तस्बिर स्रोत, Bijay Gajmer
परराष्ट्र मन्त्री बालानन्द शर्मा।
नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व र खाडी देशहरूमा बढ्दो युद्धको जोखिमका कारण ठूलो सङ्ख्यामा रहेका नेपालीहरूको उद्धार गर्नुपर्ने परिस्थिति आएमा समुद्री मार्गबाट घर फर्काउने विकल्पमा समेत विचार गरी पूर्व तयारी भइरहेको बीबीसीलाई बताएका छन्। यद्यपि, हाल खाडी देशमा रहेका नेपाली कामदारहरूलाई “तत्कालै उद्धार गरिहाल्नुपर्ने अवस्था नदेखेको” उनको विश्लेषण छ।
परराष्ट्रमन्त्री शर्माका अनुसार, खाडीका मुलुकहरूमा रहेका नेपालीहरूलाई ओमानसम्म ल्याउने र त्यहाँबाट जलमार्ग हुँदै भारत तथा त्यसपछि स्वदेशसम्मको यात्राको मार्गबारे गम्भीरतापूर्वक विचार गरिएको छ। उनले ती देशहरूमा झन्डै २० लाख नेपाली वैध ढङ्गले कार्यरत रहेको जानकारी दिँदै परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समन्वयात्मक रूपमा उद्धार योजना बनाइरहेको स्पष्ट पारे।
दक्षिण एसियाका भारतसहित अन्य देशका श्रमिकहरू पनि ठूलो सङ्ख्यामा खाडी र मध्यपूर्वका देशमा रहेकाले आवश्यक पर्दा संयुक्त ढङ्गले उद्धार अभियान सुरु गर्नसकिने सम्भावनातर्फ पनि कूटनीतिक माध्यमबाट छलफल भएको मन्त्री शर्माले जनाए। उनले युद्ध चर्कँदै गर्दा पनि कतिपय देशहरूका विमानस्थल सञ्चालनमा रहेको उल्लेख गर्दै आवश्यक पर्दा तिनलाई पनि प्रयोग गर्न सकिने बताए।

तस्बिर स्रोत, Getty Images
यूएई सरकारले आफ्ना नागरिक, आफ्नो देशमा बसोबास गर्ने अन्य व्यक्ति र आगन्तुकहरूको सुरक्षालाई उच्च प्राथमिकता राखिएको बताएको छ।
सप्ताहान्तमा अमेरिका र इजरेलले इरानमाथि आक्रमण गरेपछि तेहरानले खाडी क्षेत्रमा विशेष गरी अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाउँदै प्रत्याक्रमण जारी राखेको छ। ती हमलामा अहिलेसम्म कम्तीमा एक जना नेपाली मारिएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। मन्त्री शर्माले खाडी र मध्यपूर्वका सबै देशका राजदूतावासहरूलाई त्यहाँ रहेका नेपाली समुदायसँग सम्पर्कमा रहन निर्देशन दिइएको उल्लेख गर्दै ‘समन्वयात्मक ढङ्गले उद्धार योजना’ बनाउन खोजेको बताए।
उनी भन्छन्, “युद्धग्रस्त क्षेत्रबाटै (नेपालीलाई) ल्याउन सायद गाह्रो होला। धेरै मुलुक भएपनि भौगोलिक क्षेत्रफल हेर्दा लामो दुरी होइन। अहिले पनि साउदी अरेबिया र ओमानको विमानस्थल खुला छन्। बहरेन, कुवेत, संयुक्त अरब इमिरेट्स, कतार जहाँबाट पनि यी ठाउँमा चार घण्टामा पुग्न सकिन्छ। आन्तरिक बाटोहरू सुचारु छन्। आवश्यक पर्यो भने हामीहरू आन्तरिक बाटोबाट सम्बन्धित व्यक्तिहरूलाई ओसारेर यी विमानस्थलहरूमा लिएर आएर नियमित उडानहरूबाट पनि ल्याउने हाम्रो योजना छ।”
तर, ठूलो सङ्ख्यामा दक्षिण एसियाली श्रमिकहरू ती देशमा रहेको उल्लेख गर्दै उनी भन्छन्, “हामीले एक्लै उद्धार गर्ने योजना बनाउने कि सामूहिक ढङ्गले उद्धार गर्ने भन्नेबारेमा पनि हाम्रो छलफलहरू भइरहेको छ। (भारतसँग) पनि प्रारम्भिक छलफलहरू हामीले गरिसक्यौँ। उहाँहरूको ठूलो सङ्ख्यामा छ। हवाईभन्दा पनि सायद पानीजहाज पो पठाउने हो कि भन्ने कुराहरू भइरहेको छ। हामी सबै जना योजनाकै चरणमा छौँ।”
आबुधाबीमा इरानी ड्रोन आक्रमणमा परी मृत्यु हुने नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले यसअघि बताएका थिए। २९ वर्षका श्रेष्ठको शवलाई यूएईको सरकारले सुरक्षित राखेको उल्लेख गर्दै परराष्ट्र मन्त्री शर्माले भने, “हाम्रो राजदूतावासलाई पूर्ण रूपमा ज्ञान छ र यस सम्बन्धमा परिवारको नजिकका व्यक्तिहरूले मसँग सम्पर्क गर्नुभएको थियो, मैले आफूसँग भएको जानकारी दिएको छु। अहिले सबैतिर उडान बन्द भएकाले उहाँको (शवलाई) ल्याउन सम्भव छैन। परिस्थिति हेरेर हामी शव ल्याउने प्रक्रिया थाल्छौँ।”

