मैले जाने बुझेका रेशम र थारु समुदाय –
उप-प्रा. श्याम खनाल…🖋️
दाङ्बाट इन्टरमेडियट(उत्तरमध्यमा) पास गरिसकेपछि गणितज्यौतिष विषय अझै राम्रोसँग पढ्ने विचारका साथ विसं २०५७ सालमा काठमाडौँमा आइयो । त्यो बेलामा काठमाडौँमा एफ् एम् को फेसन नै थियो । जता गए पनि एफ् एम् बाट समाचार गीत आदि विषय सुन्ने गरिन्थ्यो । कान्तिपुर एफ् एम् को विहानको समाचार एवम् रेडियो सगरमाथाका विभिन्न कार्यक्रमहरू सुन्दा आफूलाई पूर्ण भएको अनुभूति हुन्थ्यो ।
रेडियो सगरमाथामा विहान ९ बजेदेखि १० बजेसम्म रेशम चौधरीको कार्यक्रम सुनिन्थ्यो भने बेलुका पौने ९ बजे बिबिसि सुनिन्थ्यो । रेशम चौधरीको त्यतिखेरको कार्यक्रम विशेष गरेर युवा एवम् अरु उमेरका मानिसहरूमा पनि कर्णप्रिय नै थियो । अत्यन्तै उत्साहमूलक ज्ञानमूलक सो कार्यक्रमले हामी विद्यार्थीवर्गलाई विशेष ऊर्जा दिएको थियो । चौधरी भइकन पनि उनका ती साहित्यिक शब्दहरू अत्यन्तै अनुकरणीय थिए ।
उनको उपदेशमूलक राष्ट्रियताले भरिपूर्ण सो कार्यक्रमले मलाई त पहिला पहिला शरीरमा काँडा नै उमार्थ्यो । अल्छिपनबाट जगाउँथ्यो । बीच बीचमा बजाइने ती राष्ट्रिय गीतहरू पनि त्यस्तै ऊर्जावान नै थिए । पछि २०६२ पछि आचार्य गरी कार्यक्षेत्र गैँडाकोटतिर आइयो ।
काठमाडौँबाट टाढा भइयो । रेशमलाई पनि विर्सियो ।
२०६२/०६३ को आन्दोलनपछि यो देशलाई अनावश्यक आर्थिक बोझिलो भइरहेका प्रदेशका कुरा आए । यी मागहरू केहि समय त यत्तिकै रहिरहे तर पछि साकार भइछाडे । त्यसकै फलस्वरुप थारु बाहुल क्षेत्रलाई सुदुर पश्चिम प्रदेशमा नमिसाई लुम्बिनी प्रदेशमा नै राख्नुपर्ने मागसहित आन्दोलन चर्कियो । सामान्य कुराले बृहत् रुप लियो ।
आन्दोलनकै माझ विसं २०७२ भदौ ७ गते अत्यन्तै हृदयविदारक घटना भयो । नावालक सहित राष्ट्रका सिपाहीहरूको निर्मम तरीकाले हत्या भयो । यही प्रकरणमा रेशम चौधरीको पनि नाम आउन थाल्यो । अनि सम्झना हुन थाले ती २०५८ तिरका रेशम चौधरीका राष्ट्रिय गीतहरू । धेरैपटक ती रेशम चौधरी र यी रेशम चौधरी एउटै हुन् भन्ने कुरा मनले मान्नै सकेन । तर ती रेशम चौधरी र यी रेशम चौधरी आखिर एउटै रहेछन् । हत्या प्रकरणमा सजाय पाए । तीनओटै अदालतले उनलाई दोषी ठहराए । तर पनि हिँजै मात्र गणतन्त्र दिवसको उपलक्ष्यमा उनले माफी पाए ।
