अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वले पश्चिम एसियालाई अस्थिर बनाउँदै ऊर्जा तथा वस्तुको मूल्य वृद्धि गराएको मात्र छैन, यसले विश्व अर्थतन्त्रलाई गम्भीर रूपमा अव्यवस्थित बनाएको छ। यो द्वन्द्वले विश्व शक्ति–सन्तुलन बदल्ने ऐतिहासिक भूराजनीतिक पुनर्संरचनाको ढोका खोलेको छ, जसले अमेरिकाका मित्रराष्ट्र र प्रतिद्वन्द्वी दुवैलाई अप्रत्याशित महाशक्तिसँग कसरी व्यवहार गर्ने भन्नेमा अन्योल सिर्जना गरेको छ।
युद्धको प्रत्यक्ष प्रभाव पश्चिम एसियामा परेको छ, जसले खाडी अरब राष्ट्रहरूलाई ‘गल्फ कोपरेसन काउन्सिल’ (GCC) को उपादेयतामाथि पुनर्विचार गर्न बाध्य पारेको छ। यसले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) बिचको प्रतिस्पर्धा तीव्र बनाएको छ। युएईले ओपेक सदस्यता अन्त्य गर्ने मनसायका साथ इजरायलसँग गुप्तचर, प्रविधि र सुरक्षामा निकट सहकार्य खोजिरहेको छ। यसको विपरीत, साउदी अरबले पाकिस्तान, इजिप्ट र टर्कीसँग सैन्य सहकार्य मजबुत बनाउँदै चीनसँग समन्वयमार्फत इरानसँग सहअस्तित्वको बाटो पहिल्याउने प्रयास गरिरहेको छ। दुवै राष्ट्र अमेरिकासँग सुरक्षा सम्बन्ध कायम राख्न चाहे पनि, पश्चिम एसियामा समन्वित निर्णय प्रक्रिया कमजोर बन्दै गएको छ।
जारी द्वन्द्वले ट्रान्स–अटलान्टिक सम्बन्धलाई पनि कमजोर पारेको छ। रुसको युक्रेन युद्धले युरोपभर चिन्ता बढाएको बेला, अमेरिकी प्रशासनको इरानमा मात्र ध्यान केन्द्रित र युरोपेली नेताहरूको आलोचनाले नेटोबाहिर युरोपेली सामूहिक सुरक्षाको अवधारणालाई प्रोत्साहन दिएको छ। राष्ट्रपति ट्रम्पले जर्मनीबाट ५,००० अमेरिकी सैनिक फिर्ता बोलाउने घोषणा र रुसमाथिका प्रतिबन्ध स्थगनमा युरोपेली आपत्तिलाई बेवास्ता गर्दा पश्चिमा गठबन्धनभित्र गहिरो विभाजन आएको छ। यसले अमेरिका–रुस सुरक्षा समझदारीतर्फ धकेल्न सक्ने डर बढाएको छ, जसबाट पुटिनलाई युक्रेन युद्ध जारी राख्न बल मिलेको छ र नेटो कमजोर हुँदै जाँदा रुसले सफलताको आशा राखेको छ।
एसियाभर हर्मुज जलमार्गलगायत रणनीतिक सामुद्रिक नाकाको अवरोधले ठूलो आर्थिक क्षति पुर्याएको छ। युरोपेली साझेदारहरूजस्तै, जापान, दक्षिण कोरिया र ताइवानजस्ता एसियाली मित्रराष्ट्रहरू पनि अमेरिकी दीर्घकालीन सुरक्षा र आर्थिक प्रतिबद्धताबारे असुरक्षित छन्। उनीहरूसँग युरोपका विकल्पहरूजस्तो ‘एसियाली नाटो’ वा युरोपेली संघजस्तो संस्था छैन। यसका अतिरिक्त, उनीहरू चीनको बढ्दो आर्थिक, प्राविधिक र सैन्य शक्तिबाट सिर्जित दबाब पनि सामना गरिरहेका छन्, जहाँ चीन ताइवान र जापानप्रति अझ आक्रामक छ। स्वयं चीनले आफ्नो अर्थतन्त्र सुस्त भएको र ट्रम्प तथा पुटिनको दुस्साहसबाट खासै फाइदा नभएको बुझेकाले अमेरिकी ध्यान विचलित भएको यस अवसरमा नयाँ जोखिम उठाउनबाट जोगिएको छ।
इरान युद्धले चीनसँग सम्बन्धित अर्को महत्त्वपूर्ण परिवर्तनलाई तीव्र पारेको छ। यसले हर्मुजजस्ता रणनीतिक सामुद्रिक नाका बन्द गर्नु कति सजिलो र सस्तो हुन सक्छ भन्ने देखाएको छ, जसबाट बबाल मन्डप र मलक्का स्ट्रेटसमेत जोखिममा छन्। यी घटनाक्रम चीन दिगो ऊर्जा, विद्युतीय सवारी, ब्याट्री तथा तिनलाई समर्थन गर्ने महत्त्वपूर्ण खनिज र पुनःप्रशोधन क्षेत्रमा निर्विवाद विश्वनेता बनिसकेको समयमा भइरहेका छन्। चीनको जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जा उत्पादनतर्फको ऐतिहासिक परिवर्तनले उसलाई प्रमुख ऊर्जा आयातकर्ताहरूका लागि अझ आकर्षक व्यापारिक साझेदार बनाएको छ। युद्धले उजागर गरेका कमजोरीहरूले दीर्घकालीन रूपमा चीनका लागि विशाल अवसरहरू सिर्जना गरिरहेका छन्।