तस्बिर स्रोत, Reuters
इरानी जवाफी आक्रमणको निशानामा यूएईको बन्दरगाहमा पनि परेको छ।
चार्टर उडानहरू गर्नका लागि नेपालको आफ्नै ध्वजावाहक वायुसेवा भएपनि समुद्रबाट मानवीय उद्धारहरू गर्दा उसले अरू देशहरू वा व्यावसायिक सेवा प्रदायकहरूमा भर पर्नुपर्ने अवस्था छ। परराष्ट्र मन्त्री शर्माले नेपाली श्रमिकहरूलाई समुद्रको माध्यमबाट स्वदेश फर्काउन सम्भव रहेको उल्लेख गर्दै थपे, “पानीजहाज मस्कटसम्म जान सक्छ किनभने त्यहाँसम्म वायुसेवा पनि खुला छ। खाली स्ट्रेट अफ हर्मुज बन्द भएको हो। खाडी देशहरू र इरानबीचको जल क्षेत्रमा समस्या देखिएको हो। हिन्द महासागर खुला छ त्यहाँबाट उद्धार गरेर ल्याउन सकिन्छ।”
समुद्रमार्गबाट कामदारहरूलाई भारत र त्यहाँबाट नेपाल फर्काउनसकिने अवस्था देखेको बताएका परराष्ट्रमन्त्री शर्माले अहिले नै घर फर्कने मनस्थितिमा नेपाली कामदारहरू नरहेको र त्यस्तो सुरक्षा चुनौती पनि देखा नपरिसकेको जनाए। उनले इरानमा रहेका १० नेपालीमध्ये ६ जना त्यहाँबाट बाहिर निस्किसकेको उल्लेख गर्दै चार जना सम्बन्धित राजदूतावासमा काम गरेर बसिरहेको र उनीहरू सुरक्षित रहेको सुनाए।

तस्बिर स्रोत, Rabin Magar
मानिसहरूका मोबाइलमा सजग रहन सावधान गराउने सन्देशहरू आएका थिए।
पछिल्लो द्वन्द्व सुरु भएयता नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य रहेका खाडी तथा मध्यपूर्वका देशहरूमा उडानहरू स्थगित भएका छन् भने सरकारले ती देशहरूमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पनि बन्द गरेको छ। यसै साता परराष्ट्र मन्त्रालयले १७ लाख २९ हजार भन्दा बढी नेपालीहरू मध्यपूर्वका विभिन्न देशहरूमा बसिरहेको र काम गर्दै आएको तथ्याङ्क सार्वजनिक गरेको थियो।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूले खाडी तथा मध्यपूर्वका नेपाली कूटनीतिक नियोगहरू र नेपालमा रहेका खाडी तथा मध्यपूर्वका देशका राजदूतावासका अधिकारीहरूसँग आफूहरू नजिकबाट सम्पर्कमा रहेको उल्लेख गरेका छन्। परराष्ट्रमन्त्री शर्माले नेपाली कामदारको सुरक्षाका बारेमा विभिन्न मुलुकका राजदूतहरूसँग आफूले छलफल गरेको उल्लेख गर्दै आवश्यक परे उच्च तहमा पनि कुराकानी गर्ने योजना रहेको बताउँछन्। ती देशमा रहेका कामदारहरूको पछिल्लो अवस्थाबारे उनी भन्छन्, “आज बिहानसम्म पनि हामी सम्पर्कमा नै छौँ, फर्कन्छौँ भनेर कसैले पनि भनिसक्नु भएको छैन। धेरैको आकलन हामीलाई निशाना बनाइएको छैन भन्ने छ। यो छिट्टै साम्य हुन्छ भन्ने बुझाइ छ।”

तस्बिर स्रोत, EPA
अमेरिका र इजरेलले इरानमाथि आक्रमण गरे लगत्तै शनिबार नेपालको परराष्ट्र मन्त्रालयले एउटा ट्राभल एड्भाइजरी जारी गरेको थियो। त्यसमा दुवै देशका सरकारी निकायहरूले जारी गर्ने निर्देशनहरू पालना गर्न र आवश्यक सुरक्षा सावधानी अपनाउन भनिएको थियो। नेपालको परराष्ट्र मन्त्रालयले नेपाली समुदाय र सरकारी निकायहरूसँग सम्पर्कमा रहन भन्दै तेल अभिभ, दोहा र परराष्ट्र मन्त्रालयका केही सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ।
त्यहाँ रहेका कामदारहरूलाई सुरक्षित रहन सुझाव दिँदै मन्त्री शर्माले भने, “आफू जोगिनका लागि जुन ठाउँमा रहिरहनुभएको छ त्यही बस्नुहोस्। किनभने बाहिर जाने बित्तिकै पनि समस्या पर्नसक्छ। हाम्रो यात्रा सम्बन्धी सूचनाहरूलाई पालना गर्नुहोस् र कुनै नेपाली समस्यामा परेको छ भने तपाईँले भएपनि रिपोर्ट गरिदिनुहोस्।”
बीबीसीसँग कुरा गर्दै खाडी तथा मध्यपूर्वका कतिपय देशमा कार्यरत नेपालीहरूले डर र असुरक्षाको वातावरण रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए। दैनिक २९ सय भन्दा बढी नेपालीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीका लागि बाहिरिने गरेको अध्यागमन विभागको एउटा पछिल्लो आँकडाले देखाउँछ। त्यसमध्ये धेरै जना खाडी तथा मध्यपूर्वका देशहरूमा रोजगारीमा जाने गरेको पाइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
