प्रचण्डको राजनीति, जीवन, चुनौती र आजको क्षण
विजय कुमार पाण्डे – टिभी जर्नलिस्ट एवं लेखक
समयक्रममा प्रचण्डजीले आफ्नो छोरी ज्ञानु गुमाउनु भयो, छोरा प्रकाश बिते, धर्मपत्नी सिताजीले हिजो देहत्याग गर्नु भयो। निजी दुखको यो घडी सायद प्रचण्डका लागी जीवन र जगतका प्रति एक सम्यक समिक्षाको मौका पनि हुनसक्छ। हाम्रो बिभाजित, ध्रुविकृत समाजलाई आज दुइ कुराको सर्वाधिक खांचो छ । एक अर्काका प्रति करुणाको भाव र राजनैतिक द्रढताका कदम। ‘
पहिला – आदरणिया सीता दहालजीप्रति श्रद्धान्जली ! प्रधानमंत्री पुष्पकमल दहालजी र परिवारजनप्रति समवेदना व्यक्त गर्छु ।
उतार-चढाव त हर मानिसको जीवनमा हुन्छ नै तर जुन घनत्वको उतारचढावले पुष्पकमल दहाल प्रचण्डको जीवन बनेको छ, त्यो बिरलै मान्छेसंग घटित हुन्छ।
बाहिरबाट हेर्दा हर मान्छे एउटा मान्छे जस्तो देखिए पनि, हर मान्छेभित्र कयौ मान्छे, एकै पटकमा बाची रहेका हुन्छन । पत्र पत्र (layers) मिलेर बनेको हुन्छ मान्छे। बिरोधाभाषहरुको पोको हो मान्छे। प्रचण्डजीमा पनि स्वभाविक रुपले यी पत्रहरु छन। सामान्यभन्दा अत्यन्तै धेरै घनत्वशाली ( dense ) रुपमा छन ।
माओवादी बिद्रोह ताका उनी मलाई निर्मम प्रचण्ड झै लाग्थे। चिनजान भेटघाट केही थिए। शान्ती प्रकृयामा आए पछी थोरबहुत परिचयको मौका बन्यो।
थोरबहुत चिनजान भए पछी, हामी सबै जस्तै, उनीभित्र पनि कयौ मान्छे, एकै पटकमा ठेलमठेल विरोधाभाष गरेर बस्छन भन्ने मेरो अनुमान झन बलियो भयो । तर, सर्वसाधारण मान्छेभित्र बस्ने अनेक रुपहरु र प्रचण्डभित्र बस्ने अनेकौ रुपहरुमा एउटा आधारभुत फरक छ ।
पुष्पकमल दाहाल प्रचण्डको जीवनमा, निर्मम कठोरता र भावनात्मक उदारता, दुबै कुराका अंशहरु पुर्ण बिकसित तापक्रमको अवस्थामा विकसित भए। हुन त साधारण मान्छे भित्र पनि परस्परमा बिरोधाभाषी ( contradictory) तत्वका अंशहरु हमेशा लुकेका
हुन्छन । तर प्राय मान्छेको हकमा ; ती विरोधाभाषहरुको तापक्रम न्युन हुन्छ, विरोधाभाषहरुको प्रवृति त्यति घनत्वशाली हुदैन, जति प्रचण्डजीमा छ ।
त्यसैले त प्रचण्ड , प्रचण्ड भएका हुन । त्यो नै उनको निजत्व हो । त्यो नै उनकै भाषामा ‘स्वत्व’ हो ।
केही दिन अघि , सरदार प्रितम सिह र उनको परिवारसंग आफ्ना सम्बन्धहरु बारे प्रधामंत्रीजीले संसदमा जसरी केही सपाट सत्य बोले, मलाई सुखद र प्रमाणिक (अथेन्टिक) लाग्यो। त्याहा उनको चलाख ‘मष्तिष्क’ होइन , स्वर्गवासी छोरीको सम्झनामा अनुग्रहित पिताको ‘ह्रदय’ बोल्दै थियो।
