न्युजिल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। बुधबार कोलकातास्थित ऐतिहासिक इडेन गार्डेन्समा भएको पहिलो सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो। ओपनर फिन एलेनको कीर्तिमानी शतकको मद्दतले न्युजिल्यान्डले यो महत्त्वपूर्ण जित हासिल गर्दै उपाधिनजिक पुगेको छ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १७० रनको लक्ष्य न्युजिल्यान्डले मात्र १२.५ ओभरमा १ विकेट गुमाएर सहजै पूरा गर्यो। यस सनसनीपूर्ण जितमा न्युजिल्यान्डका ओपनर फिन एलेन चम्किए। उनले मात्र ३३ बलमा शतक प्रहार गर्दै टी-२० विश्वकप इतिहासकै सबैभन्दा तीव्र शतकको कीर्तिमान बनाएका हुन्। एलेनले आफ्नो पारीमा १० चौका र ८ गगनचुम्बी छक्का प्रहार गरे। उनले १९ बलमा अर्धशतक पूरा गरेपछि थप १४ बल खेल्दै शतकमा पुगेका थिए, जुन उनको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट करियरको तेस्रो शतक हो। १३औं ओभरमा एलेनले लगातार तीन चौका र दुई छक्का प्रहार गर्दै २४ रन जोडेका थिए। स्कोर बराबरी भइसकेको अवस्थामा उनले पाँचौँ बलमा मार्को यानसेनलाई चौका प्रहार गर्दै जितसँगै आफ्नो शतक पूरा गरेका थिए।
एलेनले टिम सेफर्टसँग मिलेर पहिलो विकेटका लागि ९ ओभरभित्रै ११७ रनको विशाल साझेदारी गर्दै न्युजिल्यान्डको जितको बलियो आधार खडा गरेका थिए। सेफर्टले पनि आक्रामक ब्याटिङ गर्दै ३३ बलमा ७ चौका र २ छक्कासहित ५८ रनको महत्वपूर्ण योगदान दिए। रचिन रविन्द्र १३ रनमा अविजित रहे। दक्षिण अफ्रिकाका लागि कगिसो रबाडाले एकमात्र विकेट लिएका थिए।
यो जित न्युजिल्यान्डका लागि थप अर्थपूर्ण रह्यो किनभने यसले समूह चरणमा दक्षिण अफ्रिकासँग बेहोरेको ७ विकेटको हारको बदला लिएको छ। साथै, टी-२० विश्वकपको इतिहासमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई पहिलो पटक पराजित गरेको हो। यसअघि टी-२० विश्वकपमा भएका पाँच भेटमा न्युजिल्यान्ड सधैँ दक्षिण अफ्रिकासँग पराजित हुँदै आएको थियो, जसले यस जितलाई अझ ऐतिहासिक बनाएको छ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। एक समय ७७ रनमा ५ विकेट गुमाएर सङ्कटमा परेको दक्षिण अफ्रिकी टोलीलाई अलराउन्डर मार्को यानसेनले सम्हालेका थिए। उनले ३० बलमा अविजित ५५ रनको अर्धशतकीय पारी खेले जसमा ३ चौका र ४ छक्का समावेश थिए। यानसेनले ट्रिस्टन स्टब्ससँग मिलेर छैटौँ विकेटका लागि ७३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। स्टब्सले २९ रन बनाएका थिए भने डेवाल्ड ब्रेभिसले ३४ रनको योगदान दिएका थिए।
न्युजिल्यान्डका बलरहरूमध्ये म्याट हेनरी, कोल मेकोन्की र रचिन रविन्द्रले २-२ विकेट हात पारेका थिए। कप्तान मिचेल सान्टनर र जिमी नीशमले १-१ विकेट लिएर दक्षिण अफ्रिकी ब्याट्सम्यानहरूलाई दबाबमा राखेका थिए।
अब न्युजिल्यान्डले उपाधिका लागि भारत र इंग्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल बिहीबार निर्धारित छ। आईसीसी टी-२० विश्वकप २०२६ को फाइनल खेल आगामी मार्च १० (फागुन २४) आइतबारका दिन गुजरातको अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम, नरेन्द्र मोदी स्टेडियममा आयोजना गरिनेछ।
