नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र व्यापक एकता कायम भएको र बाँकी रहेका सबै पक्षलाई पनि एकताबद्ध गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले कांग्रेसलाई जनमुखी रूपमा रूपान्तरण गर्दै जनतामाझ त्यसको अनुभूति दिलाउने स्पष्ट पार्नुभयो । उहाँले देशको समृद्धि हासिल गर्न सबै पक्षसँग सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज (८ कात्तिक) आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ बनाउने कार्यलाई उच्च प्राथमिकता दिइने बताउनुभयो । उहाँले विचार वा बाटो फरक भए पनि कांग्रेसजनको गन्तव्य एउटै रहेको उल्लेख गर्दै विगतका असमझदारीहरूलाई पन्छाएर एकताबद्ध भई अगाडि बढ्नुको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो । पौडेलले भने, ‘कांग्रेससँग असन्तुष्ट रहेका वा रिसाएका जनतालाई फेरि आकर्षित गर्नका लागि पार्टीले आवश्यक योजना तथा नीतिहरू ल्याउनेछ । यसका लागि संगठन सुदृढीकरण र जनताको आवाज सुन्नु अपरिहार्य छ ।’
महामन्त्री पौडेलले पार्टीभित्र एकताको प्रयास निरन्तर जारी रहने भए तापनि कुनै एउटै विषयमा अल्झिएर भविष्यको कार्यदिशा ओझेलमा पार्न नहुनेमा जोड दिनुभयो । उहाँका अनुसार नेपाली कांग्रेसलाई थप सुदृढ, गतिशील र जनताप्रति पूर्ण रूपमा उत्तरदायी बनाउनु आजको आवश्यकता हो । पार्टीलाई जनमुखी बनाउन र रुपान्तरणको ठोस अनुभूति दिलाउन नीतिगत सुधार, आन्तरिक लोकतन्त्रको सुदृढीकरण तथा जनसरोकारका विषयमा स्पष्ट अडान लिई अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
वर्तमान सरकारको स्थायित्वका सम्बन्धमा बोल्दै महामन्त्री पौडेलले यो सरकार पाँच वर्षसम्म चल्नुपर्ने स्पष्ट धारणा राख्नुभयो । देशमा राजनीतिक स्थायित्व कायम गर्नु आर्थिक विकास र सुशासनका लागि अपरिहार्य रहेको भन्दै उहाँले नेपाली कांग्रेस वर्तमान गठबन्धन सरकारको स्थायित्वको पक्षमा रहेको बताउनुभयो । उहाँले देशको समृद्धिका लागि स्थिर सरकार आवश्यक रहेकोमा जोड दिनुभयो ।
यद्यपि, सरकारको सहयोगी साझेदारका रूपमा रहे पनि कांग्रेसले गलत कार्य गर्ने छुट कसैलाई पनि नदिने चेतावनी दिनुभयो । ‘यदि सरकारले जनहित विपरीतका काम गरे वा गलत नीतिहरू अवलम्बन गरेमा नेपाली कांग्रेसले निरन्तर खबरदारी गर्नेछ,’ महामन्त्री पौडेलले भन्नुभयो, ‘जनताको हकहित र लोकतन्त्रको मूल्य मान्यताको रक्षाका लागि कांग्रेस सधैँ सजग र सक्रिय रहनेछ ।’ उहाँले सरकारलाई सकारात्मक दिशामा डोर्याउन र जनअपेक्षा अनुसार काम गर्नका लागि रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
