दोलखा जिल्ला सरकारी वकिलको कार्यालयकी जिल्ला न्यायाधिवक्ता राधिका सुवाललाई भक्तपुर–२ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको रूपमा खटाइएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारीमा रहेकी सुवालले एक उदाहरणीय पहल गरेकी छन्। उनले मध्यपुर थिमी नगरपालिका वडा नं ९ स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको एक मतदान स्थलअन्तर्गतका चारवटै मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगी र स्वयंसेवकसम्मका सबै कर्मचारी महिला चयन गरेकी छिन्। यो कदम निर्वाचन व्यवस्थापनमा महिला सशक्तिकरणको एक महत्वपूर्ण उदाहरण बनेको छ।
कुल ९८ हजार ३२६ मतदाता रहेको भक्तपुर क्षेत्र नम्बर २ मा ३९ वटा मतदान स्थल र ११४ वटा मतदान केन्द्र तोकिएका छन्। निर्वाचन अधिकृत सुवालका अनुसार, उक्त नमुना मतदान स्थलमा सुरक्षाकर्मीको व्यवस्थापनमा पनि महिलालाई नै प्राथमिकता दिइएको छ। जनपथ प्रहरीबाट छुट्याइएको २६ जनाको टोलीमा सबै महिला प्रहरी समावेश छन्, जसको नेतृत्व सब इन्स्पेक्टर भवानी केसीले गर्नेछिन्। सशस्त्र प्रहरीको टोलीको नेतृत्व पनि महिला कमान्डरले नै गर्ने सुवालले जानकारी दिइन्।

आफ्नो यस विशेष पहलका बारेमा बोल्दै निर्वाचन अधिकृत सुवालले भनिन्, “मैले एउटा मतदान स्थलअन्तर्गतका सम्पूर्ण मतदान केन्द्रहरूलाई नै महिलामय बनाउन खोजेकी हुँ। हरेक केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीको भूमिकामा समेत महिला नै खटिएका छन्। यो एउटा नमुना निर्वाचन स्थल बन्नेछ।” यसले निर्वाचन प्रक्रियामा महिलाको सक्रिय सहभागिता र नेतृत्व क्षमतालाई उजागर गर्ने उनको धारणा छ।
उक्त नमुना मतदान स्थलका चारवटै केन्द्रमा महिलाले नै नेतृत्व गरिरहेका छन्: ‘क’ केन्द्रमा शिक्षक सेवा आयोगकी उपसचिव तारा पाण्डे तिवारी, ‘ख’ केन्द्रमा भक्तपुर जिल्ला अदालतकी शाखा अधिकृत सङ्गीता शेर्पा, ‘ग’ केन्द्रमा शैक्षिक गुणस्तर प्रशिक्षण केन्द्रकी शाखा अधिकृत निशा वली र ‘घ’ केन्द्रमा राष्ट्रिय कला सङ्ग्रहालयकी शाखा अधिकृत यमुना महर्जन। सुवालका अनुसार यी मतदान अधिकृतहरू नियमित सम्पर्कमा छन् र उनीहरूले निष्पक्ष रूपमा सर्वदलीय बैठकसमेत सम्पन्न गरिसकेका छन्। हालसम्म उनीहरूको कार्यसम्पादनबारे कुनै गुनासो नआएको उनको भनाइ छ।
निर्वाचन अधिकृत सुवालले यस अभ्यासले महिलाहरूलाई आफ्नो क्षमता अभिवृद्धिमा बलियो टेवा पुग्ने विश्वास व्यक्त गरिन्। निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुन पनि विगतका निर्वाचनहरूमा यस्तै अभ्यासहरू भएको बताउँछिन्। उनका अनुसार, विगतको ‘जटिल’ स्थानीय निर्वाचनमा पनि कतिपय स्थानमा महिला कर्मचारीहरूले आफ्नो होसियारी र क्षमताको उत्कृष्ट प्रदर्शन गरिसकेका छन्। फागुन २१ मा हुने यस निर्वाचनका लागि पनि कतिपय मतदान स्थल वा केन्द्रहरूको व्यवस्थापन र सञ्चालनको बागडोर महिलाले नै सम्हालेको जानकारी आयोगलाई प्राप्त भएको उनले उल्लेख गरिन्।
निर्वाचन अधिकृत सुवाल महिलाहरूको क्षमतामाथि गरिने शङ्काको परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिन्छिन्। उनले यस्तो संवेदनशील कार्यका लागि महिलाहरूलाई विश्वास गरेको बताउँदै विगतका निर्वाचनहरूबाट महिलाहरूले जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सक्छन् भन्ने प्रमाणित भइसकेको आफ्नो ठम्याइ व्यक्त गरिन्। भक्तपुर क्षेत्र नम्बर २ मा कुल ११४ मतदान केन्द्रमध्ये ४० वटा केन्द्रमा महिला मतदान अधिकृत छन् भने सहायक मतदान अधिकृतको सङ्ख्या ६४ रहेको उनले थप जानकारी दिइन्।
