तस्बिर स्रोत: Getty Images
सयौँ वर्षदेखि आनुवंशिक गुण अपरिवर्तित रहेका अन्नलाई ‘प्राचीन अन्न’ भनिन्छ, जुन आधुनिक गहुँजस्ता हजारौँ वर्षदेखि मानवजातिले विकसित गरेका अन्नभन्दा फरक छन्। प्राचीन अन्नले आफ्ना जङ्गली पुर्खाकै आनुवंशिक गुण कायम राख्छन्। स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउने दाबीका कारण यिनको लोकप्रियता बढ्दै गएको छ, विशेषगरी आधुनिक अन्नभन्दा बढी पोषक तत्त्व रहने मानिन्छ। तर, के यी प्राचीन अन्न अहिलेका प्रचलित अन्नबालीभन्दा साँच्चिकै स्वास्थ्यकर छन्?
प्राचीन र आधुनिक अन्नबाली
पोषणसम्बन्धी अनुसन्धानले आधुनिक अन्न र प्राचीन अन्नबीच भिन्नता देखाएका छन्। आधुनिक अन्नलाई उच्च उत्पादकत्व र राम्रो स्वादका लागि विकसित गरिएको छ। उदाहरणका लागि, मकै मेक्सिकोको ‘टिओसिन्टे’ नामक जङ्गली घाँसबाट विकसित भयो, जबकि आधुनिक गहुँ ‘एमर’ र ‘स्पेल्ट’ जस्ता प्राचीन प्रजातिहरूको हजारौँ वर्षको ‘ब्रीडिङ’ बाट विकसित भएको हो। ‘एमर’ मानवले ईसापूर्व ९,७०० वर्ष अगाडिदेखि लेभान्ट क्षेत्रमा खेती गर्न थालेको अन्नबालीमध्ये एक हो। प्राचीन अन्नहरू मानव हस्तक्षेप बिना मौलिक गुण कायम राखेका प्रजाति हुन्। स्पेल्टको खेती नियोलिथिक कालदेखि नै करिब १२ हजार वर्षअघिदेखि हुँदै आएको छ। प्राध्यापक एमी बोगार्डका अनुसार, १९औँ र २०औँ शताब्दीमा प्राचीन अन्नबारे पुनः खोजी सुरु भएको थियो, जहाँ पुरातात्त्विक उत्खननमा फेला परेका डढेका नमुनाहरूबाट पुर्खाले ती अन्न उपभोग गर्ने गरेको पत्ता लागेको थियो।

तस्बिर स्रोत: Serenity Strull/ Getty Images
आधुनिक खानपानमा धान, मकै र गहुँ सबैभन्दा प्रचलित छन्।
पुनरुत्थानको सम्भावना कति?
हाल धेरै प्राचीन अन्न आधुनिक भोजन प्रणालीमा पुनः समावेश गरिँदैछन्, तर कृषकहरूका लागि भने यी आकर्षक छैनन्। न्यूक्यासल विश्वविद्यालयका प्रोफेसर क्रिस सीलका अनुसार, किसानहरू आधुनिक प्रजातिहरू नै खेती गर्न रुचाउँछन् किनकि तिनको उत्पादकत्व बढी हुन्छ। अग्ला प्राचीन गहुँ प्रजातिहरू हावा लाग्दा ढल्ने र उत्पादनमा कमी आउने समस्या हुन्छ। अमेरिकाको सेन्ट क्याथरिन विश्वविद्यालयकी प्रोफेसर जुली मिलर जोन्सले प्राचीन प्रजातिहरू रोटी बनाउने काममा पनि कम उपयोगी हुने बताइन्। किसानको प्राथमिकता सधैँ उत्पादकत्व र उत्पादनको गुणस्तरमा केन्द्रित हुन्छ।
के प्राचीन अन्न आधुनिकभन्दा साँच्चिकै स्वास्थ्यकर हुन्?
प्राचीन अन्नमा कम वा शून्य ‘ग्लूटन’ हुनु एक प्रमुख फाइदा हो, जसले ग्लूटन असहिष्णु व्यक्तिहरूलाई लाभ पुर्याउँछ (जस्तै: कोदो र किनोआ)। प्रोफेसर सीलका अनुसार, किनोआको सेवनले टाइप-२ मधुमेहका प्रारम्भिक लक्षण देखिएका व्यक्तिहरूमा सुधार ल्याएको केही अनुसन्धानले देखाएका छन्। एक अध्ययनमा, किनोआको पाउरोटी खाने समूहको रगतमा चिनीको स्तर कम पाइएको थियो। यद्यपि, सन् २०२० मा आधुनिक अन्नको पोषण गुण खस्किएको ठोस प्रमाण फेला नपरे पनि, सन् १९६० पछि केही खनिज तत्त्वहरूमा कमी आएको पाइएको थियो। प्रोफेसर मिलर जोन्सका अनुसार, ग्लूटन एलर्जी भएका मानिसहरूका लागि प्राचीन अन्न फाइदाजनक हुन सक्छन्, तर त्यसभन्दा बढी दाबी अतिरञ्जित हुन सक्छ। सीलले प्राचीन अन्नको सेवन बढी फाइदाजनक हुनुको कारण यसलाई बिनाप्रशोधन उपभोग गर्ने सम्भावना बढी हुनु रहेको बताए, किनकि यसमा प्रशोधित गहुँभन्दा धेरै फाइबर र अन्य खनिज तथा भिटामिनहरू हुन्छन्।

तस्बिर स्रोत: Getty Images
पेरुभियन एन्डिज क्षेत्रमा हजारौँ वर्षदेखि किनोआको खेती हुँदै आएको छ।
जलवायु परिवर्तनसँग सम्बन्ध
आजको विश्वमा अन्न उत्पादनलाई प्रभावित गर्ने मुख्य कारण जलवायु परिवर्तन हो, र प्राचीन अन्नको पुनरुत्थानको पछाडि यो पनि एउटा कारण हो। प्रोफेसर सीलका अनुसार, कतिपय प्राचीन अन्न प्रजातिहरू विषम वातावरणमा पनि हुर्कन सक्छन् र तिनलाई कम कीटनाशक आवश्यक पर्छ। यसकारण, भविष्यमा भरपर्दो खाद्य आपूर्ति सुनिश्चित गर्न तिनको भूमिका महत्त्वपूर्ण हुन सक्छ। टर्कीमा साना किसानहरू प्राचीन गहुँका प्रजाति प्रयोग गरेर माटो सुधार्ने प्रयासमा छन् भने, पश्चिम अफ्रिकामा सुक्खा सहन सक्ने ‘फोनियो’ अन्नलाई पुनर्स्थापित गर्न अनुसन्धानकर्ताहरू सक्रिय छन्। पोषणको सन्दर्भमा, विज्ञहरू सबै किसिमका अन्नको मिश्रण र सकेसम्म अप्रशोधित रूपमा उपभोग गर्नु महत्त्वपूर्ण हुने बताउँछन्। प्राध्यापक बोगार्ड र मिलर जोन्स दुवै विविधता नै उत्तम रणनीति रहेकोमा सहमत छिन्।

तस्बिर स्रोत: Getty Images
किनोआले मधुमेहको जोखिम भएका मानिसहरूलाई फाइदा पुर्याउन सक्ने बताइएको छ।
