तस्बिर स्रोत, Getty Images
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानको प्रत्याक्रमणसँगै मध्यपूर्वमा पाँच दिनदेखि जारी तनावले यस क्षेत्रमा रहेका लाखौँ नेपाली कामदारहरूमा चिन्ता बढाएको छ। अधिकारीहरूका अनुसार, इरानले इजरायल र खाडी राष्ट्रहरूमा रहेका अमेरिकी सैनिक अखडाहरूलाई निशाना बनाएको खबरपछि नेपाली समुदायमा त्रास फैलिएको हो।
कतार, साउदी अरब, संयुक्त अरब एमिरेट्स (यूएई), बहरेनलगायतका देशमा अवस्थित अमेरिकी सैनिक अखडाहरूमाथि इरानले आक्रमण गरिरहेको विवरणहरू प्राप्त भएका छन्। यसैबीच, मध्यपूर्वमा जारी तनावका कारण यूएईमा भएको ड्रोन आक्रमणमा परी गोरखाका एक नेपालीले ज्यान गुमाएको आधिकारिक पुष्टि भएको छ। अनुमानित २० लाख दक्ष तथा अदक्ष नेपाली कामदारहरू खाडी मुलुकहरूमा विभिन्न क्षेत्रमा कार्यरत छन्।
यूएईमा नेपालीहरूको सङ्ख्या सर्वाधिक रहेको तथ्याङ्कले देखाउँछ, जहाँ अनुमानित सात लाख नेपालीहरू कार्यरत छन्। यूएईस्थित नेपाली दूतावासले पर्यटक, भिजिट भिसामा रहेका, भिसा समाप्त भएका र तत्काल नेपाल फर्कन चाहने विद्यार्थीहरूलाई यथाशीघ्र आफ्नो विवरण उपलब्ध गराउन सूचना जारी गरेको छ। दूतावास स्रोतका अनुसार, “उहाँहरूमध्ये नेपाल फर्किन इच्छुकहरूलाई शुरूमा फिर्ता पठाउनु हाम्रो पहिलो प्राथमिकता हो।” दूतावास अधिकारीहरूले लडाइँ शुरू भएयता दैनिक दुई सयभन्दा बढी फोन कलहरू आउने गरेको जानकारी दिएका छन्। सामान्य त्रास भए पनि तत्कालै फर्कन चाहनेहरूको सङ्ख्या कम रहेको र टेलिफोनमार्फत आवश्यक सल्लाह सुझाव दिने गरिएको उनीहरूले बताए। यसअघि, नेपाल फर्कने वा तेस्रो मुलुक जाने क्रममा यूएईमा रोकिएका तथा कम्पनीको भिसा रद्द गरी असहज परिस्थितिमा परेका नेपालीहरूलाई कन्सुलर सेवा विभाग, काठमाडौँको पोर्टलमा दर्ता गर्न पनि सूचना जारी गरिएको थियो।
रियादस्थित नेपाली दूतावासका अनुसार साउदी अरबमा करिब चार लाख नेपालीहरू कार्यरत छन्। कार्यवाहक राजदूत सिर्जना अधिकारीले हालसम्म समस्यामा परेर सम्पर्क गर्ने कोही नदेखिएको बताइन्। उनले भनिन्, “के छ, कस्तो छ र भोलि उद्धार नै गर्नुपर्ने भए कसरी हुन्छ भनी सामान्य सोधखोज गरिरहनुभएको छ। समस्यामै परेको कसैले भन्नुभएको छैन।” शहरमा पसलहरू खुलेका र ट्राफिक पनि सामान्य नै देखिएको उनको भनाइ छ। दूतावास परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्कमा रहेको र मन्त्रालयको निर्देशनअनुसार अगाडि बढ्ने उनले जानकारी दिइन्।
बहरेनमा लगभग ३० हजार नेपालीहरू कार्यरत रहेको राजदूतावासका अधिकारीहरू बताउँछन्। नेपाली दूतावासका तृतीय सचिव दीपराज जोशीका अनुसार, बहरेनमा शुरूका दिनभन्दा आक्रमण कम भएको छ। “मध्यपूर्वमा अहिले देखिएको तनाव कहिलेसम्म जान्छ भन्ने चिन्ता नेपालीहरूमा छ,” उनले उल्लेख गरे। जोशीका अनुसार, एउटा हवाई अखडानजिकै रहेको नेपाली राजदूतावासबाट कर्मचारीहरूलाई अन्यत्र सारिएको छ। “मनामाको जुफेर भन्ने ठाउँमा एउटा एअरबेसनजिकै दूतावास भएर हामीलाई इभाकुएट गरिएको छ। हामीले अहिले रिमोट्ली काम गरिरहेका छौँ,” उनले थपे। मङ्गलबार दूतावासबाट सामान लिएर फर्कँदै गर्दा बाटोमा एउटा ड्रोन खसेको घटना पनि उनले सुनाए। नेपाली नियोगहरूले प्रायःजसो ह्वाट्सएप र फेसबुकमार्फत नेपाली समुदायसँग सम्पर्क कायम गर्ने गरिएको बताएका छन्।
ओमानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ करिब २५ हजार नेपालीहरू कार्यरत छन्, जसमध्ये ४०-५० प्रतिशत घरेलु कामदार हुन्। दूतावासका प्रथम सचिव विशेषकुमार साहले ओमानमा हालसम्म तनावको असर नदेखिएको र नेपालीहरू सुरक्षित रहेको बताए। “अहिलेसम्म कोही नेपाली कुनै किसिमको समस्यामा परेको हामीलाई जानकारी आएको छैन,” उनले भने। दुबईबाट केही नेपालीले मस्कट आएर नेपाल फर्कन कति सहज होला भनेर सोधखोज गरेको उनले जानकारी दिए। कतिपय खाडी देशमा उडानहरू स्थगित भइरहेका बेला ओमानमा भने आंशिक उडानहरू भइरहेको उनको भनाइ छ।
यसअघि, परराष्ट्रमन्त्री बालानन्द शर्माले युद्धको मारमा परेको मध्यपूर्व र खाडी देशहरूमा ठूलो सङ्ख्यामा रहेका नेपालीहरूको उद्धार गर्नुपर्ने अवस्था आएमा समुद्री मार्गबाट नेपाल फर्काउने विकल्पमा समेत विचार गरेर पूर्वतयारी भइरहेको जानकारी दिएका थिए। खाडीका मुलुकमा रहेका नेपालीहरूलाई ओमान पुर्याएर त्यहाँबाट जलमार्ग हुँदै भारत र त्यसपछि स्वदेशसम्मको यात्राको मार्गबारे विचार गरिएको उनले स्पष्ट पारे।
