अमेरिका–इजरायल द्वन्द्व: ४४ इरानी समुद्री कामदार मारिए, मानवीय संकट चुलियो
वैशाख १८, २०८३ शुक्रबार १६:४३:५९
इरान : अमेरिका–इजरायलले इरानविरुद्ध चलाएको युद्धका क्रममा कम्तीमा ४४ जना इरानी समुद्री कामदारले ज्यान गुमाएका छन्। इरानको मरिन युनियनका अनुसार यस द्वन्द्वमा २९ जना घाइते भएका छन् भने ९ जना बेपत्ता छन्। यो जानकारी इरानी मर्चेन्ट म्यारिनर्स सिन्डिकेटका महासचिव समन रेजाइले दिएका हुन्।
महासचिव रेजाइका अनुसार फेब्रुअरी २८ देखि अप्रिल १ बीचको अवधिमा २२ जना नाविक, १६ जना माछा मार्ने कामदार र ६ जना बन्दरगाह कामदार मारिएका हुन्। मृतकहरूको यो सूची इरान पोट्र्स एन्ड म्यारिटाइम अर्गनाइजेसन र उनको युनियनका सदस्यहरूले तयार पारेका हुन्। यस सूचीमा अमेरिकी र इजरायली सेनाद्वारा मारिएका इरानी नौसेनाका सदस्यहरू भने समावेश छैनन्।
रेजाइले मार्च र अप्रिल महिनामा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री संगठन (IMO) मा उजुरी पत्र पठाउँदै इरानका बन्दरगाह र व्यापारिक जहाजहरूमा अमेरिकी र इजरायली सेनाले गरेका आक्रमणका कारण यी हताहत भएको दाबी गरेका छन्। उनका पत्र अनुसार, २९ जना घाइते र ९ जना बेपत्ता रहेको अवस्थाले द्वन्द्वको भयावह पक्षलाई उजागर गरेको छ। युनियन अन्तर्राष्ट्रिय यातायात कामदार महासंघसँग आबद्ध छ र इरानी जहाज कम्पनीहरूसँगको वार्तामा कामदारहरूको प्रतिनिधित्व गर्दछ। युद्ध सुरु भएदेखि युनियनले फसेका समुद्री कामदारहरूलाई मानवीय, चिकित्सकीय र स्वदेश फर्काउने सहायता पनि प्रदान गरिरहेको छ।
रेजाइले पर्सियन खाडीका सबै समुद्री कामदारहरू, विशेष गरी इरानी झण्डा बोकेका जहाजका कर्मचारीहरू, गम्भीर मानवीय संकटको चपेटामा परेको बताएका छन्। उनले भने, ‘उनीहरूले आपूर्ति अभावको चिन्ता मात्र होइन, ६० दिनसम्म युद्ध क्षेत्रभित्र फसेपछि गम्भीर मानसिक तनाव पनि भोगिरहेका छन्।’
स्वतन्त्र द्वन्द्व अनुगमन संस्थाका अनुसार, फेब्रुअरी २८ यता अमेरिकी र इजरायली सेनाले इरानभर ३,००० भन्दा बढी हवाई आक्रमण गरेका छन्। यसको प्रत्युत्तरमा इरानले मध्यपूर्वभर करिब १,६०० प्रतिकारात्मक आक्रमण गरेको छ। अप्रिल ८ देखि अमेरिका–इरानबीच युद्धविराम लागू भए पनि, अप्रिल १३ मा अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएको छ। यसको मुख्य उद्देश्य इरानको तेल निर्यात रोक्नु र तेहरानलाई रणनीतिक महत्वको होर्मुज जलडमरूमध्य पुनः खोल्न दबाब दिनु हो।
सामान्यतया विश्वको पाँचौँ भाग ऊर्जा र ग्यास यही जलमार्गबाट जाने गर्छ, तर युद्ध सुरु भएदेखि यो मार्ग प्रायः बन्द छ। यसका कारण कम्तीमा दुई महिनादेखि २० हजार समुद्री कामदारहरू त्यहाँ फसेका छन्। युद्धविराम लागू भए पनि, इरानी सेनाले होर्मुज जलडमरूमध्य छोड्न खोज्ने जहाजहरूमा गोली चलाइरहेको छ र अप्रिल २२ मा पनामा र लाइबेरियाको झण्डा बोकेका दुई कार्गो जहाज कब्जा गरेको छ।
अर्कोतर्फ, अमेरिकाले अप्रिल १९ मा ओमानको खाडीमा इरानी झण्डा बोकेको जहाज कब्जा गरी त्यसका चालक दललाई नियन्त्रणमा लिएको थियो। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले उक्त जहाजले नाकाबन्दी उल्लंघन गरेको आरोप लगाएको छ। इरानले खाडी क्षेत्रमा वा होर्मुज जलडमरूमध्य पार गर्न खोज्ने जहाजहरूमा गरेको आक्रमणका कारण पनि कम्तीमा १० जना अन्य समुद्री कामदारले ज्यान गुमाएको खबर छ।
