ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन २० गते। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३, डाँडागाउँस्थित अमरज्योती मावि मतदानस्थल नजिकै आज बिहान ठूलो आगलागी भएको छ। मतदान केन्द्र रहेको विद्यालय भवनको ठीक पछाडिको भिरमा फैलिएको यो आगलागीका कारण निर्वाचन प्रक्रियामा अवरोध आउन सक्ने र मतदानस्थल जोखिममा पर्ने चिन्ता व्यक्त गरिएको छ।
मतदान अधिकृत सम्झना केसीले दिएको जानकारीअनुसार बिहान करिब साढे नौ बजेदेखि सुरु भएको आगलागी तीव्र गतिमा फैलिएको छ। सुक्खा मौसम र हावाका कारण आगो नियन्त्रणबाहिर जाने अवस्थामा पुगेको उहाँले बताउनुभयो। निर्वाचनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा स्थानीयवासीको टोली आगो नियन्त्रणका लागि खटिएको भए पनि साँझसम्म पनि आगलागी पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। भिरको असहज भूबनोटका कारण दमकल पुग्न नसक्दा आगो निभाउन थप कठिनाइ भइरहेको छ।
मतदान अधिकृत केसीले भन्नुभयो, “मतदान केन्द्रको ठीक पछाडिको भिरमा ठूलो आगलागी भएको छ। आगोको लप्का र धुवाँले मतदान केन्द्रलाई प्रत्यक्ष रूपमा असर गर्न सक्ने देखिएपछि हामीले विशेष सतर्कता अपनाएका छौं।” उहाँका अनुसार, सम्भावित क्षतिबाट बच्नका लागि निर्वाचन सामग्रीहरू तत्काल सुरक्षित स्थानमा सारिएको छ। मतदान कार्यलाई निरन्तरता दिन र मतदाता तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै कर्मचारीहरू अहिले खुल्ला चौरमा बसेर अवस्थाको आकलन गरिरहेका छन्।
आगलागीले मतदानस्थल जोखिममा पारेको र निर्वाचन सामग्रीहरूमा क्षति पुग्न सक्ने खतरा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई तत्काल जानकारी गराइएको छ। मतदान अधिकृत केसीले थप्नुभयो, “हामीले जिल्लाका सम्बन्धित निकायहरूलाई आगलागीको अवस्था र यसले निर्वाचन प्रक्रियामा पार्न सक्ने असरबारे जानकारी गराइसकेका छौं। उहाँहरूबाट तत्काल सहयोग र थप सुरक्षाको अपेक्षा गरेका छौं।”
यस आगलागीले फागुन २० गतेको उपनिर्वाचनको वातारणमा समेत असहजता सिर्जना गरेको छ। सुक्खायाममा जंगलमा लाग्ने आगोको जोखिम उच्च रहने भए पनि मतदान केन्द्र नजिकै यस्तो घटना हुनुलाई संवेदनशील रूपमा लिइएको छ। आगलागीका कारण मतदाताहरूमा त्रास फैलिएको र मतदानमा सहभागिता घट्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ। स्थानीय प्रशासनले आगलागी नियन्त्रणका लागि थप जनशक्ति परिचालन गर्न र सुरक्षित मतदानको वातावरण सुनिश्चित गर्न पहल गरिरहेको बुझिएको छ।
मलिका गाउँपालिकाका अध्यक्षले पनि घटनाको जानकारी पाउने बित्तिकै समन्वयका लागि आवश्यक पहल गरिरहेको बताउनुभयो। उहाँका अनुसार, भिरमा लागेको आगोलाई परम्परागत विधिबाट निभाउन कठिन हुने भएकाले थप स्रोतसाधनको आवश्यकता रहेको छ। निर्वाचन आयोगले शान्तिपूर्ण र सुरक्षित वातावरणमा मतदान सम्पन्न गर्न गराउन सबै सरोकारवाला निकायलाई निर्देशन दिइरहेका बेला म्याग्दीमा भएको यो घटनाले निर्वाचन व्यवस्थापनमा थप चुनौती थपेको छ। अबको केही घण्टाभित्र आगलागी नियन्त्रणमा आउन नसके मतदान प्रक्रियामा गम्भीर अवरोध सिर्जना हुन सक्ने अनुमान गरिएको छ।
