काठमाडौं, २० फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतन्त्रको सुदृढीकरण र स्वच्छ निर्वाचनको वातावरण निर्माणमा सञ्चारमाध्यमले खेलेको सकारात्मक भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आसन्न मतदानको दिनमा पनि सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाह गरी आम मतदातालाई निर्धक्क भई मतदान केन्द्रसम्म पुग्ने वातावरण बनाउनका लागि सञ्चारकर्मीहरूलाई विशेष आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका क्रममा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले लोकतान्त्रिक अभ्यासलाई जीवन्त राख्न र निर्वाचन प्रक्रियालाई सफल पार्न मिडियाको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले निर्वाचनलाई उत्सवका रूपमा मनाउन र यसप्रति जनविश्वास अभिवृद्धि गर्न सञ्चारमाध्यमको सक्रिय भूमिका अपरिहार्य भएको कुरामा जोड दिनुभयो । निर्वाचनको वातावरण बनाउनदेखि लिएर मतदाता शिक्षा प्रदान गर्नेसम्मका विभिन्न आयामहरूमा मिडियाको भूमिका प्रशंसनीय रहेको भण्डारीको भनाइ थियो ।
पत्रकारहरूको लगनशीलताको प्रशंसा गर्दै भण्डारीले भन्नुभयो, ‘प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सुरुदेखि नै जुन एउटा उत्साहका साथ निर्वाचन हुनैपर्छ र लयभन्दा बाहिर गएको मुलुकको अनुशासनलाई लयमा ल्याउनैपर्छ भन्ने भावनाका साथ लाग्नुभयो । निर्वाचनपछि निर्वाचित हुने प्रतिनिधिहरूद्वारा मुलुकमा सुशासन प्रभाव हुने र शान्ति र अमनचयन कायम हुने प्रयोजनको लागि सरकार गठन हुनुपर्छ भनेर सुरुदेखि नै सञ्चारमाध्यमले वकालत गर्नुभयो ।’ उहाँले मुलुकमा शान्ति, अमनचयन र सुशासन कायम गर्ने प्रयोजनका लागि सरकार गठन हुनुपर्छ भनेर सञ्चारमाध्यमले निरन्तर रूपमा गरेको पैरवीकै कारण आज निर्वाचनको पूर्वसन्ध्यामा आइपुग्न सफल भएको कुरा स्पष्ट पार्नुभयो ।
निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदानको दिनमा सञ्चारमाध्यमको भूमिका अझ महत्वपूर्ण हुनेमा जोड दिनुभयो । उहाँले आम मतदातालाई कुनै पनि भ्रममा नपारी, तथ्यपरक, सत्यमा आधारित र निष्पक्ष जानकारी उपलब्ध गराई उनीहरूलाई ढुक्कसँग आफ्नो मताधिकार प्रयोग गर्नका लागि मतदान केन्द्रसम्म पुग्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । गलत सूचना, अफवाह र भ्रामक समाचारले निर्वाचन प्रक्रियालाई प्रभावित पार्न सक्ने खतरा औंल्याउँदै उहाँले यस्ता सामग्रीको रोकथाम तथा सत्यताको सुनिश्चितताका लागि सञ्चारमाध्यमको सक्रिय सहयोगको अपेक्षा गर्नुभयो ।
अन्तमा, भण्डारीले निर्वाचन आयोग र सञ्चारमाध्यमबीचको सहकार्यले मात्रै एक सफल र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सकिने सन्देश दिनुभयो । उहाँले लोकतान्त्रिक प्रक्रियालाई थप बलियो बनाउन, निर्वाचनको परिणामलाई सर्वस्वीकार्य बनाउन र समग्रमा मुलुकलाई सही दिशामा अगाडि बढाउन सञ्चारमाध्यमको निष्पक्षता, व्यावसायिकता र जिम्मेवारीपूर्ण भूमिकाको महत्वलाई पुनः स्मरण गराउनुभयो ।
