तस्बिर स्रोत, Kamal Pariyar
काठमाण्डूको वसन्तपुर निवासी एलिशा महर्जन केही महिनाअघिसम्म मतदानको महत्त्वबारे अनभिज्ञ थिइन्। उनलाई ‘भोट हालेपनि नहालेपनि के नै हुन्छ र’ भन्ने लाग्थ्यो। तर, गत भदौमा भएको ‘जेन जी आन्दोलन’ पछि १९ वर्षीया महर्जनको बुझाइमा परिवर्तन आयो। बिहीबार, उनले आफ्नो टोलमा रहेको मतदान केन्द्रमा पुगेर पहिलो पटक मतदान गरिन्।
बीबीसीसँग कुरा गर्दै उनले भनिन्, “जेन जी आन्दोलनकै कारण उत्प्रेरित भएर हामीले पनि भोट हाल्नुपर्छ भन्ने सोचेर मैले मतदान गरेँ।” गत भदौमा नव युवा पुस्ताका तन्नेरीहरूले देशमा व्याप्त भ्रष्टाचार र कुशासनको विरोधमा राजधानीमा प्रदर्शन गरेका थिए। कम्तीमा ७७ जनाको ज्यान गएको उक्त प्रदर्शनपछि गठन गरिएको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्दै आम चुनावको घोषणा गरेको थियो। पहिलो पटक मतदान गरेपछि महर्जनले भनिन्, “यसबाट हाम्रो जीवनमा केही राम्रै परिवर्तन आउला भन्ने अपेक्षा राखेकी छु। देश थप विकास होस् भन्ने सोचेर नै मैले भोट गरेकी हुँ।”
राम्रो व्यक्ति राजनीतिमा आएको हेर्ने चाहना

तस्बिर स्रोत, Kamal Pariyar
नेपालको कूल जनसङ्ख्याको झन्डै ४६ प्रतिशत युवाहरू रहेको राष्ट्रिय जनगणनाले देखाउँछ, जसमध्ये १९.७ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका छन्। यस चुनावमा भाग लिन योग्य करिब १ करोड ९० लाख मतदातामध्ये झन्डै १० लाख मतदाता पहिलो पटक भोट खसाल्ने समूहका थिए। राजधानी काठमाण्डूको बसन्तपुर क्षेत्रमा पहिलो पटक मतदान गर्नेमा १९ वर्षका विद्यार्थी सृजल श्रेष्ठ पनि थिए। उनी भ्रष्टाचार नियन्त्रण र देश विकासका लागि मतदान गर्न आएको बताउँछन्। श्रेष्ठ भन्छन्, “मेरो आफ्नै उमेरका साथीहरूले ज्यान गुमाए। राम्रो व्यक्ति राजनीतिमा आएर काम गर्नुपर्छ भन्ने मेरो भावना हो। भ्रष्टाचार धेरै बढेको छ, त्यो कम गरिओस् र नेपाल विकास होस् भनेर म भोट हाल्न आएको हुँ।”

तस्बिर स्रोत, Bijay Gajmer
ज्ञानेश्वरको बुथमा भोट खसालेकी १९ वर्षीया सर्वश्री गर्तौलाले पहिलो पटक मतदान गर्दा आफू ‘आत्तिएको’ भएपनि राम्रोसँग भोट हालेको बताइन्। उनले भनिन्, “यसपालि हामी जस्तो युवाहरूले मतदान गर्नैपर्ने थियो। हामीले आफ्नो कर्तव्य पूरा गर्यौँ। जनताको समस्याहरू समाधान होस्, देशभित्रै अवसर तथा रोजगारी मिलोस् भन्ने आशा गरेको छु।” उनले भ्रष्टाचारकै कारण जेन जीहरू सडकमा उत्रिएको भन्दै आउने सरकारले यसलाई रोक्नुपर्नेमा जोड दिइन्।
कौतूहल, डर र रमाइलो

