जेनेभा, फागुन १९ गते । मध्यपूर्वमा जारी द्वन्द्वको तीव्र विस्तार र त्यसबाट उत्पन्न गम्भीर मानवीय सङ्कटप्रति संयुक्त राष्ट्रसङ्घले गहिरो चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै यस क्षेत्रभर फैलिएको डर, आतङ्क र अनिश्चितताले लाखौँ सर्वसाधारणको जीवनलाई असुरक्षित बनाएको र उनीहरूको दैनिक जीवनमा अभूतपूर्व चुनौतीहरू थपेको बताउनुभयो ।
जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा उच्चायुक्त टर्कका प्रवक्ता रविना शामदासानीले उच्चायुक्त यस भयावह स्थितिबाट ‘गहिरो स्तब्ध’ भएको जानकारी दिनुभयो । उहाँले मध्यपूर्व मात्र नभई विश्वका अन्य भागहरूमा समेत यस द्वन्द्वले सिर्जना गरेको मानसिक त्रास, सामाजिक अस्थिरता र आर्थिक अनिश्चितता स्पष्ट रूपमा देखिएको उल्लेख गर्नुभयो । “लाखौँ मानिसले भोगिरहेको यो डर, आतङ्क र चिन्ता पूर्णतः टार्न सकिने अवस्थाका परिणाम हुन्,” उहाँले भन्नुभयो, “यस्तो मानवीय सङ्कटको अवस्था आउन नदिन सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्ने थियो ।”
शामदासानीका अनुसार, गत शनिबार इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वको स्थिति अझ जटिल बनेको छ । यसको प्रतिक्रिया स्वरूप इरानले क्षेत्रका विभिन्न राज्यहरूविरुद्ध चालेका कदमहरू र हिजबुल्लाहको समेत द्वन्द्वमा प्रवेशले नागरिक तथा नागरिक पूर्वाधारमाथि व्यापक र विनाशकारी प्रभाव पारेको छ । उहाँले भन्नुभयो, “स्थिति प्रत्येक घण्टासँगै बिग्रँदै र फराकिलो बन्दै गएको छ, जसले हाम्रो सबैभन्दा खराब आशङ्कालाई सतहमा ल्याइरहेको छ र क्षेत्रीय द्वन्द्वको जोखिमलाई ह्वात्तै बढाएको छ ।” यसले अस्पताल, विद्यालय, आवासीय क्षेत्र र अन्य अत्यावश्यक सेवाहरूमाथि प्रत्यक्ष असर पारेको छ, जसले गर्दा थप मानवीय क्षति र विस्थापनको जोखिम बढेको छ ।
उच्चायुक्त टर्कले युद्धसम्बन्धी अन्तर्राष्ट्रिय कानूनका आधारभूत सिद्धान्तहरूको स्मरण गराउँदै नागरिक र नागरिक वस्तुहरूलाई सुरक्षित राख्नुपर्ने दायित्व सबै पक्षको भएकोमा जोड दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय मानवीय कानून र मानवअधिकार कानूनका प्रावधानहरूको पूर्ण पालना गर्न सबै राज्य तथा सशस्त्र समूहहरूलाई दृढतापूर्वक आग्रह गर्नुभयो । उहाँले सबै पक्षलाई अधिकतम संयम अपनाउन, थप सैन्य विस्तार रोक्न र नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारहरूको संरक्षणका लागि सम्भव सबै उपायहरू अवलम्बन गर्न सशक्त आह्वान गर्नुभयो । यसमा अस्पताल, खानेपानी प्रणाली, ऊर्जा आपूर्ति र अन्य आधारभूत सेवाहरू समावेश छन्, जसको बिनाशले जनजीवन थप कष्टकर बनाउनेछ ।
बढ्दो हिंसा र प्रतिशोधको चक्रले क्षेत्रीय स्थायित्वलाई मात्र नभई, मानवीय अवस्थालाई पनि झन् भयावह र नियन्त्रणबाहिरको स्थितिमा पुर्याउने चेतावनी उहाँले दिनुभयो । शामदासानीले उच्चायुक्तको भनाइ उद्धृत गर्दै भन्नुभयो, “वार्ताको टेबलमा फर्कनु नै हत्या, विनाश र निराशाको अन्त्य गर्ने एक मात्र उपाय हो । उच्चायुक्तले सबै पक्षलाई होशमा आउन, द्वन्द्वको समाधानका लागि रचनात्मक वार्तामा संलग्न हुन र यो हिंसाको चक्र तत्काल अन्त्य गर्न आग्रह गर्नु भएको छ ।” राष्ट्रसङ्घले सबै सरोकारवालाहरूलाई कूटनीतिक समाधानका लागि तत्काल कदम चाल्न र यस क्षेत्रमा दिगो शान्ति र स्थिरता सुनिश्चित गर्न आह्वान गरेको छ ।
