तस्बिर स्रोत, BBC/Prakash Parki
आगामी फागुन २१ गते बिहीवार हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपालभरि स्थापित २३,००० भन्दा बढी मतदानकेन्द्रमा कम्तीमा चार दर्जन मतदान सामग्री प्रयोग हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार यी सामग्रीहरू मतदान प्रक्रियालाई सहज, निष्पक्ष र व्यवस्थित बनाउन अत्यावश्यक हुन्छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका भनाइअनुसार, कुल ५१ प्रकारका सामग्रीहरूमध्ये करिब ३७ प्रकारका सामग्री जिल्लास्तरबाटै खरिद गरिएका छन् भने बाँकी १४ प्रकारका सामग्री आयोगले केन्द्रीय कार्यालयबाट खरिद गरी सम्बन्धित जिल्लाहरूमा पठाएको छ। आयोगका अधिकारीहरूले केही सामग्रीहरू निर्वाचन सम्पन्न गर्नका लागि अनिवार्य मानिन्छन् भने केही सहयोगी प्रकृतिका हुन्छन् भनी स्पष्ट पारेका छन्। ती सामग्रीको सङ्ख्या मतदाता सङ्ख्या, आवश्यक मतपेटिका, मतपत्र र खटिने कर्मचारीको सङ्ख्यासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि २०८२ को दफा ३९ मा ७८ वटा निर्वाचन सामग्रीको सूची उल्लेख गरिएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले यस सन्दर्भमा भने, “कानुनमा अधिकतम चाहिने सामग्रीको सूची राखिएको छ। जस्तो विद्युतीय मतदान यसपटक नहुँदा कतिपय सामान त्यहीँ घट्छ। कतिपय मितव्ययी भएर घटाइएको पनि छ।” खर्च घटाउने उद्देश्यले अन्तिम समयमा झोला, रबर म्याटजस्ता सामग्रीहरू घटाइएको र जिल्लामै छाप्न सकिने सामग्रीहरू स्थानीयस्तरमै छापी खर्च बचत गरिएको उनले बताए।
आयोगले पठाएका १४ सामग्री

तस्बिर स्रोत, Krishna Maya Upadhyaya/BBC
निर्वाचन आयोगले केन्द्रबाट पठाएका १४ वटा निर्वाचन सामग्रीमा मतदाता नामावली, मतपत्र, मतपेटिका, मतदान केन्द्रमा प्रयोग हुने मतपेटिका सुरक्षण सील, तालिम प्रयोजनका लागि मतपेटिका सुरक्षण सील, नउड्ने मसीको मार्कर, रबरबाट बनेको स्वस्तिक छाप, मतपेटिका स्टिकर, पित्तलबाट बनेको स्वस्तिक छाप, स्ट्याम्प प्याड मसी, छेकबार (गोप्य मतदानका लागि), रबर म्याट र स्ट्याम्प प्याड पर्छन्। यसका साथै, सम्बन्धित ऐन, नियम, निर्देशिका र निर्वाचन आचारसंहितासमेत निर्वाचन सामग्रीका रूपमा पठाइएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा सबै मतदान केन्द्रमा सामग्री पुर्याउने कार्यलाई तीव्र पारिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक सबै सामग्री तयारी अवस्थामा मतदानस्थल पुर्याइएको बताएका छन्।

तस्बिर स्रोत, ECN

तस्बिर स्रोत, Prakash Parki/BBC
जिल्लामै किनिने ३७ सामग्री

तस्बिर स्रोत, Prakash Parki/BBC
निर्वाचन आयोगले जिल्लास्थित निर्वाचन कार्यालयहरूलाई दैनिक प्रशासनिक तथा व्यवस्थापकीय आवश्यकताका ३७ प्रकारका सामग्री खरिद गर्ने अधिकार दिएको छ। यी सामग्रीहरूमा विशेष किसिमको लाहा (६-७ इन्च लम्बाइ, कम्तीमा ३० ग्राम तौल, रातो रङको ३ गोटाको प्याकेट), अनुसूची फाराम, पुसपिन, पोलबुकको काम गर्ने डायरी, मार्कर पेन, स्केल, स्टेपलर मेसिन, स्टेपलर पिनयुक्त बट्टा, कैँची, ग्लुस्टिक, सोसर र पन्चिङ मशिन समावेश छन्।
यसैगरी, परिचयपत्र र डोरीसहितका कार्ड होल्डरहरू पनि जिल्लास्तरमै खरिद गरिन्छन्। यी कार्ड होल्डरहरू कर्मचारी, स्वयंसेवक, मतगणना कर्मचारी, मतदान प्रतिनिधि, मतगणना प्रतिनिधि र निर्वाचन प्रतिनिधिका लागि प्रयोगमा आउँछन्। भित्र, बाहिर, पुरूष र महिला लेखिएका तथा मतदाता क्रमसङ्ख्या लेखिने कार्डहरू पनि यसै सूचीमा पर्छन्।

तस्बिर स्रोत, RSS
जिल्लामै खरिद गरिने अन्य सामग्रीहरूमा मतदान केन्द्र लेखिएको कार्ड, प्लाष्टिक थैलो, बोरा, १ केजीको रोल सुतली, प्याकिङ टेप, १०×१५ को नेपाली कागजको खाम, निविदा मतपत्र राख्ने नेपाली खाम, एफोर आकारको सेतो कागज, फित्ता सहितको रेकर्ड फाइल छन्। साथै, धागो, सियो, खाप्सियो (थिम्वल), फलाटिन कपडा, सलाई, कोरा कपडाको थैलो, मतपेटिका ढाक्न प्रयोग हुने ६० इन्च चौडा भएको २ मिटरको कोरा कपडाको टुक्रा, कालो जेलपेन, रातो जेलपेन र मैनबत्ती पनि जिल्लास्तरमै व्यवस्थापन गरिन्छन्। यी सबै सामग्रीको व्यवस्थापनले निर्वाचन प्रक्रियालाई प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत पुग्ने आयोगले जनाएको छ।
