गणतन्त्र कि राजतन्त्र ?

गणतन्त्र कि राजतन्त्र ?

उप-प्रा. श्याम खनाल

सबै चिजका बाधक राजा हुन् भन्ने कारण देखाई राजालाई फाली गणतन्त्र ल्याइयो । सानातिना आन्दोलनबाट राजा जाने पनि थिएनन् । तर दसवर्षे सशस्त्र युद्धले बनाएको विद्रोही सेनाका कारणले नै राजा जानुपरेको कुरा छर्लङ्गै छ । अर्को कुरा राजा विरेन्द्रको वंशनाश नभएको भए राजा यति चाँडै जाने नै थिएनन् भन्ने कुरा पक्का हो । भारतीय राजनीतिक विश्लेषक पुष्पेन्द्र कुलश्रेष्ठजीले भारतीय काङ्ग्रेसका मुखियाहरू प्रति इंकित गर्दै “नेपालके राजशाहीओँ को इन्हो हि क्या क्या करदिया” भनेर भनेकाले यो कुराको विश्लेषण धेरै गरिरहनुपर्ने पनि छैन ।

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

राजा वा राजावादीहरूलाई पनि हामी पुरै दुधले नुहाएका थियौँ भन्ने लाग्छ भने तपाइँहरू पनि ठूलो भुलमा हुनुहुन्छ । अझै जाग्नुभएको छैन । किनभने राजा वैदिक नियममा नबस्दा यो अवस्था आएको थियो । जहिलेदेखि राजदरबारमा विदेशी रक्सीले प्रवेश पायो त्यसै दिनदेखि नै राजतन्त्रको जग हल्लिएको थियो । विदेशी रक्सीले नै राजाहरूलाई जनताका पिरमर्कालाई नहेरी मोजमस्तीमा लाग्ने बनाएको हो । विदेशी भेषभुसा र विदेशी संस्कार संस्कृति पढाई राम्रो लग्ने बनाएको हो । आफुले आफैँ ओढ्न पर्ने छाता अरुका हातमा गएको हो । यहाँका गुरुकुल राम्रो नलागेर विदेशी संस्कारका इसुकुल खोज्दै दार्जिलिङ् र बेलायत पुग्नुपरेको हो । यो मैले भनेको विषय होइन । यो त राष्ट्रगुरु इतिहासविद् योगी नरहरिनाथले भन्नुभएको कुरा हो । उहाँले राजदरबार हत्याकाण्ड हुनुभन्दा केही महिना पहिले खुला मञ्चमा भएको कार्यक्रममा “विदेशी रक्सी खाएर जनताका पिर मर्का नबुझ्ने राजाहरूको अन्त्य अवस्यम्भावी छ” भनेर दरबारतिर माइक फर्काएर बोल्नुभएको कुरा अस्ति भरखर जस्तो लाग्छ ।

फेरी गणतन्त्र आएपछि स्वर्गभूमि त नाहिँ सिङ्गापुर बनाउछु भन्नेहरूले देशलाई पछिल्लो समयका राजाहरूले भन्दा हजार गुणा विगारेको कुरा प्रत्यक्षै छ । जे जसो गरेपनि एउटा राजाले गरेका थिए तर अहिले पालिका तीनओटा संसद विकास समिति के के हो के के का अनावश्यक राजाहरूले देशलाई कसरी लुटेका छन् त्यो पनि प्रत्यक्षै छ । भन्दा भन्दा जनता दिक्क लागेर होला देशै छोडेर पलायन भइरहेको कुरा पनि प्रत्यक्षै छ ।

अब गतं न शोचामि अर्थात् गएका कुरा गए गए फर्केर आउनेवाला छैनन् । त्यसैले अब पनि राजतन्त्र नै ठिक वा गणतन्त्र नै ठिक भनेर कसैको प्रवक्ता बन्न भन्दा सबैले मिलेर देश बनाउन पर्ने दिन आएको छ । संसारका राजतन्त्र भएका देश एवं गणतन्त्र भएका देश पनि विकसित छन् सुखी छन् । त्यसैले कुनै तन्त्रले देश पछाडि परेको वा अगाडि गएको भन्ने पनि हुने रहेनछ भन्ने कुरा यहाँसम्मको कुराले पनि थाहा लाग्छ ।

त्यसैले अब राजाले पनि पहिलेका गल्तीहरूबाट पाठ सिक्दै आफ्नै स्वदेशी संस्कार संस्कृतिमा रम्ने नेपालीहरूका पिर व्यथा बुझ्ने खालको हुन सक्ने हो र नाति हृदयन्त्रलाई पनि बेलायततिरका इसुकुलमा होइन नेपालकै गुरुकुलमा राखी पढाएर यहीँको पुरातन संस्कार दिन सक्ने हो भने सर्वे भवन्तु सुखिनः भन्ने मूलमन्त्र बोकेको विश्वकै साझा राजा बन्नलाई कसैले छेक्नेवाला छैन । नेपाली जनताको प्रतिनिधित्व भएको संसदको चङ्गुल एवम् वैदिक धर्मको अनुशासनमा बसेको राजाले मात्र दे‍शमा असल शासन गर्न सक्ने हुन्छ ।

यी गणतन्त्रवादीहरूले पनि अनावश्यक रुपमा विभाजित सानो देश नेपाललाई तुरुन्तातुरुन्तै एकाकार गरी अनावश्यक संस्थान विश्वविद्यालय विकास समिति हटाई थोरै कर्मचाारीबाट मितव्ययी तरिकाबाट देश चलाउने हो भने ठिकै पनि होला । अर्को कुरा यही गणतन्त्र नै ठिक भन्नेहरूले पनि २०६३-२०६४ पछि बाँडिएका नागरिकताको व्यापक छानविन नगर्ने हो भने कालान्तरमा संसदमा नव नागरिकताधारीहरूको प्रतिनिधित्व भई पाकिस्तान वा वंगलादेश माग्ने परिस्थिति आउने नै छ । कुनै पनि तन्त्र सुधार्न सकिएन भने राजतन्त्र आए के गणतन्त्र आए के ? हामी सोझा सज्जन नेपालीले त जुनतन्त्र आयो त्यसैको मङ्गलमय शुभकामना भन्ने मात्र हो । त्यसैले ढु्ङ्गाका माध्यमले नदी तर्ने बेलामा अर्को ढुङ्गो राम्रो छ भन्ने निश्चय नहुँदासम्म पहिलेकै ढुङ्गोमा बसिरहन पर्ने हुनाले हालकै संविधानले मानेको गणतन्त्र दिवसको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना ।

२०८० जेष्ठ १५, सोमबार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।