सम्माननीय प्रधानमन्त्रीज्यू – हार्दिक समवेदना

सम्माननीय प्रधानमन्त्रीज्यू – हार्दिक समवेदना

✒️…श्याम खनाल – उप-प्राध्यापक

२०८०।०३।२७ को दिन दुःखद रह्यो किनकि तपाइँकी प्राणप्यारी अर्धाङ्गिनी सीता दाहालले मृत्युसँग लड्दालड्दै हार खानुभयो र उहाँको शरीर भित्र रहेको आत्मा परमात्मा मिलनको लागि शरीर छोडी हिँड्यो । अनि शरीर चाहिँ पृथ्वी, जल, तेज, वायु, आकाश रुपी पञ्चतत्त्वमा मिल्न पुग्यो । जतिसुकै क्रान्तिकारी भएपनि यहाँसम्मको कर्म कसैले रोकेर रोकिएन । जुन अवस्थामा जन्म भएको थियो त्यही अवस्थामा नै उहाँ जानुभएको छ । उहाँ आखिरी रित्तै आउनुभएको थियो र रित्तै नै जानुभयो । यो कुरा प्रत्यक्ष नै छ । जन्मिएपछि दुखसाथ मर्न आखिर सबैलाई पर्दो रहेछ । मरण कसैको लागि पनि सुखद हुँदैन । बाँच्न सबै चाहँदा रहेछन् । त्यसैले पनि नेपालीमा एउटा उखान छ – मर्न भन्दा बहुलाउन जाति । यही जन्म मरणको दुःखद भवसागरबाट उम्कनका लागि उपनिषद्‌हरूले जन्मिए पछि मृत्यु पनि हाँसेर हुन सकिने र मृत्यु भएपछि फेरि जन्मनै नपर्ने खालको ब्रह्मविद्या सिकाएका छन् ।

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

हुनत हजूरले यो भन्दा पहिले अहिलेको भन्दा पनि भयावह मृत्यु देखिसक्नुभएको छ । हजूरहरूले प्रविधिलाई ठूलो मानेर वैज्ञानिकताका कुरा गर्दागर्दै समय विताउनुभयो तर छोरा प्रकाश त्यत्रा त्यत्रा अस्पतालका नजिक हुँदा पनि बाँच्न सकेनन् । छोरीको पनि त्यस्तै अवस्था हुन गयो । त्यसैले गहिरिएर विचार गर्दा मृत्यु कतिखेर आउँछ पत्तो हुँदो रहेनछ । हुने कुरा भई गयो । अब सम्झिँदैमा पनि कोही फर्केर आउनेवाला छैन । त्यसले त झनै पीडाको महसुस गराउँछ । हुन त यसो हजूरको प्रकृति देख्दा त कोमल मनकै हुनुहुन्छ जस्तो लाग्छ । कतिपटक द्वन्द्वकालमा मरेका मानिसहरू सम्झेर रोएँ पनि भन्नुहुन्छ । हुन पनि आखिर तीतो सत्य हजूरलाई थाहा नै छ – त्यो द्वन्द्वकालमा कति धेरै नेपालीहरूले अकालमै जीवन टुङ्गाउनुपर्यो । उनीहरू त गए गए तर उनीहरूका आफन्तहरू जो उनीहरूमै आश्रित थिए तिनीहरू कति भोकले र शोकले तड्पेर जीवन विताउनुपर्यो । देवघाटमा वर्दियाबाट आएर एउटा परिवार बसेको छ – उहाँहरूका नेपाली सेनामा जागिरे रहेका दुइवटै छोरा मारिएका रे । सुन्दा पनि सिरिङ्ग लाग्छ । ती आमालाई देख्दा यति धेरै पीडाको महसुस हुन्छ कि त्यो कसरी बताऊँ । यस्ता घटना परिघटना त कति छन् कति । तर यी गएका कुरा गए गए । तपाइँ पनि सकारात्मक परिवर्तनका लागि जङ्गल जानुभएकै हो । पहिले पहिले जाँडका घैटा फालेर र घाँटीका टाइ काटेर सुरु भएको त्यो सकारात्मक आन्दोलनले पछि आफै जाँडका घैँटा पेटमा हाल्ने र गोठका पूजित गाइ काट्ने सम्मको काम गरेकै हुन् । कता कता अब के के हुने हो भन्ने बेलामा शान्तिप्रक्रियाबाट तपाइँहरू सत्तामा आइपुगेपछि मात्र जनताले द्वन्द्वबाट मुक्ति पाए ।

