वीरगन्ज : म्याग्दी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले वीरगन्ज भ्रमणका क्रममा आफ्नो आत्मकथामा आधारित पुस्तक बिक्री गर्नुभएको छ। सांसद बनेपछि पहिलो पटक वीरगन्ज आउनुभएका डा. पुनले आफ्नो ‘एकादेशमा’ नामक पुस्तक बिक्री गरी राष्ट्रिय आविष्कार केन्द्र र विशेषगरी वीरगन्ज कृषि औजार कारखानाको सञ्चालनका लागि स्रोत जुटाउने अभियानलाई निरन्तरता दिनुभएको हो। आइतबार साँझ वीरगन्ज आइपुग्नुभएका उहाँले सोमबार बिहान घण्टाघर चोकमा ८ बजेदेखि ११ बजेसम्मको अवधिमा १ सय ५० थान पुस्तक बिक्री गर्नुभएको जानकारी दिनुभयो।
डा. पुनले आफू मंगलबार साँझसम्म वीरगन्जस्थित कृषि औजार कारखानामा नै रहने बताउँदै पुस्तक खरिद गर्न इच्छुक महानुभावहरूले सोही कारखानामै सम्पर्क गर्न सक्ने बताउनुभयो। मंगलबार साँझ भने काठमाडौँ फर्किने उहाँको कार्यतालिका रहेको छ। निर्वाचनपश्चात्को फुर्सदको समयलाई सदुपयोग गर्दै देशभरका विभिन्न जिल्लामा पुस्तक बिक्री अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। उहाँका अनुसार यसअघि पुस्तक बेच्ने क्रममा मन्त्री पदमा नियुक्त भएको र त्यसपछि निर्वाचनमा होमिनुपरेका कारण अभियान रोकिएको थियो। अब भने संसद बैठक चलिरहेको बेला सांसदको भूमिका निर्वाह गर्ने र संसद बैठक नभएको बेला पुस्तक बिक्री गरेर राष्ट्रिय विकासमा योगदान पुर्याउने उहाँको प्रण छ।
डा. पुनले पुस्तक बिक्रीबाट संकलित रकम वीरगन्ज कृषि औजार कारखानालाई अझ ठूलो र उत्कृष्ट बनाउनमा खर्च गरिने स्पष्ट पार्नुभयो। यसअघि २०८१ को भदौ अन्तिम साता वीरगन्ज भ्रमण गर्दा उहाँले ९ दिनको बसाइमा दुई हजार थान पुस्तक बिक्री गर्नुभएको थियो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नुअघि सुशीला कार्की नेतृत्वको सरकारमा नियुक्त हुनुभन्दा पहिले डा. पुनले लगातार ५ सय २६ दिनसम्म पुस्तक बिक्री गर्दै देशका विभिन्न स्थानमा पुग्नुभएको थियो। त्यस अभियानमा उहाँले करिब २ लाख ५० हजार थान पुस्तक बिक्री गरी खर्च कटाएर १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको थियो। सोही रकमबाट हाल वीरगन्ज कृषि औजार कारखाना सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो।
सोभियत संघको सहयोगमा वि.सं. २०२१ सालमा स्थापित सरकारी स्वामित्वको वीरगन्ज कृषि औजार कारखाना निरन्तर घाटामा गएपछि सरकारले २०५९ सालमा पूर्ण रूपमा बन्द गरेको थियो। करिब दुई दशकदेखि बन्द रहेको उक्त कारखानालाई पुन: सञ्चालनमा ल्याउने उद्देश्यले नेपाल सरकारले २०७९ भदौ ३१ गते राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय गरेको थियो। तत्पश्चात् आविष्कार केन्द्र र अर्थ मन्त्रालयबीच २०७९ असोज ११ गते सम्झौता भएको थियो। उक्त सम्झौतापत्रमा कारखानाको मर्मतसम्भार लगायतका कामका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले आविष्कार केन्द्रलाई उपलब्ध गराउनुपर्ने उल्लेख थियो।
कारखाना पुनः सञ्चालनका लागि विकल्प सुझाउन कृषि मन्त्रालयले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनमा कारखानाको मर्मतसम्भार र पुनः सञ्चालनका लागि ३० करोड रुपैयाँ आवश्यक पर्ने उल्लेख थियो। तर अर्थ मन्त्रालयले आवश्यक बजेट उपलब्ध गराउनमा अपेक्षित चासो नदेखाएपछि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले आवश्यक रकम जुटाउनका लागि आफ्नो आत्मकथा लेखिएको पुस्तक बेच्ने देशव्यापी अभियान २०८० पुसदेखि थाल्नुभएको थियो। त्यसयता उहाँले निरन्तर देशका विभिन्न स्थानमा पुगेर पुस्तक बिक्री गर्दै आउनुभएको छ। आविष्कार केन्द्रले कारखानाका पुराना उपकरण र मेसिनहरू मर्मतसम्भार गरी हालसम्म करिब ५ दर्जन प्रकारका कृषि औजारहरू उत्पादन तथा बिक्री वितरण गरिरहेको छ, जसले देशको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
