काठमाडौँ, कात्तिक १३ गते । नेपाल प्रहरीले देशका विभिन्न भूभागमा चलाएको विशेष अभियानका क्रममा पछिल्लो २४ घण्टाभित्र लागुऔषध, चिकित्सकको सिफारिसमा मात्र प्रयोग गरिने नियन्त्रित औषधि तथा हतियारसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, सिन्धुली, मोरङ, चितवन, धनकुटा, ललितपुर, झापा, तनहुँ, बाँके, कञ्चनपुर, सुर्खेत, सुनसरी, बर्दिया र भक्तपुर गरी १३ जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
यस अभियानका क्रममा मोरङको रतुवामाई नगरपालिका–६ बाट ठूलो परिमाणमा लागुऔषध र हतियार बरामद भएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका भारत अररियाका कुमार बोसाक, पुरनकुमार बोसाक र मोरङ रतुवामाईका योगेन्द्र ठाकुरलाई ५०० ग्राम खैरो हेरोइन, एक थान पेस्तोल र एक राउन्ड गोलीसहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिने क्रममा दीपक कुमारले प्रहरीमाथि गोली प्रहार गर्ने प्रयास गरेपछि जवाफी फायर गरिएको थियो। त्यसक्रममा दीपककुमार र पुरनकुमार घाइते भएका छन्, जसको रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार भइरहेको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मूलकोटबाट १०० ग्राम खैरो हेरोइनसहित रूपन्देहीका प्रकाश थापा र सप्तरीका निराजन चौधरी पक्राउ परेका छन्। मोरङकै रतुवामाई नगरपालिका–१० बाट ६६ ट्याब्लेट ट्रामाडोल र ८६ ट्याब्लेट स्पास्पेनसहित झापा दमकका सुमन सुवेदीलाई नियन्त्रणमा लिइएको छ। चितवनको भरतपुर महानगरपालिका–४ बाट ६०३ ट्याब्लेट ऐनारगन र सोही संख्यामा ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन्, जसमध्ये एक भरतपुरका अस्मिन कुइँकेल रहेका छन्। ललितपुर महानगरपालिका–६ लगनखेलबाट ७०५ ग्राम गाँजासहित दुई भारतीय नागरिक गौतमकुमार र आलोक जैसवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बाट ३०० एम्पुल डाइजिपाम, ३०० एम्पुल बुप्रेनोर्फिन र ३०० एम्पुल फेनारगनसहित कास्कीका उज्वल विक पक्राउ परेका छन्, उनी सवार गण्डकी एएबि ३२२८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ।
यसैगरी, मोरङको मिक्लाजुङ गाउँपालिका–९ बाट ५४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित झापाका सन्तोष सार्की र कुशल दाहाल पक्राउ परेका छन्। भरतपुर महानगरपालिका–१५ बाट २ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन, ३१ ट्याब्लेट ट्रामाडोल र एक थान डिजिटल तराजुसहित नवीन गुरुङ र अमृत गुरुङलाई नियन्त्रणमा लिइएको छ। धनकुटा नगरपालिका–१ बाट २ ग्राम खैरो हेरोइनसहित पाख्रिबासका सुरज तामाङ र धनकुटाका शिशिर बस्नेत पक्राउ परेका छन्। झापाको कनकाई नगरपालिका–४ बाट ७७० मिलिग्राम ब्राउनसुगरसहित सञ्जय चौधरीलाई नियन्त्रणमा लिइएको छ। बाँकेको बैजनाथ गाउँपालिका–५ बाट ५३० मिलिग्राम ब्राउनसुगरसहित मक्सुद अहमद इद्रिसी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बाट ४९० मिलिग्राम खैरो हेरोइनसहित चार जना, र कञ्चनपुरकै लालझाडी गाउँपालिका–१ बाट २ ग्राम ७५० मिलिग्राम खैरो हेरोइनसहित २२ वर्षीय मनिष राना, २२ वर्षीय श्रवण राना र २४ वर्षीय रोहित रानालाई नियन्त्रणमा लिइएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बाट ७५० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। सुनसरीको इटहरी उपमहानगरपालिका–२ बाट १ ग्राम ५१० मिलिग्राम ब्राउनसुगरसहित किशोर लिम्बूलाई उनको घरबाटै पक्राउ गरिएको छ। बर्दियाको गुलरिया नगरपालिका–११ बाट २०० मिलिग्राम ब्राउनसुगरसहित बाँकेका गोविन्द डाँगी, र भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ बाट २०० ग्राम पोलेनसहित रामेछापका उमेश दियाली पक्राउ परेका छन्। दियालीले प्रयोग गरेको प्रदेश ३–०२–००५ प ५०९६ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
प्रहरीले पक्राउ परेका सबै व्यक्तिमाथि आवश्यक अनुसन्धान गरिरहेको र लागुऔषध नियन्त्रण तथा गैरकानुनी हतियार ओसारपसारविरुद्धको अभियानलाई थप तीव्रता दिने जनाएको छ।