द्वन्द्वकालमा त्यति विघ्न अत्याचारमा परे तापनि ती टुहुरा बालकहरू. विधवा नारीहरू एवम् छोराछोरी काखैबाट छिनिन पुगेका मातापिताहरू नेपाललाई द्वन्द्वको चपेटामा पारेर फाइदा लिनेको लहलहैमा लागेका एकाध बाहेक तपाइँको विरोधमा उत्रेर तपाइँलाई गाली सम्मन पनि गरेनन् । किनकि उनीहरू तपाइँबाट सकारात्मक परिवर्तनको आशामा थिए । उनीहरूको रगत पनि नेपाली थियो जसले उग्रवाद र पख्लास् जानेकै थिएन जानेको थियो त केवल क्षमा नै ठूलो धर्म हो । सायद यो खालको युद्ध अरु देशमा भएको भए एकअर्कामा मारमार हुँदै के सम्म हुन्थ्यो त्यो नजिकैका देशहरूको अध्ययनले पनि देख्न सकिन्छ । त्यसैले तपाइँले विभिन्न नारा दिएर जङ्गल पस्दा ताकाका वचनहरू कत्तिको पुरा गर्नुभएको छ आफ्नै अन्तरआत्मालाई सोध्नुहोला । अनि तपाइँको जिम्मेवारी के कति बाँकी छ त्यो पनि आफैलाई पटक पटक सोध्नुहोला ।

प्रसङ्गतिरै लागौँ । आमा उत्तरायणकै समयमा जानुभयो । माथि नै भनिसकियो । पीडा अत्यन्तै भयो । हाम्रो वैदिक धर्म सभ्यताले एउटै रथका पाङ्ग्रा मान्ने र सात जन्मसम्म पनि नाता रहिरहने हुन्छ भन्छ । त्यसैले पनि प्राचीनकालदेखि नै सन्तानरहित अवस्थामा बाहेक पुरुषले पत्नी वियोगपछि विवाह गर्न पाइँदैनथ्यो विधुर बस्नुपर्थ्यो भने महिलाहरू सन्तान हुर्किसकेका भए आफ्नो पतिव्रतधर्मको योगबलद्वारा प्राणत्याग गरी सति जाने प्रचलन थियो । पछि बुझाइ कम भयो । शास्त्रहरूको गहिरो अध्ययन भन्दा पनि उही मनगढन्ते तालले आफुअनुसार आफ्नो फाइदाको लागि शास्त्रको अर्थ गर्न थालियो । त्यस किसिमका एउटै शरीरका दुई भागका अङ्ग जो जीवनका हरेक कार्यमा एकाकारको मान्यता राखी शास्त्रचिन्तन गर्थे त्यस्तो संयुक्त शरीर भइने विवाहलाई मोजमजाक र कामवासनाको रुपमा मात्र हेरियो । के के भयो भयो । तपाइँको पनि रगत वैदिक सभ्यताको नै भएकाले भरखरको वियोगको स्थितिमा यस किसिमको अनुभव पक्कै गर्नुभयो पनि ।

अब आमा गइसकेपछिको समयमा गरिने १३ दिने कर्म पनि अत्यन्तै वैज्ञानिक छन् । यी कर्महरू तपाइँहरूले प्रचार गरेजस्तो कुनै पण्डितको भुँडी भर्न बनाइएका चिज होइनन् । यी त हाम्रा ऋषिमुनीहरूले वर्सौँ पछिको अध्ययन/अनुसन्धान पछि ल्याएका कर्महरू हुन् । अब शरीर छोडेर गएको आत्मालाई यो ब्रह्माण्डको चरम बिन्दुतर्फ हिँडाउनका लागि तयारी गराइने कार्य १२ दिनसम्म चलाइन्छ । हाम्रा शास्त्रहरूले १२ दिनसम्मको त्यो प्रेतरुपी वस्तुलाई शुद्धिकरणका लागि वैदिक वैज्ञानिक विधि अपनाएका छन् । १२ दिनको सपिण्डीकरणपछि त्यो प्रेततत्त्वबाट पितृतत्त्वमा प्रवेशका लागि १ वर्षको यात्रा वायुस्वरुपमा गर्नेछ । एकवर्षपछिको वार्षिक श्राद्धपछि वसुस्वरुप भई पितृलोकमा प्रवेश गर्नेछ । त्यसको कर्मअनुसारको पितृलोकनिवास, पुनर्जन्म वा मुक्ति पनि यस्तै गहिरो प्रक्रिया छ । तपाइँ त एउटा आधुनिक विज्ञानको पनि साधक भएकाले यी कुरा सजिलै बुझ्न सक्नुहुन्छ । तपाइँ हाम्रो दिमागले बनाएको संविधानको सानो पुस्तिका बनाउन त कत्रो वर्ष लाग्यो भने यस किसिमका विधि बनाउन हाम्रा ऋषि मुनीहरूलाई कत्रो वर्षको अध्ययन गर्नुपर्यो होला । श्रद्धा र भक्तिले गहिरो अध्ययन नगरी यी कुरा बुझ्न नसकिने हुन्छन् । तपाइँहरूले यस्ता वैज्ञानिक कुराहरू बुझ्दै नबुझी नयाँ हुने नाममा विरोध मात्र गर्नुभयो । तर मैले फेरि पनि भने – यी कुनै मनगढन्ते पेटारे शिक्षा होइनन् । यी त देखिने हार्डवेयर नभइ नदेखिने सफ्टवेयरका कुराहरू हुन् ।

