काठमाडौँ, फागुन १९ गते । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनासहितका सुरक्षा निकायहरूले विशेष सुरक्षा प्रबन्ध मिलाएको जनाएका छन् । आममतदातालाई कुनै पनि संशय बिना निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न उनीहरूले आह्वान गरेका छन् ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा अवधारणा अनुरुप सबै निकायहरूसँगको समन्वयमा तयारी पूरा भइसकेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार, सुरक्षित निर्वाचनका लागि नेपाली सेनासहितका सुरक्षा फौज कार्यक्षेत्रमा खटिसकेका छन् । फागुन २१ गते मुलुकभर एकैचरणमा हुने निर्वाचनका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी गरी विशाल संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले देशभरका सबै मतदान स्थलमा निर्वाचन अधिकृत र सामग्रीसहित प्रहरी टोली पुगिसकेको जानकारी दिनुभयो । मौन अवधिमा निर्वाचन विरोधी गतिविधि र सामाजिक सञ्जालको दुरुपयोग रोक्न विशेष निर्देशन दिइएको बताउँदै उहाँले त्यस्ता कार्यमा संलग्न ३४ जनालाई साइबर प्रहरीमार्फत पक्राउ गरिएको जानकारी दिनुभयो । देशभर २०० साइबर प्रहरी सामाजिक सञ्जाल निगरानीमा सक्रिय छन् । प्रवक्ता काफ्लेले निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले चारवटै सुरक्षा निकायको समन्वयात्मक परिचालनले सुरक्षा व्यवस्था मजबुत तुल्याएको बताउनुभयो । धेरै स्थानमा गस्ती तथा ‘चेकप्वाइन्ट’मार्फत निर्वाचन विरोधी गतिविधि रोक्न सशस्त्र प्रहरी खटिएको छ । सूचनाको विश्लेषण गरी एकीकृत सुरक्षा योजनाअनुसार थप व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । १६५ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीका सुरक्षा वेस स्थापना गरी फागुन ७ गतेदेखि नियमित गस्ती टोली परिचालन गरिएको छ । यसअघिका निर्वाचन अनुभवलाई विश्लेषण गरी सुरक्षा मजबुत पारिएको छ भने सीमावर्ती क्षेत्रमा विशेष निगरानी बढाई गए रातिदेखि अन्तरराष्ट्रिय सीमानाका बन्द गरिएको छ ।
यसैबीच, मतदान कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मीसहितको टोली आज मतदान केन्द्र व्यवस्थापनमा जुटेको छ । निर्वाचन सामग्री र स्थानीय स्रोतसाधन प्रयोग गरी मतदान केन्द्र र स्थल निर्माण गरिएको छ । कतिपय स्थानमा सर्वदलीय बैठक सम्पन्न भएका छन् । काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले मतदान केन्द्र निर्माण र सर्वदलीय बैठक लगायतका व्यवस्थापकीय काम धमाधम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्पूर्ण मतदान अधिकृतले मतदान सामग्री बुझिसकेका छन् । भोलिसम्म सबै मतदान केन्द्र तयार हुन्छन् । फागुन २१ गते बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदान हुनेछ ।”
