कात्तिक ६, २०८३ शुक्रबार १६:९:५२
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता सुदेश पराजुलीले वर्तमान सरकारको कार्यशैलीमा गम्भीर प्रश्नचिन्ह खडा गर्दै सडकबाटै सशक्त खबरदारी गर्ने चेतावनी दिएका छन्। उनले सरकारको अपरिपक्वता, विवादास्पद नीतिगत निर्णयहरू र जनहित विपरीतका कदमहरूले देशलाई गम्भीर संकटतर्फ धकेलिरहेको आरोप लगाए।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पराजुलीले सरकारले नागरिकका आधारभूत अधिकारहरूको निरन्तर कटौती गरिरहेको र जनताको आवाजलाई पूर्णतः बेवास्ता गरेको दाबी गरे। उनले सरकार जनसरोकारका विषयमा गम्भीर नभएको र जनमुखी शासन सञ्चालनमा पूर्णतः असफल भएको टिप्पणी गरे।
अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा समेत सरकारको नीति अस्पष्ट र अदूरदर्शी रहेको पराजुलीको भनाइ छ। उनले दुई ठूला छिमेकी मुलुक भारत र चीनसँगको नेपालको परम्परागत तथा सन्तुलित सम्बन्धमा वर्तमान सरकारले खलल पुर्याएको आरोप लगाए। यो अवस्थाले नेपालको भूराजनीतिक संवेदनशीलतालाई थप जटिल बनाउने र राष्ट्रिय हितमा प्रतिकूल असर पार्ने उनको चिन्ता थियो।
नेता पराजुलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितको गठबन्धन सरकारलाई विशेष रूपमा लक्षित गर्दै चुनावी अभियानका क्रममा रास्वपाले जनतासमक्ष गरेका आकर्षक वाचाहरू केवल भाषणमा मात्र सीमित भएको र व्यवहारमा ती सबै प्रतिवद्धताहरू भुल्दै गएको टिप्पणी गरे। उनले जनताले परिवर्तनको अपेक्षासहित दिएको मतको अवमूल्यन भएको बताए।
सरकारको ‘केटाकेटीपन’ र ‘अपरिपक्व’ कार्यशैलीले देशको शासन सञ्चालन हुन नसक्ने भन्दै पराजुलीले सरकारलाई आफ्ना गल्तीहरू तत्काल सुधार्न र जिम्मेवार भएर काम गर्न सुझाव दिए। यदि सरकारले आफ्ना कार्यशैलीमा सुधार नगरे नेकपा चुप लागेर नबस्ने उनको चेतावनी थियो।
नेकपाले अब देशव्यापी रूपमा ‘जागरण अभियान’ सुरु गर्ने घोषणा गर्दै नेता पराजुलीले यस अभियानमार्फत सरकारका गलत कदमहरू, जनविरोधी नीतिहरू र देशको वर्तमान अवस्थाबारे आम जनतालाई सुसूचित गरिने जानकारी दिए। उनले जनतालाई संगठित गरी सरकारविरुद्ध जनदबाव सिर्जना गरिने बताए।
पराजुलीले सरकारलाई सचेत गराउँदै भने, “यदि सरकारले जनताको आवाज सुन्न इन्कार गर्छ र आफ्नो कार्यशैलीमा सुधार गर्दैन भने, हामी सडकबाटै सशक्त खबरदारी गर्न बाध्य हुनेछौं। जनताका अधिकारको रक्षाका लागि नेकपा सधैं अग्रपंक्तिमा रहनेछ।” यस अभियानले देशको राजनीतिक परिदृश्यमा नयाँ तरङ्ग ल्याउने र सरकारलाई आफ्ना त्रुटिहरू सच्याउन बाध्य पार्ने नेकपाको विश्वास छ।