अतः अन्त्यमा आमाको पनि यही किसिमले अन्त्यकर्म गराइदिनुहोस् । तपाइँले मुठी कसेर आमालाई विदा दिनुभयो । त्यो मुठ्ठी कसाई भित्रका पाँचवटा औँलाले पनि पञ्चतत्त्वकै प्रतिनिधित्व गर्दछन् । पञ्चतत्त्व मिलेर शरीर बनेको छ । ब्रह्माण्ड बनेको छ । त्यसैले एकाकार रुपमा रहेको त्यो तत्त्वलाई बुझी वैदिक संस्कार अनुरुपको क्रिया कर्मबाट आमालाई मुक्ति दिनुहोस् । ती तमाम आमाहरू हामी बाहरूले गल्ती गर्दा मुकदर्शक भएर बसे । ती गान्धारी, मन्दोदरी, कयाधु उनै आमाहरू हुन् जो बाहरूले गल्ती गर्दा पनि बाहरूकै लागि जीवन अर्पण गरे । सतित्वले पतिहरूको रक्षा गरे तर उनीहरूको अपमान गरेनन् । त्यसैले तपाइँकी सहधर्मिणी सीता आमा पनि उनीहरू जस्तै शक्तिशाली नभए पनि वात्सल्यमयी आमा हुन् जसले आफ्ना सन्तानहरूका पीडामा गान्धारीले जस्तै सहेर बस्न नसकेरै प्राणत्याग गरिन् । तपाइँको जस्तोसुकै कार्यलाई पनि साथ दिइन् । तपाइँ अहिले दुःखमा हुनुहुन्छ । दुःखमा भएका मानिसलाई धेरै कुरो केही नभनौँ । तर पनि हामी पनि देशको जिम्मेवार नागरिक भएको र हजूर हाम्रो प्रधानमन्त्री भएकाले हामीलाई यति भन्ने अधिकार पक्कै छ जस्तो लाग्छ । हुन त तपाइँलाई पनि आफ्ना गफले तिरिमिरि पारेर पेट पाल्नेहरू बेलाबेलामा तपाइँलाई हामीले सम्झाएका कुराहरूलाई लिएर तपाइँको लङ्गौटी बन्ने प्रयास गर्छन् । अरुलाई त थाहा नै छैन भन्ने उनीहरूका अज्ञानले आफूसहित तपाइँ पनि ढाकिनुहुन्छ । त्यसैले सायद तपाइँ पनि त्यस्तै धूर्तहरूको गुम्राहमा पर्दा विचलित भइरहनुभएको छ जस्तो लाग्छ । त्यसैले त्यो गुम्राहबाट निक्लेर आमाको १३ दिनपछिको कर्मपछि तपाइँ ती द्वन्द्वकालका पीडितहरूको अभिभावक भएर यसरी देशसेवामा लाग्नोस् कि हामीले तपाइँलाई वाल्मीकिको रुपमा मान्न सकौँ ।

अन्त्यमा माता सीताको वियोगबाट शोकसन्तप्त तपाइँसहित परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै देहविमुक्त आत्माको ब्रह्मसायुज्य गतिका लागि माता मौलाकालिकासँग प्रार्थना गर्दछु ।

श्याम खनाल
देवघाटधाम
२०८०।०३।२८

२०८० असार २८, बिहीबार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।