तस्बिर स्रोत, Ishwor Joshi
निर्वाचन आयोगका अनुसार, मतदाता सूचीमा नाम दर्ता गराएकामध्ये फागुन २० गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिहरूलाई प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिएको थियो। सुनसान सडक, मतदाताको लाइन, सुरक्षाकर्मीको बाक्लो उपस्थिति, विभिन्न सङ्केत चिन्हहरू र कर्मचारीहरूलाई पार गर्दै मतपत्र लिएर मतपेटिकासम्म पुग्नु कतिपय युवा मतदाताहरूका लागि एउटा कौतूहलको विषय बनेको थियो। त्यस्तै अनुभव गर्नेमध्ये एक हुन् चितवनका २३ वर्षीय रोनिश कर्माचार्य। उनी भन्छन्, “पहिला मम्मी बुवाले भोट हालेको देखेको मात्रै थिएँ। पहिलो पटक आफै जाँदा सुरुमा अलिकति गाह्रो हुँदो रहेछ। के हो थाहा थिएन। तर अरूले गरेको देखेपछि सजिलै रहेछ।” मतदानलाई ‘गाह्रो ठानेका’ रोनिश चुनावमा निर्वाचन कर्मचारीहरूले आफ्नो परिचयपत्र जाँचेर सहजीकरण गरिदिएको सुनाउँछन्। “त्यहाँ गएर छाप मात्रै लगाउनुपर्ने रहेछ, खासै डराउनुपर्ने रहेनछ। डराउने वा टाउको दुखाउने कुरा केही रहेनछ। रमाइलो लाग्यो। छिट्टै हुने रहेछ।”
नागरिक बनेको अनुभव गर्न पाएकोमा गर्व
नुवाकोट क्षेत्र नम्बर २, म्यागाङकी पुष्पा रिमालले बिहानै भोट हालेकी थिइन्। पहिलो पटक मताधिकार प्रयोग गर्दा आफू निक्कै खुसी भएको र गर्वको महसुस गरेको उनले सुनाइन्। उनी भन्छिन्, “सुरु-सुरुमा कसरी भोट गर्ने होला जस्तो भइरहेको थियो। त्यहाँ गएपछि सहजै लाग्यो। म आफूचाहिँ नेपालको नागरिक भएँ भनेर मैले महसुस गर्न पाएँ। र म निक्कै खुसी छु।” जेन जी आन्दोलनका कारण उत्पन्न राजनीतिक सङ्कटलाई पार लगाउन अहिले भइरहेको यो चुनावबाट उनका अपेक्षाहरू आम सर्वसाधारणका जस्तै छन्। उनले भनिन्, “खाडीमा गएर नेपालीहरूले पसिना चुहाउन नपरोस्। नेपाल प्राकृतिक सम्पदाले धनी देश हो, हामी सबैलाई थाहा छँदैछ। यहाँको स्रोतहरूलाई राम्रोसँग उपयोग गर्न सक्यौँ भने यहाँ नै रोजगारी पनि छ। नेपालमा आन्दोलनहरू नभईकन कुनै मानिसहरू डर त्रास नभईकन खुल्लासँग बस्न सकिने परिस्थिति होस्। हामी सबै नेपाली भनेर गर्व गर्छौँ। हाम्रो देशको प्रधानमन्त्री वहाँ हुनुहुन्छ भन्दा छुट्टै जोस आओस्।”

तस्बिर स्रोत, Shaktimaya Tamang
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको चुनावी सरकारले गत मङ्सिर महिनामा जेन जी प्रदर्शनकारीहरूसँग सम्झौता गरेको थियो, जसमा जेन जी आन्दोलनमा भएको मानवअधिकार उल्लङ्घन र हिंसाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ। उक्त सम्झौतामा संविधान संशोधन सुझाव आयोग गठन गर्नेदेखि लिएर भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न विभिन्न सुधारहरू गर्ने वाचा गरिएको छ।
‘भदौ २३ र २४ फेरी कहिल्यै नआओस्’

तस्बिर स्रोत, Umesh Karki
जेन जी आन्दोलनमा सक्रिय रहेका कतिपय युवाहरू पनि यस पटक पहिलो पटक मतदान गरिरहेका छन्। त्यसमध्येकी एक २४ वर्षीया तनुजा पाण्डेले आजको दिनलाई आफूले एउटा ‘भावनाले भरिएको क्षण’ का रूपमा लिएको बताइन्। उनी झापा निर्वाचन क्षेत्र पाँचकी मतदाता हुन्, जहाँ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह प्रतिस्पर्धामा छन्। उनी भन्छिन्, “आन्दोलनपश्चात् निर्वाचन हुन्छ कि हुँदैन भनेर एउटा दुविधा भइरहेको थियो। यत्रो शङ्का उपशङ्काबीच समयमा निर्वाचन भयो। हाम्रो झापा पाँचमा अझ हिंसा हुनसक्छ भनेर कति हल्ला पनि फैलिरहेको थियो। महिलाहरूको पनि राम्रो सहभागिता भइरहेको देखेँ, त्यो हिसाबले राम्रो लाग्यो।” तर अपेक्षा गरेभन्दा कम सङ्ख्यामा युवाहरूलाई दमकस्थित दिपेनी चोकमा रहेको मतदान केन्द्रमा देखेको भन्दै उनले सुनाइन्। उनले अब सत्तामा को आउँछ भन्ने महत्त्वपूर्ण हुने उल्लेख गर्दै भनिन्, “सबै जना अहिले परिवर्तन भन्दै आइराख्नुभएको छ। राजनीतिक संस्कार बोकेकै व्यक्ति आउनुहोस् भन्ने हाम्रो पनि आशा हो। जो जितेपनि जेन जी आन्दोलनले बोकेको मर्मलाई संस्थागत गर्ने हिसाबले लिएर जाने व्यक्ति आउनुहोस् भन्ने लाग्छ।” उनले सरकार र जेन जीबीच भएको सम्झौतालाई नयाँ सरकारले कार्यान्वयन गर्ने विश्वास आफूले लिएको पनि उल्लेख गरिन्।
थप रिपोर्टिङ: कमल परियार र विजय गजमेर (काठमाण्डू), ईश्वर जोशी (चितवन) र शक्तिमाया तामाङ (नुवाकोट)
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