विषयवस्तुको गहिरो अध्ययन नगरीकनै एकदमै चाँडै परिवर्तन भइहाल्ने हामी नेपालीहरूले उनका बारेमा धेरै कुरा नबुझिकनै गाली गर्यौँ । कार्यकर्तादेखि नेताका फेसबुक उनलाई, राष्ट्रपतिलाई र गणतन्त्रलाई गाली गर्दै रङ्गिए । उच्च र सर्वोच्चमा सधैँ गडवडी देख्नेहरूले पनि न्यायले न्याय नपाएको दिन भनीकन फेसबुक रङ्गाए । राजनीतिक भागवण्डाका आधारमा न्यायालय भरिए भन्नेहरूले पनि रेशमलाई न्यायालयले गरेको निर्णयअनुसार नै जन्मकैद हुनुपर्ने मतहरू अगाडि सारे । आफ्नो सरकार हुँदा रेशम निर्दोष हुन् भन्नेहरू पनि योपटक फेरी रेशमको विरुद्धमा लागे । जे जसो भएपनि रेशम राष्ट्रपतिबाट आममाफी पाई जेलमुक्त भए ।
हुनत मानिस विग्रन र बन्न धेरै समय लाग्दैन । यसको मुख्य उदाहरण मैले डा बाबुराम भट्टराईलाई लिने गरेको छु । आफैले लेखेको उनको आत्मकथा अविराम बाबुराममा उनले पहिला योगी नरहरिनाथको सङ्गत भएको कुरा लेखेका छन् । पछि उनी वैदिक सनातन धर्मका विरोधि आइ काङ्ग्रेस र आइ कम्युनिष्टका सङ्गतमा पुगेछन् । यदि उनी पहिलेजस्तै योगी नरहरिनाथका सङ्गतमा रहिरहेका भए देश कहाँ पु्ग्थ्यो होला ।
तर के गर्ने उनको एवम् हामी सबैको भाग्यले ठगी सशस्त्र द्वन्द्व हुँदा हाम्रो देश ३० वर्ष पछाडि पर्न पुग्यो । त्यस्तै सायद काठमाडौँको बसाईपछि कैलाली आइसकेपछि रेशम कहिँ कतै गलत सङ्गतमा परे कि जस्तो मलाई आंशिक रुपमा लाग्ने गर्छ । तर रौतहट काण्डको सम्झना झ्वाट्ट हुन्छ अनि निर्णयमा पुग्ने गरेको छु – यो मोडेल पनि त्यस्तै प्रकारको हो । काम अर्कैबाट गराइयो फसाइयो रेशमलाई ।
मेरो बाल्यकाल कपिलवस्तुको चौधरी समाजमा वित्यो भने युवावस्थाको केही समय दाङ्को चौधरी समाजमा बित्यो । अहिले चितवन र नवलपरासीको चौधरी समाजसँग निकट रहेर बितिरहेको छ । यति धेरै सोझो र सज्जन सायद नेपालका अरु जातहरू नहोलान् । एकै परिवारमा ४०-५० जना मिलेर बसेका छन् । कसैको ईर्ष्या छैन । कोही प्रति नराम्रो भावना छैन । सधैँ हसिँला खुसिला यी जातिहरूले आफूलाई जतिसुकै अरुले दमन गरेपनि नेपालबाट छुट्टिन पर्छ भनेनन् । यो देशमा अरु आयातित शरणार्थीहरूबाट विखण्डनका नाराहरू लागे । तर पनि जतिसुकै अप्ठ्यारो अवस्थामा पनि नेपालमा राम्रै जनघनत्व भएपनि यिनीहरूले छुट्टै देशको कल्पना पनि गरेनन् ।
जसले यस किसिमको घटना घटाएको थियो, उसको कल्पना सायद राज्यले पनि अब थारुहरूलाई मजाले दमन गर्नेछ अनि यिनीहरूबाट पनि विखण्डनको नारा लाग्नेछ र यिनीहरूलाई पनि उही मधेश प्रदेशमा लगेर गाभ्न पाइएला भन्ने थियो होला । तर यी नेपालका आदिवासी सीमारक्षक राष्ट्रवादी थारुहरूले त्यसो हुन दिएनन् । यिनीहरूको रगतले पूर्खाको बलिदानलाई यताउता हुनै दिएन ।
