काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई विवादमा तान्न ‘स्वार्थ प्रेरित समूह’ सक्रिय रहेको बताएका छन् ।
त्यस्ता पक्षबाट सधैं सजग र सतर्क रहन पनि उनले मातहतका उच्च अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
मातहतलाई आइतबार सम्बोधनका क्रममा उनले ‘सेनाको संख्या र सेनाले व्यापार गर्यो भनेर विवादमा तान्ने संगठित समूह निरन्तर सक्रिय रहेको’ भन्दै त्यसप्रति संगठन सजग रहनुपर्ने धारणा राखेको उपस्थित एक जर्नेलले बताए ।
सैनिक जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिमा पनि शर्माले ‘सेनालाई विवादमा तान्ने प्रयास भइरहेको’प्रति सजग रहन मातहत फौजलाई निर्देशन दिइएको विषय समेटिएको छ ।
प्रधानसेनापतिमा नियुक्ति पाएको २ वर्ष पुगेको अवसर पारेर आइतबार शर्माले अधिकृत, पदिक र अन्य दर्जालाई सम्बोधन गरेका हुन् ।
त्यस क्रममा उनले केही स्वार्थ समूहले ‘पूर्वाग्रही, बेमौसमी र असामयिक तर्क’ गरेर सेनालाई विवादमा तान्ने प्रयास गरेको बताएका हुन् ।
‘तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी असामयिक तर्क उठाइ स्थिर माहोललाई खल्बल्याउने कुनै पनि स्वार्थप्रेरित समूह तथा क्षणिक वा दूरगामी असर पार्नसक्ने योजनाबद्ध प्रायोजित अभिलाषाप्रति सदैव सजग र सतर्क रहँदै नेपाल र नेपाली जनताको बृहत्तर हितमा समर्पित हुनु अहिलेको आवश्यकता हो‚’ सम्बोधनका क्रममा प्रधानसेनापति शर्माले भने, ‘सैनिक संगठन आजको भोलि तयार हुने होइन ।
लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिदै सबल र सुदृढ हुँदै जाने अनुशासित समूह हो ।’
सेनाको आकार घटाउनु पर्ने, सेनालाई व्यापार/व्यवसायबाट मुक्त गर्नुपर्ने लगायत विषयमा पछिल्लो पटक बहस भइरहेको छ ।
संख्या घटाउने विषयलाई सेनाले ‘रुचाएको’ छैन ।
त्यस्तै सैनिक कल्याणकारी कोषमार्फत भएका विभिन्न लगानी व्यापार नभइ कल्याणकारी र आफ्ना बहालवाला र अवकाशप्राप्त हिताधिकारीको सेवामा भएकाले त्यसलाई व्यापार भन्न नहुने तर्क सेनाले गर्दै आएको छ ।