राजनितिमा लागेका मान्छेको सामाजिक जीवन र सम्बन्धहरु नै हुदैनन भन्ने अपेक्षा उचित होइन। हो,पक्कै पनि,ती सम्बन्धहरुको पारदर्शिता र सिमा रेखाहरु सार्वजनिक जानकारीमा भए,सबैलाई बिषय बस्तुको सार्थकता वा व्यर्थता बुझ्न सजिलो हुन्छ ।
' समयक्रममा प्रचण्डजीले आफ्नो छोरी ज्ञानु गुमाउनु भयो, छोरा प्रकाश बिते, धर्मपत्नी सिताजीले हिजो देहत्याग गर्नु भयो। निजी दुखको यो घडी सायद @cmprachanda का लागी जीवन र जगतका प्रति एक सम्यक समिक्षाको मौका पनि हुनसक्छ। हाम्रो बिभाजित, ध्रुविकृत समाजलाई आज दुइ कुराको सर्वाधिक…
— Vijay Kumar Panday (@Vijaykumarko) July 13, 2023
अब आउने दिनहरुमा नेपालको राजनतिमा मात्र होइन , मिडिया र साहित्यमा पनि जीवन र जगतप्रति गहिरो समझ (understanding) अनिवार्य भैसक्यो। युरोपमा भएको ‘रेनेसा’ लाई पर राखेर,त्याहा भएको बिकास बुझ्न सकिन्न ।
नेपालमा प्रचण्डजीले नेत्रित्व गरेको बिद्रोहको एक सम्यक समिक्षा हुन बाकी नै छ । देशमा कयौ राम्रा नराम्रा परिवर्तन भए। धेरै जनधनको क्षति भयो । ती सबै घटनाक्रमलाई एकाङी रुपमा हेर्नु वा मानव ईतिहासको बिकासक्रमभन्दा पर राखेर हेर्नु सत्यप्रति न्याय हुने छैन । त्यसैले ‘सम्यक समिक्षा’ शब्दको प्रयोग गरिएको हो ।
एक पत्रकारको नाताले मैले माओवादी बिद्रोहको नेत्रित्वकर्ताको निर्मम कठोरता देखेको छु । शान्ती प्रकृयाको आउन लाग्दा र शान्ती प्रकृयामा आए पछी पुष्पकमल दहालजीको लचकता पनि महसुस गरेको छु।
अब म सक्रिय पत्रकारितामा छुइन। एक अध्यात्मिक साधकका रुपमा भनौ या लेखकका रुपमा भनौ , जीवन र जगतलाई हेर्ने मेरो द्रष्टिकोण अलिकति फराकिलो भएको छ। अस्तित्वको बिराटता र मनुष्यको सिमितता ; दुबै आकृति महसुस गर्न सक्छु ।
समयक्रममा प्रचण्डजीले आफ्नो छोरी ज्ञानु गुमाउनु भयो, छोरा प्रकाश बिते, धर्मपत्नी सिताजीले हिजो देहत्याग गर्नु भयो। निजी दुखको यो घडी सायद पुष्पकमल दाहाल प्रचण्डजी प्रचण्डका लागी जीवन र जगतका प्रति एक सम्यक समिक्षाको मौका पनि हुनसक्छ। हाम्रो बिभाजित, ध्रुविकृत समाजलाई आज दुइ कुराको सर्वाधिक खांचो छ । एक अर्काका प्रति करुणाको भाव र राजनैतिक द्रढताका कदम।
करूणा र शासकिय द्रढताको सन्तुलन सजिलो हुदैन । तर सजिला कामहरु चिरकाल महत्वका कहा हुन्छन र ! यो कुरा स्वयं प्रचण्डजीलाइ भन्दा बढता कसलाई थाहा होला र , जस्ले जीवनलाई यति धेरै अस्थाई रंगहरुमा भोग्नु भएको छ ….