प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमण नेपाल–भारत सम्बन्धमा थप आयाम थप्दै विभिन्न ६ वटा महत्त्वपूर्ण परियोजनाको शिलान्यास एवं हस्तान्तरणसँगै सम्पन्न भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्ता पश्चात आयोजित संयुक्त पत्रकार सम्मेलनमा ऊर्जा, पूर्वाधार तथा सीमापार कनेक्टिभिटीका क्षेत्रमा महत्वपूर्ण मानिएका यी आयोजनाहरूको औपचारिक रुपमा उद्घाटन तथा हस्तान्तरण गरिएको थियो । यस भ्रमणले दुई देशबीचको सहकार्य र विकास साझेदारीलाई थप सुदृढ गरेको सन्देश दिएको छ ।
भ्रमणको प्रमुख उपलब्धिमध्ये ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास प्रमुख रह्यो । नेपालको ऊर्जा क्षेत्रको विकासमा रणनीतिक महत्व राख्ने यो आयोजना दुई देशबीचको ऊर्जा सहकार्यको महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने यो आयोजना नेपाल र भारतको संयुक्त लगानीमा बन्ने छ । यसको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । आयोजना निर्माणका लागि लगानी बोर्ड नेपाल र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच १८ जेठ २०८० मा परियोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर भएको थियो । यो आयोजनाले नेपालको आर्थिक विकास र रोजगारी सिर्जनामा ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
जलविद्युत्का अतिरिक्त, व्यापार सहजीकरणका लागि बनवासा सुक्खा बन्दरगाहको समेत संयुक्त शिलान्यास गरिएको छ । यस सुक्खा बन्दरगाहले दुई देशबीचको व्यापारिक गतिविधि बढाउनुका साथै मालसामान ढुवानीमा लाग्ने समय र लागत घटाउने विश्वास गरिएको छ । ऊर्जा सुरक्षाका लागि अर्को महत्वपूर्ण कदमका रुपमा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र झापामा नयाँ टर्मिनलको समेत शिलान्यास गरिएको छ । यस परियोजनाले नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सुरक्षित र सहज बनाउनेछ । यसअघि सञ्चालनमा आएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पनि दुई प्रधानमन्त्रीद्वारा औपचारिक रुपमा हस्तान्तरण गरियो, जसले नेपालको इन्धन आपूर्तिमा ठूलो सहयोग पुर्याउँदै आएको छ ।
सीमापार कनेक्टिभिटीलाई थप सुदृढ पार्नका लागि धार्चुला–दार्चुला पक्की पुलको पनि संयुक्त उद्घाटन गरिएको छ । यस पुलले सीमा क्षेत्रका नागरिकहरूको आवागमनलाई सहज बनाउनुका साथै व्यापारिक आदानप्रदानमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ । यी सबै पूर्वाधार परियोजनाहरूले नेपालको आर्थिक विकासमा प्रत्यक्ष योगदान पुर्याउनुका साथै भारतसँगको सम्बन्धलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ ।
यस भ्रमणका क्रममा सांस्कृतिक एवं धार्मिक पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले भारतको अयोध्या र नेपालको जनकपुर जोड्ने ‘सरयु-कमला एक्सप्रेस’ रेल सेवाको पनि उद्घाटन गरिएको छ । यो रेल सेवा रामायण सर्किट परियोजना अन्तर्गत कार्यान्वयन गरिएको एक महत्वपूर्ण पहल हो । अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय रेलका उच्च पदाधिकारीहरूले जनकपुर जाने रेललाई बिदाइ गरेका थिए । यससँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहरहरू प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन्, जसले दुवै देशका तीर्थयात्री तथा पर्यटकहरूलाई ठूलो सुविधा पुर्याउनेछ ।
भारतीय रेलवे विभागले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न यसअघि नै स्वीकृति दिइसकेको थियो । करिब ६ सय ४ किलोमिटर दुरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ । भारतीय रेलवे विभागका अनुसार, यो रेल सातामा एक पटक दुईतर्फी रूपमा सञ्चालन हुनेछ । रेलवे बोर्डको तालिका अनुसार प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ । त्यसैगरी, प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट (रेल नं. १५५९६) छुटेर जनकपुरधाम आउनेछ । ६ सय ४ किलोमिटर लामो यस रुटमा रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेसनहरूमा रोकिनेछ, जसले यात्रुहरूलाई विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा पुग्न थप सहज बनाउनेछ ।