यहाँ प्रश्न उठ्ला हैन जिल्ला उच्च र सर्वोच्चले पनि दोषी ठहराएको व्यक्तिलाई तपाइँले यसरी विश्लेषण गर्नु गलत हो । हेर्नुहोस् फस्न जो पनि सक्छ । कथामा रणे पनि फसेकै थियो । फेरी म त जिल्ला उच्च र सर्वोच्चबाट केही हण्डर ठक्कर खाएर आएको व्यक्ति भएकोले होला पनि केही सम्माननीय श्रीमान्ज्यूहरू बाहेक अहिलेका न्यायालय पुरा राजनीतिक नियुक्ति भएका मानिसहरूले चलाएका छन् । द्वयर्थक कानून छ । जसले जता अर्थ लगाए पनि हुने खालको कानून । न्याय पाउन अत्यन्तै गाह्रो छ र पनि न्याय पाउने आशामा न्यायालयकै शरणमा जानुपरेको छ । न्यायालयले गरिदिएको निर्णयप्रति नतमस्तक हुनुपरेको छ ।
अतः न्यायालयको निर्णयसम्म दोषी नै भएपनि यी सबै इतिहासका कुरा आदिबाट हामीलाई रेडियो सगरमाथाका माध्यमले जगाउने भूमिपुत्र रेशम चौधरी राष्ट्रपतिबाट आममाफीपछि दोषरहित भएका छन् । उनको पुरानो आचरण देखेर हामीले उनलाई मोहम्मद अफ्ताफ आलमसँग तुलना गर्नु पक्का पनि न्याय हुन जाँदैन । फेरि उनले आफू यो काण्डमा पुरा दोषरहित भएको र अब सो को सत्य तथ्य पत्ता लगाउन लागिपर्ने कुरा पनि भनिरहेका छन् ।
त्यसैले उनका लागि खर्च गरिने गाली अहिलेलाई बन्द गर्न पर्ला कि भन्ने मलाई लागेको छ । साथै रेशम चौधरीले पनि ती राष्ट्रका वीर सहिद सपुतहरू नेपाली प्रहरी तर्फका एस्एस्पी लक्ष्मण न्यौपाने, निरीक्षक बलराम विष्ट र केशव वोहरा, हवल्दार लक्ष्मण खड्का, प्रहरी जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार ललित सावद, जवान रामविहारी चौधरीका श्रीमतीहरू एवम् उनै सहिदहरूका साथै दुई वर्षीय अबोध बालकका अभिभावकहरूलाई भेटी उनीहरूसँग नित्य सम्पर्कमा रही उनीहरूका पिडामा मलहम लगाउनु पर्ने आवश्यकता आएको छ ।
तर पनि यति भनिरहँदा त्यस किसिमका अनुशासनका कुरा सबैलाई सिकाई राष्ट्रप्रतिको सम्मानमा नतमस्तक हुन सिकाउने रेशम चौधरीले यो हत्या प्रकरणमा गलत सङ्गतको कारणले आफ्नो अलिकति पनि हात छ भने मैले ठूलो गल्ती गरेका कारणले नेपालको प्रचलित कानूनअनुसार मैले राष्ट्रपतिबाट आममाफी होइन जेल जीवननै काट्नुपर्दछ भनीकन पुनः आफै जेलमा गई सजाय भोग्दा अत्यन्तै राम्रो हुन्छ । कुनै दिन त्यो दयालु ईश्वरले कसैले खण्डन गर्न नसक्ने माफी अवस्य दिनेछ । अरुलाई ढाँटेपनि त्यो आफूभित्रको आत्मालाई ढाँटियो भने त्यसले जीवनमा अरु झनै ठूला घटनाहरू घटाउने छ । अस्तु ।
**********************************************