ग्रामीण परिवेशमा आधारित चलचित्र ‘पेन्सन पट्टा’ले विशेषगरी गुरुङ समुदायको ग्रामीण आर्थिक जीवन, संस्कृति, रहनसहन, सामाजिक संरचना तथा वैदेशिक रोजगारीप्रतिको झुकावलाई सशक्त ढंगले प्रस्तुत गरेको छ। यो चलचित्र भूपू गोर्खा परिवारमा पेन्सनपट्टासँग जोडिएका आर्थिक, कानुनी, प्राविधिक र सामाजिक जटिलताहरूको मार्मिक चित्रण हो।
चलचित्रको मूल केन्द्रविन्दु नै पेन्सनपट्टासँग जोडिएको आर्थिक जीवन हो। नियमित आम्दानीको अन्य स्रोत नभएको परिवारमा पेन्सनको महत्त्व स्पष्ट पारिएको छ। बुवा गंगाबहादुरको निधनपछि आमा छलिमायाको नाममा पेन्सन नामसारी गर्न राजन (दयाहाङ राई)ले गरेको सङ्घर्षले यसको जटिलता देखाउँछ। पल्टनमा परिवारका सदस्यको नाम एउटा र सरकारी कागजपत्रमा अर्को नाम भएको कारणले पेन्सन नामसारीमा भोग्नुपर्ने दुःखलाई चलचित्रले मार्मिक रूपमा देखाएको छ। अर्कैको नागरिकतामा भर्ती भएको, एउटै व्यक्तिको एकभन्दा बढी नाम भएको तथा नियम–कानुनमा आएको परिवर्तनले अवकाशमा समस्या पर्ने यथार्थलाई चलचित्रले उजागर गरेको छ।
चलचित्रले भेडीखर्कमा भेडा चराएर जीवन धानिरहेका गाउँलेहरूको गुजारामुखी आर्थिक जीवनलाई समेट्छ। त्यसैगरी, हङकङको आईडीप्रतिको मोह र त्यसले निम्त्याएका विकृतिहरूलाई रोचक ढंगले देखाइएको छ, जसमा आईडी पाउन नक्कली विवाह गर्ने, बुवाले छोराको (विल्सन विक्रम राई) आईडी नै बेचिदिने जस्ता घटनाहरू पर्छन्। जनजाति समुदायभित्र देखिएको आईडीसम्बन्धी विकृतिलाई चलचित्रले सशक्त रूपमा उठाएको छ। गुरुङ समुदायभित्रको बाल्यकालीन धागो बाँध्ने परम्पराविरुद्ध माला (गौमाया गुरुङ)ले राजनसँग भागेर गरेको साहसी निर्णयले सांस्कृतिक विद्रोहलाई जनाउँछ, जसले वैवाहिक निर्णयमा व्यक्तिको स्वतन्त्रताको महत्त्व दर्शाउँछ।
गाउँका पारिवारिक समस्याहरू अड्डा–अदालतमा नपुगी भलाद्मीहरू जुटेर सामूहिक छलफलमार्फत समाधान गर्ने परम्परालाई पनि चलचित्रले राम्रोसँग प्रस्तुत गरेको छ। यसमा दुई पुस्ताको प्रेमलाई फरक ढंगले देखाइएको छ: बाबुको पुस्ताको प्रेम सामाजिक बन्धनमा बाँधिएको, जबकि छोरा पुस्ताको प्रेममा मालाले परम्परा तोडेर आफ्नै निर्णय लिन्छिन्। रोधी बस्ने र सोल्टीनीले पछ्यौरीले बाटो छेक्ने जस्ता सांस्कृतिक पक्षलाई पनि नवीन शैलीमा प्रस्तुत गरिएको छ। कथाले स्थानीय राजनीतिलाई पनि छुँदै, हङकङवाला लाहुरेले मालाका बुवालाई वडाध्यक्षमा उठ्न आर्थिक सहयोग दिई मालासँग विवाह गर्न पाउने शर्त राखेको दृश्यले सामान्य वडाको राजनीतिमा समेत आर्थिक स्वार्थको पाटो देखाउँछ।
लोकलयमा आधारित चलचित्रको सङ्गीत पक्ष सबल छ, यद्यपि प्राविधिक सम्पादनमा केही कमजोरी महसुस हुन्छ। हिमाल, पहाड, खोलानाला र ताङतिङ तथा सिक्लेसका सुन्दर गुरुङ बस्ती चलचित्रका थप बलिया पक्ष हुन्। यसको सबैभन्दा बलियो पक्ष कथा र निर्देशक माओत्से गुरुङको प्रस्तुति हो। कथाअनुसारका पात्र, उनीहरूको जीवन्त अभिनय र सङ्गीत संयोजनले दर्शकलाई करिब सवा दुई घण्टासम्म बाँधेर राख्न सक्छ। समग्रमा, ‘पेन्सन पट्टा’ले भूपू गोर्खा पेन्सनरहरूको जीवन र भोगाइलाई प्रतिनिधित्व गर्दै कानुनी अज्ञानताले निम्त्याउने दुःखलाई समेत उजागर गरेको छ। सामान्य विषयलाई पनि कलात्मक ढंगले पृथक रूपमा प्रस्तुत गरेर दर्शकको ध्यान आकर्षित गर्न सकिन्छ भन्ने यसले प्रमाणित गरेको छ।
