योगी नरहरिनाथ र नयराज पन्तको खाँचो – -उप प्राध्यापक श्याम खनाल
(आज परेको योगी नरहरिनाथको जन्मजयन्ती सन्दर्भ)
वि.सं. १९७१ फाल्गुन १७ गते नेपालको कालीकोटमा जन्मनुभएका भगवान् हयग्रीवकै कृपापात्र योगी नरहरिनाथद्वारा दिइएका सत्सन्देश एवम् इतिहासका कुरा काव्यात्मक एवम् गद्यात्मक रुपमा पनि प्रकाशित-अप्रकाशित लेखरचना र पुस्तकका रुपमा अनगन्ति रहेका छन् । उहाँका लेखरचना यति जीवन्त छन् कि ती कुराहरूलाई पढ्दा नै शरीरमा रोमाञ्चको अनुभूति भइहाल्छ ।
उहाँले आफ्नो शिखरिणी यात्रा भन्ने पुस्तकमा स्वदेशी विद्वान्हरू पनि विदेशी विद्वान्हरूकै अन्धानुकरण गर्दै कुटनीतिक उपन्यासलाई पनि सही इतिहास भनी पढ्छन् लेख्छन् घोक्छन् अनि अरुहरूलाई पनि पढाउँछन् लेखाउँछन् घोकाउँछन् । अनि त्यस किसिमका अपूरा उल्टा पुल्टा मिथ्या र कपोलकल्पित कुराहरू सुनेर सोझा जनताहरू पनि भ्रान्त भई तिनै फुटाउन लेखिएका कुराहरूलाई नै सकली इतिहासै सम्झिन्छन् । त्यो कुरालाई उहाँले यसरी काव्यमै रसिलो पाराले ढाल्नुभएको छ ।
विदेशीको सीको गरिकन स्वदेशीहरू पनि
उपन्यासैलाई सकलि इतिहासै हुन भनी ।
पढी लेखी घोकी अरुकन पढाई सब कुरा
अपूरा ती मिथ्या जब हुन गए भ्रान्त जनता ।।
हुन पनि योगी नरहरिनाथले भन्नुभए जस्तै अधिकांश विदेशीहरूले अनावश्यक हुँदै नभएका मिथ्या र भ्रामक कुरालाई नै इतिहासका रुपमा बुझाई हामीहरू बीचमा जातीय रुपमा एवम् भूगोलका रुपमा पनि फाटो ल्याइरहेका छन् । विदेशीहरूले दुई चार जना पटमुर्खहरूलाई हातमा लिई उनीहरूलाई विद्वान्का अगाडि ल्याइ आफुले भनेको कुरालाई बकाउने गर्दछन् र जनतालाई भ्रममा पार्दछन् । यो कुरो अहिले आएर विभिन्न पत्रपत्रिकामा प्रकाशित भरन्ते लेखकहरूका लेखहरू पढेपछि ठ्याक्कै थाहा लाग्छ ।
त्यस्तै वि.सं. १९७० श्रावण २६ गते काठमाडौँमा जन्मिनुभएका सरस्वतीका वरदपुत्र नयराज पन्तले नेपालको इतिहास, गणित, ज्यौतिष आदि क्षेत्रमा लेख्नुभएका प्रामाणिक लेखरचनाहरू पनि लगभग प्रकाशित रुपमै रहेका छन् । योगी नरहरिनाथभन्दा डेढवर्ष पहिले नै जन्मनुभएका नयराज पन्तका नेपालको इतिहाससम्बन्धी लेखिएका रचनाहरू अत्यन्त प्रामाणिक छन् भने काव्यात्मक रचना पनि योगीकै जस्तै जीवन्त छन् ।
नयराज पन्तले यो देशमा सही र प्रमाणित इतिहासका कुराहरू मात्र जनताका माझ फैलुयून् भने विद्यार्थीहरू पनि प्रामाणिक पाठ्यपुस्तक नै पढून् भन्नुहुन्छ । कुनै छट्टुले विदेशीको दास बनेर उनैका कुरा अनुकरण गरेर आफ्ना व्यापार बढाउन लेखिएका पाठ्यपुस्तकका कुरा कतै पनि नपढियून् भन्ने उहाँको सन्देश छ । यही कुरालाई उहाँले यसरी मीठो काव्यमा ढाल्नुभएको छ –
सच्चा नै इतिहासजन्य घटना यो देशमा फैलियून्
विद्यार्थीहरू पाठ्यपुस्तक पनि प्रामाणिकै नै पढून् ।
भन्ने आशयले कडा श्रम गरी यो साधना गर्दछु
धेरैका ननिका कुराकन सही बाँचीरहेको म छु ।।
हुन पनि अहिले यसो बजारमा प्रकाशित पुस्तकहरू हेर्ने हो भने तिनीहरूमा न कुनै किसिमका प्रामाणिक कुरा छन् । नत तिनीहरूले समाजमा कुनै किसिमले सकारात्मक सन्देश प्रवाह गर्न सकेका छन् । व्यापार एवम् मपाइँका लागि कतैबाट सारिएका वा भनाइएका ती पुस्तहरूमा कुनै पनि तथ्यपरक कुराहरू छैनन् । त्यस्तै विभिन्न पत्रिकामा प्रकाशित लेखहरूमा पनि आधिकारिकता नै छैन । दर्शन र अन्य क्षेत्रका कुराहरू त ल उसको आफ्नो विचार भयो रे गणितका प्रमाणित कुराहरूमा लेँडे ढिपी गरेर पत्रिकामा प्रकाशित गराउँछ । त्यस्तै भ्रष्ट कुराहरू पढेर ताली पड्काउनेहरूको संख्या बढेको छ ।
आफूलाई विद्वान् भनाउनेहरूले पनि त्यो असत्य कुरालाई खण्डन गर्ने साहसै गर्दैनन् । किनकि विद्वान्हरूलाई पनिआफूलाई विद्वान् बनाएर यसो राजनीतिक नियुक्तिका लाभका पद खाने काममा फेरी पूर्णविराम लाग्न सक्छ । नयराज पन्तले जस्तो गलत ठाउँमा प्रमाणसहित गलत भन्ने विद्वान्हरूको प्राय न्यून भएको छ । बरु योगी नरहरिनाथ र नयराज पन्तलाई गाली गरेर पेट पाल्ने विद्वान्हरूको पो समय आएको छ । हेरौँ उहाँहरूको यात्रा कहाँसम्म जान्छ । अति भयो भने फेरि अन्टपन्ट फैलाइएका झुटा कुराहरूको जालो सफा गर्न प्रकृतिले योगी र पन्तजस्ता विद्वान्हरू जन्माउन १९७० र १९७१ पक्कै फर्काउनेछिन् भन्ने आशा मै समय विताउन परेको छ । अस्तु ।