युवाहरू स्वदेशमै बस्ने कि विदेश जाने सरकार ?
बिपिन कँडेल-सामाजिक अभियन्ता
हजारौँ नेपालीहरू कामको सिलसिलामा होस् वा उच्च शिक्षाको लागि नेपाल छोडिरहेका छन्। अहिले पाँच जनाको समूहमा के गर्दै हुनुहुन्छ? भनेर सोधियो भने प्रत्येक दुई जनाले ‘बाहिर जाने प्रकृयामा छु’ भन्ने गरेका छन्, भने बाँकी दुई जनाले अमेरिकाको डिभी भरेका छन्।
किन यो अवस्था सृजना भएको होला भनेर कहिले कसले सोच्ने?
आजको विश्व व्यापारीकरणको समयमा विदेश जानु, उच्च शिक्षा हासिल गर्नु, सीप सिक्नु अपराध हो भन्न विल्कुल खोजिएको होइन। तर जुन रुपमा नेपाल छोड्ने परम्परा विकास भएको छ, यो भने गलत हो।
यदि विदेशिने मोह यसरी नै बढ्दै जाने र सरकारले नीतिगत रुपमा यसलाई रोक्न सकेन भने अबको २० वर्षमा झनै विकराल अवस्था नआउला भन्न सकिन्न।
उच्च शिक्षा सक्ने बित्तिकै विदेश जान परिवारले नै प्रोत्साहन गर्ने चलन विकास भएको छ। उच्च शिक्षा नभए स्नातक अध्यनको नतिजा आउन नपाउँदै आइएलटिएस/पिटिई गर्न विद्यार्थीहरू कन्सलटेन्सी धाइरहेका हुन्छन्।
बजारमा हेर्ने हो भने एकै ठाउँमा १०-२० वटा कन्सल्टेन्सीहरू विदेश पढाउन सबैलाई हँसिलो मुहार लिएर स्वागत गरेर बसेको देखिन्छ। विदेशको भिसा लाग्दा जुन रुपले दोसल्ला ओडाएर सगरमाथाको उचाइ चुमे जसरी बधाई दिइन्छ, विदेशिन बाध्य बनाउने देशले कहिल्यै केही सोचेन।
नेपालीहरू पढलेख अलि कम भएकाहरू खाडी देश जालान्, अलि बढी पढलेख गरेकाहरू जापान, अष्ट्रेलिया, क्यानडा र अमेरिका जाने गरेका देखिन्छ। विदेश जानु तर आर्थिक कमाइ गरेपछि फर्कनु पर्छ भन्ने मानसिकता नहुनु र आफ्नो बालबच्चाको निम्ति नेपालमा केही छैन भनेर उतै पलायन हुनु यो दु:खको कुरा हो।
३ करोड जनसङ्ख्या रहेको हाम्रो नेपालमा अन्य मुलुकमा कति नेपाली गएका छन्, तथ्यांक विभागसँग पनि अधिकारिक तथ्यांक नहुन सक्छ। नेपालमा अब बालबच्चा र वृद्धहरूमा मात्र नहोलान् भन्न सकिन्न।
पहाडी गाउँहरू रित्तिँदै गइरहेका छन्। त्यही वृद्धवृद्धाका छोराछोरीहरू विदेशमा नै स्थायी रुपले बस्नको लागि पिआर अप्लाई गरेका छन्।
जुन दिनसम्म बुबाआमा जीवित छन्, उनीहरू कहिलेकाहीँ नेपाल आउलान्, केही रकम पनि पठाउलान्। तर जब आमाबुबाको निधन हुन्छ र काजक्रिया सकिन्छ, त्यसपश्चात आफ्ना छोराछोरीसहित उनीहरू त्यतै पलायन हुन्छन्। न उनीहरू नेपालनै आउनेछन् न त कुनै रेमिट्यान्स नै पठाउने वाला छन्।
नेपाल सरकारले न कुनै रोजगारी दिन सकेको छ न त आफै केही गर्छु भन्दा आर्थिक प्रगति गर्न सकिएको छ। कलिला युवाहरूलाई विदेशिन बाध्य कसले बनायो? यसको बारेमा अब पनि सरकारले सोचेन भने हाम्रो देश नेपाल कहिले बन्ला र?
नेपालमा नै केही गर्नुपर्छ भन्ने भावना युवामा एक पटक अवश्य आउँछ तर जब परिवारमा आर्थिक विषयको प्रवेश गर्दछ, तब सबै ढोकाहरू बन्द भइदिन्छन् तब वैदेशिक यात्राको ढोका खोल्नु बाहेक अरु उपाय देखिँदैन।
केही सामान उत्पादन गरौँ बजार छैन भनिन्छ, उत्पादन गरिए पनि सामानको मूल्य पाउन उति नै मुस्किल हुन्छ। उत्पादन मूल्यभन्दा आयातित वस्तुको मूल्य कम हुन्छ। अनि कसरी बिक्री होस्? त्यहाँ पनि घाटा, नेपाल सरकारलाई ठाउँपिच्छे कर, केही प्रक्रियामा त्रुटी भए जरिवाना अनि कसरी टिक्न सक्ने नेपालमा?
नेपाली उत्पादनले बजार नपाउनुमा मुख्य कारण भनेको दिन प्रतिदिन वयस्क नागरिक विदेशिनु पनि हो। यहाँ उत्पादन गरेका सेवा तथा वस्तु उपभोग गर्ने जनसङ्ख्या नै कम भएपछि कसको के लाग्छ र?
उता अष्ट्रेलियाले शिक्षाको नाममा वर्षेनी विदेशीलाई भिसा दिएर जनसङ्ख्या वृद्धि गरेको छ। जति धेरै जनसङ्ख्या त्यति धेरै बजार चलायमान हुन्छ। तर पनि हामी दिन प्रतिदिन जनसङ्ख्या कम गर्दै गइरहेका छौँ।
नेपाल सरकारले अब नीतिगत रुपमा उद्योग स्थापनालाई मुख्य प्राथमिकता नराखेसम्म जोसुकै नेता आए पनि केही हुनेवाला छैन। उद्योग कलकारखाना स्थापना गरेर धेरैभन्दा धेरै युवालाई रोजगारी दिनको लागि अबको सरकार लागि पर्नुपर्ने देखिन्छ।
होइन भने अबको विकल्प शैक्षिक प्रणाली नै परिमार्जन गरी उच्च शिक्षामा जापानिज, अंग्रेजी, अरबी, कोरीयन भाषाका साथै विदेशमा गएर काम लाग्ने सीपहरू कोर्समा राख्दा कसो होला?
-भिडियो सामाग्री-