नवलपुर: आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न नवलपुर जिल्लामा खटिने निर्वाचन कर्मचारीहरूको व्यवस्थापन तथा सामग्री वितरण कार्य तीव्र पारिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपुरले शनिबार एक कार्यक्रमका बीच निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारीहरूलाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरेको छ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार, यस निर्वाचनमा जिल्लाभर मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य सहयोगी कर्मचारीहरू गरी कुल १ हजार ८६९ जना जनशक्ति परिचालन गर्न लागिएको छ। निर्वाचनका दिन आइपर्न सक्ने प्राविधिक तथा मानवीय आकस्मिकतालाई मध्यनजर गर्दै दुवै निर्वाचन क्षेत्रका लागि थप १० प्रतिशत कर्मचारीलाई जगेडा (रिजर्भ) मा राखिएको छ जसले गर्दा निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको अवरोध नआओस्।
नियुक्तिपत्र बुझेका कर्मचारीहरूलाई आइतबार र सोमबार (फागुन १७ र १८ गते) आवश्यक सम्पूर्ण निर्वाचन सामग्री तथा मतपत्र हस्तान्तरण गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने कावासोती नगरपालिका र देवचुली नगरपालिका (देवचुली–१६ स्थित बाह्रकोल मतदान केन्द्रबाहेक) का सबै मतदान केन्द्रमा खटिने मतदान अधिकृतहरूलाई फागुन १८ गते बिहान ८ बजेदेखि जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचन सामग्री र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझाइनेछ। यसैगरी, निर्वाचन क्षेत्र नम्बर १ कै गैँडाकोट नगरपालिका, बुलिङटार गाउँपालिका र देवचुली–१६ स्थित बाह्रकोल मतदान केन्द्रका कर्मचारीहरूले भने फागुन १७ गते बिहान ११ बजेदेखि नै आफ्ना सामग्रीहरू बुझ्नेछन्।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को हकमा पनि फरक-फरक कार्यतालिका तय गरिएको छ। कावासोती नगरपालिकाअन्तर्गतका मतदान केन्द्रहरू तथा मध्यविन्दु नगरपालिकाका राकाचुली, मैनाघाट, कोटघर र धोकाडीबाहेकका अन्य सबै मतदान केन्द्रमा खटिने मतदान अधिकृतहरूलाई फागुन १८ गते निर्वाचन सामग्री र मतपत्र उपलब्ध गराइनेछ। तर, भौगोलिक विकटता र दूरीलाई ध्यानमा राख्दै निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिकाका सम्पूर्ण मतदान केन्द्रहरू तथा मध्यविन्दु नगरपालिकाका राकाचुली, मैनाघाट, कोटघर र धोकाडी मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई भने एक दिन अगावै अर्थात् फागुन १७ गते नै सम्पूर्ण निर्वाचन सामग्रीहरू बुझाइने व्यवस्था मिलाइएको छ।
निर्वाचनलाई तोकिएको समयमै भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्लास्थित सम्पूर्ण सुरक्षा निकाय र निर्वाचन कार्यालयले आवश्यक समन्वय गरिरहेका छन्। नियुक्तिपत्र र निर्वाचन सामग्री बुझेलगत्तै खटिएका कर्मचारीहरू आ-आफ्नो मतदान केन्द्रतर्फ प्रस्थान गर्ने र निर्वाचनको अन्तिम तयारीमा जुट्ने कार्यालयले जनाएको छ।
