संयुक्त समन्वयमा गरिनेछ । सम्झौतामा यस जलमार्ग हुँदै आवागमन गर्ने जहाजहरूबाट सम्भावित सेवा शुल्क उठाउने व्यवस्था पनि समावेश हुन सक्ने उल्लेख गरिएको छ ।
