काठमाडौं । नेपालमा प्रतिनिधिसभा निर्वाचन बिहीबार देशभर एकैसाथ सम्पन्न हुँदैछ । निर्वाचन आयोगले यसका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरेको छ । लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण हिस्सा मानिने यस निर्वाचनमा जनसाधारणसँगै कला क्षेत्रका व्यक्तित्वहरूले पनि सक्रिय सहभागिता जनाएका छन् । धेरै कलाकारहरू मतदानका लागि आ-आफ्नो गृहथलो पुगिसकेका छन् भने केही जाने तयारीमा छन् । केही कलाकार भने कार्यव्यस्तता वा अन्य कारणले यसपटक मतदानमा सहभागी हुन असमर्थ भएका छन् ।
यसपटकको निर्वाचनप्रति कलाकारहरूमा विशेष उत्साह र अपेक्षा देखिएको छ । वरिष्ठ कलाकारदेखि नयाँ पुस्ताका कलाकारसम्मले निर्वाचनलाई लिएर आ-आफ्ना विचार र आशा व्यक्त गरेका छन् । उनीहरूले देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण र युवा नेतृत्वको अपेक्षा राखेका छन् ।
वरिष्ठ अभिनेता हरिवंश आचार्यले काठमाडौं-५ को बुढानीलकण्ठस्थित मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । २०३६ सालदेखि हरेक निर्वाचनमा सक्रिय सहभागी हुँदै आएका आचार्यले यसपटकको प्रतिस्पर्धालाई निकै रोचक बताएका छन् । ‘यसपटक प्रतिस्पर्धा बढी देखिन्छ, युवाहरू पनि अघि बढेका छन् । पहिले जस्तै एउटै अनुहार मात्र देखिने अवस्था कम भएको छ,’ उनले भने, ‘यो चुनावले भ्रष्टाचार नियन्त्रण, देशमै रोजगारी सिर्जना र दण्डहीनताको अन्त्य होस् भन्ने जनताको अपेक्षा छ ।’
गायिका आस्था राउत काठमाडौं-१ की मतदाता हुन् । यो उनको दोस्रो मतदान अनुभव हो । उनले निर्वाचनले देशमा व्याप्त बेथिति हटाई भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने आशा व्यक्त गरिन् । ‘राजनीतिमा भइरहेको ‘म्युजिकल चेयर’ को अन्त्य हुनुपर्छ भन्ने मेरो सोच हो,’ आस्थाले भनिन्, ‘यसबाट सम्पूर्ण नेपाली नागरिकको हित हुन्छ । मतको सदुपयोग होस् र परिवर्तन आउन सकोस् ।’ उनले भविष्यमा जहाँ बसे पनि त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने धारणा पनि राखिन् ।
हास्यकलाकार मनोज गजुरेलले भक्तपुरको सूर्यविनायक-२ बालकोटस्थित बालविनायक स्कुल केन्द्रबाट मतदान गर्नेछन् । २०५२ सालदेखि मतदान गर्दै आएका उनले यसपटकको निर्वाचनलाई विशेष रुपमा लिएका छन् । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले मोरङ-६ को बालिका मावि केन्द्रबाट मतदान गर्ने भएकी छन् । मतदानकै लागि उनी गृहथलो विराटनगर पुगेकी हुन् । ‘बुवाआमालाई लिएर बिहानै भोट हाल्न जाने सोच बनाएको छु, माहोल पनि बुझ्ने र हेर्ने,’ उनले बताइन् । दीपाश्रीले २०७९ सालको संसदीय चुनावमा पनि मतदान गरेकी थिइन् ।
‘नेपथ्य’ ब्यान्डका गायक अमृत गुरुङ पनि मतदानका लागि गृहथलो पोखरा पुगिसकेका छन् । सिन्धुलीमा कन्सर्ट सकेर उनी सोझै पोखरा पुगेका हुन् । उनले कास्कीको पुम्दीभुम्दीस्थित ओखलेडाँडा मतदान केन्द्रबाट मतदान गर्नेछन् । अमृतले मतदान गर्न थालेपछि कुनै पनि चुनाव नछुटाएको बताए ।
अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र ३ अन्तर्गतको मुलपानीस्थित ग्रीन हिलसिटी हाउजिंग नजिकको केन्द्रबाट मतदान गर्दैछिन् । संसदीय निर्वाचनमा यो उनको दोस्रो अनुभव हुनेछ । ‘मलाई यसपटक अनौठो लागेको छ । सँगसँगै परिवर्तनको पक्षमा हामी छौँ जस्तो महसुस भएको छ,’ केकीले भनिन्, ‘उत्साह र डर दुबै छ । यसपटकको भोट एकदमै सोचेर गर्नुपर्ने जिम्मेवारी पनि छ ।’ अभिनेता विपिन कार्की पनि मतदानका लागि गृहथलो विराटनगर पुगेका छन् । उनी मोरङ-३ का मतदाता हुन् । ‘यसपटकको चुनावलाई लिएर उत्साहित छु, राम्रा उम्मेदवारले जितून् भन्ने चाहना छ,’ उनले भने ।
अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित कन्या हाइस्कुल केन्द्रबाट मतदान गर्नेछन् । उनले लामो समयदेखि यही केन्द्रबाट भोट हाल्दै आएका छन् । अभिनेता दीपकराज गिरी काठमाडौं-९ का मतदाता हुन् । उनले आफ्नो पुर्ख्यौली थलो चन्द्रागिरी नगरपालिका-१ दहचोकबाट मतदान गर्ने बताए । ‘यसपटक पार्टी र विचारभन्दा माथि उठेर भोट हाल्नेछु,’ उनले भने । अभिनेता भुवन केसी र अनमोल केसीले सिनामंगलस्थित केन्द्रबाट मतदान गर्नेछन् । निर्मल शर्माले सिफलस्थित हिमालय विद्यामन्दिर केन्द्रबाट, रेखा थापाले चावहिलस्थित पशुपति क्याम्पस केन्द्रबाट र मिस नेपाल लुना लुइँटेलले नयाँ बानेश्वरस्थित केन्द्रबाट मतदान गर्ने तयारीमा छन् ।
यसैबीच, अभिनेता प्रदीप खड्का भने यसपटक मतदानको अवसर गुमाउने भएका छन् । उनी यतिबेला चितवनमा आफ्नो फिल्म ‘ऐरी’ को छायांकनमा व्यस्त छन् । ललितपुर-३ का मतदाता रहेका प्रदीपले ‘राम्रो व्यक्ति जितोस् र पार्टीलाई पनि सचेत गराउन सक्ने उम्मेदवारले जित्नुपर्छ’ भन्ने चाहना राखेका छन् । अभिनेता दयाहाङ राईले पनि मतदान गर्ने बताएका छन्, यद्यपि उनले आफ्नो मतदान केन्द्र भने सार्वजनिक गरेका छैनन् । केही कलाकारहरू भने विदेश भ्रमणमा रहेकाले यसपटक मतदानमा सहभागी हुन असमर्थ भएका छन् ।
